logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बुद्ध जयन्ती तथा गुरु पूर्णिमा


    २४ बैशाख २०७३ , शुक्रबार

    बुद्ध जयन्ती तथा गुरु पूर्णिमा

    सावित्री घिमिरे

    आजभन्दा करिब २५०० वर्ष अगाडि बुद्धको जन्म एउटा वैदिक ब्राह्मणवादलाई मान्ने राजा शुद्धोदनको छोराको रुपमा भयो । राजा शुद्धोदनको दरबारमा वैदिक ब्राह्मणहरुको प्रभुत्व थियो । दासप्रथा र जातपात तथा यज्ञमा प्राणी हिंसा गर्ने प्रथा त्यसबेला चलेको थियो । मानिसहरु तथा देवदेवताहरुमा सात लोक, चौध भुवन, स्वर्ग, नर्क र पुर्नजन्मका कुराहरुमा विश्वास गर्थे । कुनैपनि व्यक्तिलाई पुर्नजन्म लिई भवचक्रमा घुमिरहनु अनिवार्य सम्झिइन्थ्यो र यसबाट बच्ने कुनै उपाय थिएन ।
    राजा, भाई भारदार र उच्च कोटीका व्यक्ति सुख सयलमा मस्त रहन्थे भने दासहरु तथा तल्लो जातिका मानिसहरुको जीवन अत्यन्त कष्टपूर्ण थियो । नेपालको हालको पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत लुम्बिनी भन्ने ठाउँमा महारानी मायादेवीले वैशाख पूर्णिमाको दिन आफ्नो कोखबाट सिद्धार्थ गौतम नामक बालकलाई जन्म दिएकी थिईन् । यो दिनलाई बुद्धपूर्णिमा तथा गुरु पूर्णिमा पनि भन्छि । शुद्धोदनको राजधानी कपिलवस्तु थियो भने मायादेवीको माइती चाहिँ हालको रुपन्देही जिल्लाको देवदह भन्ने स्थानमा थियो । कपिलवस्तुबाट देवदह जाँदा एउटा घनघोर सालघारीको बाटो भएर जानुपथ्र्यो । एकदिन गर्भवती मायादेवी माईती भेट्न भनी माइतीतर्फ जाँदै थिईन । उनलाई त्यही सालघारीमा पुग्दा प्रसव पीडा भयो र त्यहीँ नै उनले नवजात शिशुलाई जन्माईन्, जन्मने शिशु सिद्धार्थ गौतम थिए । जन्माउने आमा मायादेवी थिईन् भने जन्म भएको ठाउँ लुम्बिनी थियो ।
    सिद्धार्थ गौतम दरबारको सुखसयल र भोग विलासमा बालक काल र युवावस्था बिताउँदा बिताउँदै उनलाई एकाएक वैराग्य जागेर आयो । उनी आफ्नी पत्नी यशोधरा र पुत्र राहुललाई छाडेर राजकाजको सुखसयललाई  तिलाञ्जली दिई उनन्तीस वर्षको उमेरमा घरबाट निस्के । उनलाई सांसारिक माया मोह र फेरी फेरी जन्मिरहनुपर्ने भवचक्रबाट छुट्ने निर्वाणको बाटो निकाल्न चाहन्थे । उनले पत्ता लगाउन चाहेका चार सार कुरामध्ये (१) दुख के हो ? (२) दुख कसरी उत्पन्न हुन्छ ? (३) दुख कसरी हटाउन सकिन्छ (४)दुख निरोधको मार्ग के हो ? यही समस्या समाधान गर्ने दृढ संकल्प लिएर लामो समयको साधना र तपस्या पश्चात बोधगयामा गएर बुद्धत्व प्राप्त गरे । ज्ञान प्राप्ति पश्चात सिद्धार्थ गौतम गौतम बुद्ध बने । उनलाई महात्मा बुद्धको उपाधि पनि प्रदान गरियो र बुद्ध धर्मका प्रतिपादक पनि मानियो । वैशाख पूर्णिमामा जन्मी, वैशाख पूर्णिमामै ज्ञान प्राप्त गरी, वैशाख पूर्णिमामा मृत्युवरण गर्दै ईशापूर्व ५०० वर्ष अघि महापरिनिर्वाण प्राप्त गर्ने गौतम बुद्ध जस्ता विशिष्ट विभूतिलाई जन्माएको हुनाले बुद्धजयन्ती तथा गुरु पूर्णिमाको रुपमा यो दिनलाई संसारले मान्ने गरेको छ । लुम्बिनीलाई आज नेपालको गौरवमय स्थानमध्ये एक महत्वपूर्ण स्थानको रुपमा चिनिन्छ । बुद्ध जयन्ती तथा गुरुपूर्णिमाको दिन बुद्ध धर्म मान्ने मानिसहरुले मात्र नभई संसारका सम्पूर्ण व्यक्तिले उनले देखाएका पञ्चशीलका तत्वको आधारमा यो दिनलाई महत्वपूर्ण मान्ने गर्छन् ।
