गुल्मी जिल्ला गोबा गाविस वडा नं ५की गंगामाया पुन ८० वर्षको उमेरकी भएकी छिन् । एक छोरा एक छोरीकी आमा अहिले भैरहवा स्थित सत्य साई वृद्धाश्रममा आश्रय लिईरहेकी छिन् । आफू २२ वर्षकी हुँदा दुई छोरा र छोरी जन्माईसकेकी उनको कथा र व्यथा पनि निकै लामो रहेको छ । कमाई गर्न भनेर भारत गएका श्रीमान् नफर्किएपछि आफ्नो कलिलो उमेर उनले यीनै छोराछोरीको पालनपोषणमा बिताउनुप¥यो । भन्छिन्, “म २२ वर्षकी थिएँ, छोरी दुई वर्षकी थिई, छोरा जन्मिँदै थियो । श्रीमान् कमाउनका लागि भारत जानुभयो तर उहाँ फर्किएर आउनुभएन ।” दुखका साथ घाँस, दाउरा, मेलापात गर्दै छोरा र छोरी हुर्काएकी उनले अहिले वृद्धाश्रमको सहारा लिनुपरेको छ । आफ्नो अभिभावकत्व नपाए छोराछोरीले दुःख पाउलान् भन्दै दोस्रो बिहे समेत नगरेकी उनले अहिले छोराछोरीबाटै दुःख र कष्ट सहन नसकेर भाग्नुपरेको छ । त्यसैले उनी वृद्धाश्रमको शरणमा आउनुप¥यो ।
उनका अहिले नातिनातिनीहरु पनि जवान भईसकेका छन् । यीनी नातिनातिनी नै अपाm्नो बुढेसकालको सहारा बन्लान् र छोराबुहारीले राम्ररी पालनपोषण गर्लान् भन्ने सोचेर आफ्नो कलिलो उमेर बिताएकी पुन बुढेसकालमा भने उनीहरुबाट टाढा हुनुपरेको छ । उनी भन्छिन् यो मेरो बाध्यता हो । छोराले पाल्न सक्दिन भन्दै मलाई घरबाट निकालिदियो, छोरी बिहे भएर पराईको घरमा गईसकेकी छे । मेरो सहारा दिने कोही भएन । कि त मैले आत्महत्या गर्नुपथ्र्यो कि त सहाराको आवश्यकता थियो । त्यसैले मलाई भगवानले सत्य साई वृद्धाश्रम भैरहवा पु¥याईदिनुभयो र आफ्नो बुढेसकालको जिन्दगी बिताईरहेकी छु ।
उनलाई निकै याद आउँछ रे जब चाडपर्व र मेलापर्वहरु आउँछन् । त्यही छोराको यादले निकै सताउँछ रे । तिनी नातिनातिनीहरु उनका आँखा अगाडि खेलिरहन्छन् रे ! तर के गर्नु भगवानको लीला यस्तै रहेछ उनीहरुबाट टाढा छुट्टिएर बस्नुपरेको छ भन्दै उनले आफ्नो भाग्य यस्तै भएको भन्दै मन बुझाउने गरेको बताउँछिन् । हुन त उनलाई पराईघर गएकी छोरी वृद्धाश्रममा भेट्न आउने र सञ्चो बिसञ्चो सोध्ने गरेकी छिन् । छोराका ३ भाई र एक नातिनी रहेका छन्, अरुले वास्ता नगरेपनि माईलो नातिले भने बेला बेलामा फोन गरेर सञ्चो बिसञ्चो सोध्ने गरेको भन्दै उनले आफ्ना सन्तानप्रति निकै आत्मीयताको भाव व्यक्त गर्दछिन् । आफुले जन्माएको छोराले पाल्न नसक्ने भन्दै घर निकाला भएकी यिनै आमा संग कमल रायमाझीले गरेको कुराकारीमा आधारित अन्र्तवार्ता ।

आमा, तपाईका आफ्ना छोराछोरी हुँदाहुँदै पनि किन वृद्धाश्रमको आश्रयमा आउनुभयो ?
–हो बाबु मेरा एक छोरा र एक छोरी छन् । उखान छ, “बाबुआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढा माथि” त्यसैले उनीहरुको माया म प्रति नभएपछि वृद्धाश्रमको आश्रय लिनुपरेको हो ।
आफ्नो घर परिवार छोडेर यति टाढा आएर बस्दा उनीहरुको याद आउँदैन ?
–आउँछ नी ! कहिलेकाँही मुटु नै फुट्ला जस्तो हुन्छ । चाडपर्व र मेलापर्वमा उनीहरुको धेरै याद आउँछ । आफ्नो सन्तानको माया कसलाई हुँदैन र ? मलाई पनि उनीहरुको धेरै माया र यादले सताउने गरेको छ । तर के गर्ने उनीहरुले काम गर्न नसकेर बुढो भईसकेपछि हेला गर्दा रहेछन् । त्यसैले म यति टाढा आएर बस्न बाध्य भएँ ।
यहाँले आफ्ना छोराछोरी हुर्काउँदा कत्तिको दुखका साथ हुर्काउनुभयो?
–म २२ वर्षकी हुँदा मेरा दुवै छोराछोरी जन्मिसकेका थिए । छोरो बाउ हराएको ४ महिनापछि जन्मिएको हो तपाई आफै कल्पना गर्नुस् म एक असहाय महिलाले कति दुःख र कष्ट सहेर उनीहरुलाई हुर्काएँ होला । घरमा २ वटा पाटा पाखोबारी बाहेक केही थिएन । घाँसदाउरा, मेलापात सँधै दर्गुनुपथ्र्यो । मेरा साना छोरा छोरीहरुलाई भगवान सम्झिँदै घरमा एक्लै छोडेर जंगलमा घाँसदाउरा र गाईवस्तु चराउन जानुपथ्र्यो । यसरी मैले आफूले नखाएर भएपनि आफ्ना छोराछोरी हुर्काएकी हुँ ।
यहाँले यति दुःखका साथ हुर्काएका छोराले बुढेसकालमा किन सहारा नदिएको होला ?
–अहिले जमाना फेरिएको छ । हिजो हाम्रा पालामा यस्तो थिएन । बुवाआमालाई भगवान जस्तै मान्थ्यौँ । म जीवनभरी दुःख र कष्ट सहेर बसेकी अबला नारी जसले दुःख र कष्टका बीच जन्माएको छोरालाई हुर्काएकी छु । तर उसले त्यो बुझ्न सकेन । हुन त म आश्रममा भौतिक रुपमा सबै सुविधाबाट सुसज्जित छु । उसले मलाई सहारा नदिएपनि वृद्धाश्रमले सहारा दिएको छ । तर आफ्नो सन्तान हो, उसको यादले त सताउँछ मलाई कहिलेकाँही मलाई भेट्न आइदिओस् हुन्छ तर उ आउँदैन ।
२२ वर्षको उमेरमै श्रीमान् हराएपछि दोस्रो बिहे किन नगर्नुभएको ?
–हुन त मेरा आफन्तहरुले मलाई दोस्रो बिहे गर्न निकै दबाब दिएका थिए । तर मैले मेरा साना छोराछोरी जसले मलाई बुढेसकालमा सहारा दिनेछन् । यदि मैले दोस्रो बिहे गरेँ भने यिनीहरुलाई कसले पालिदेला भन्दै उनीहरुको दबाबलाई प्रतिवाद गरेँ । मेरो सन्तानभन्दा ठूलो यो संसारमा कुनै वस्तु नै छैन जस्तो लागेर मैले दोस्रो बिहे नगरेकी हुँ ।
अहिले यहाँ आफ्नै छोराछोरीबाट अपहेलित हुनुपरेको छ । हिजो उनीहरुलाई हुर्काउन गरेको दुुःख बेकार भएजस्तो लाग्दैन ?
–लाग्दैन । हुन त मैले दुःखका बीच नै मेरा मुटुका टुक्रा सम्झेर यी छोराछोरी हुर्काएको हो । उनीहरुले यो नसोचिदिँदा त कहिलेकाँही बेकार जस्तै लाग्छ । उनीहरुलाई जन्माउनै नपरेको भए बरु यो मनमा कुनै चिन्ता त उनीहरुको याद आउने थिएन भन्ने लाग्छ ।
वृद्धाश्रममा बस्दा यहाँजस्तै अरु पनि हुनुहुन्छ । उहाँहरुसँगै बस्दा आफ्नो सन्तानहरु बिर्सन सकिँदो रहेनछ ?
–किन बिर्सिन्थ्यो र आफ्ना सन्तानहरु ! तैपनि मन बुझाउन सजिलो हुँदोरहेछ । आफूजस्तै अरु पनि यहाँ हुनुहुन्छ, उहाँहरुसँगै दुःखसुखका कुराकानी गर्दा मन धेरै हलुंगो हुन्छ । मेरो जस्तो पीडा अरुहरुको पनि यहाँ छ ।
यहाँजस्तै धेरै वृद्धाहरु पनि यहाँ हुनुहुन्छ, यहाँहरुको दैनिक जीवन कसरी बित्ने गरेको छ ?
–यो बुढेसकाल आफ्ना सन्तानसँगै बिताउन पाउने आफ्नो भाग्य नभएपनि वृद्धाश्रमले बूढेसकालको सहारा दिएको छ । यहाँका कर्मचारीहरुले माया र ममता दिएका छन् । आश्रमको व्यवस्थापन समिति समेत हामीप्रति जिम्मेवार छन् । उनीहरुको सहारा र सहयोगमा हामी आफ्नो दैनिक जीवन बिताईरहेका छौँ ।
यहाँको विचारमा सन्तान आमाबाबुको लागि कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
–सन्तान भनेको त आफ्नै रगत हो । उनीहरुले आफ्नो बुवाआमालाई बुढेसकालमा सहारा दिने खालको असल र जिम्मेवार हुनुपर्दछ ।
अन्त्यमा, आमा हजुरले केही भन्नुछ की ?
–के हुनु र बाबु । आफ्नो त सबै भनेको यही वृद्धाश्रम हो । यसैको सहारामा बाँचेकी छु । यो वृद्धाश्रमको सँधै उन्नति भईरहोस् । म जस्ता असहाय वृद्धहरुलाई सदैव सहारा दिईराखोस् । सबैजनाको यसप्रतिको सहयोग र सद्भाव निरन्तर रहोस् ।