    बौद्ध धर्मावलम्बी विख्यात भारतीय सम्राट अशोकले इ.पू २५० मा लुम्बिनीमा आएर विशाल स्तम्भ बनाएका थिए । जसलाई अशोक स्तम्भ भनिन्छ । आफ्नो धर्मका अधिष्ठाता महामानव महात्मा बुद्धको जन्मस्थल हेर्ने तीव्र उत्कण्ठा बोकेर आएका अशोकद्वारा निर्मित स्तम्भमा लेखिएको छ । आफू राजा भएको बखतमा दिवाना प्रियदर्शी राजा अशोक त्यहाँ पूजा गर्न भनी आए । कालान्तरमा उक्त शिलालेख भूकम्पद्वारा भत्कियो र माटोमुनि पुरियो । समयको चक्रसँगै हराउँदै गएको यस स्तम्भलाई वि.सं १९५२ मा डा. फूहररको प्रयासबाट उत्खनन गरी बाहिर निकालियो । आज उक्त स्तम्भ मात्र होइन त्यस क्षेत्रको विकासका लागि ‘लुम्बिनी  विकास कोष’ नामक संस्थाको गठन भएको छ । विश्वभरीकै व्यक्तिहरुले यस क्षेत्रको विकासका लागि आर्थिक सहयोग जुटाईरहेका छन् ।
    लुम्बिनीको सालघारलिाई एक स्वर्गीय बगैँचामा रुपान्तरित गरिरहेका छन् । लुम्बिनीको योजनाबद्ध विकासका लागि हाल सरकारी स्तरबाट गुरुयोजना नै संचालन गरिएको छ । आज लुम्बिनीमा अशोकद्वारा स्थापित स्तम्भ मात्र होइन, विभिन्न मुलुकद्वारा नयाँ नयाँ धर्मशाला र भवनहरु समेत बनाइएका छन् । इ.स २०१२मा अशोक स्तम्भकै हाराहारीमा महेन्द्र स्तम्भ पनि खडा गरिएको छ  । पुरातत्व विभागबाट उत्खनन गरी भग्नावशेषलाई खनेर निकाली सुरक्षित पनि पारिएको छ । सिद्धार्थ जन्मनासाथ नुहाइदिएको पोखरीलाई पनि जीर्णोद्धार गरेर कञ्चन पारिएको छ । लुम्बिनी विकास कोष नामक संस्थाले यसको विकासको लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रबाट प्रचुर सहयोग जुटाइसकेको छ । जापान सरकार, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, चीन लगायतका थुप्रै मुलुकहरुले बुद्धको यस पवित्र जन्मभूमिको चौतफी विकासका लागि हात खोलेर सहयोगका हातहरु बढाएका छन् ।
    लुम्बिनी विश्व शान्तिको आत्मस्रोत हो । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको क्रान्तिले पनि कहिले घायल बनाउन सक्दैन । उनले अपनाएका पञ्चशीलको सिद्धान्त, शान्ति, सद्भाव, अहिंसा, सत्य र दयाको मंगल गान गर्दै विश्वलाई नै विनाशको बाटोबाट फर्काएर विकासको राजपथमा हिँडाउने अथक प्रयासमा सफल व्यक्तित्व महात्मा बुद्धको जन्मजयन्तीलाई संसारले महत्वपूर्ण मानेको छ । त्यस दिनलाई गुरुपूर्णिमाको रुपमा पनि चिनिन्छ । यो दिनमा चेलाहरुले गुरुदक्षिणाकासाथ मीठा मीठा कोसेली दिई गुरुलाई खुशी पार्ने चलन पनि छ । आउँदै गरेको बुद्धजयन्ती तथा गुरुपूर्णिमामा सबैको सद्भाव रहोस्, नेपाल हत्या, हिंसा र आतंकबाट सँधै मुक्त बनोस् । लुम्बिनी नेपालको मुटु हो । नेपालीको धड्कन हो, विश्वको हृदयको टुक्रा हो । बुद्ध जयन्तीको अवसरमा देश, विदेशबाट आउने पाहुनाहरुको लागि लुम्बिनीद्वार सँधै खुला रहनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.