झट्ट हेर्दा यो शब्द त्यति मीठासपूर्ण लाग्दैन । तर पनि यो शब्दको नेपाली समाजमा ज्यादै प्रचलनमा आएको अर्थात प्रयोग भएको पाईन्छ । यसको वास्तविक शाब्दिक अर्थ के हो, ठूला–ठूला विद्वान पण्डितहरुद्वारा विश्लेषण हुने नै छ । सामान्य रुपमा चल्ती चलनको भाषामा भन्दा टपरेको अर्थ हुन्छ, टपरी स्याहार्ने पुरेत्याईँले जीविकोपार्जन गर्ने बाटो हो । परापूर्वकाल देखि संसारमा चल्दै आएको कर्मकाण्डको चर्तिकलाको स्वच्छता र पवित्रतामा विकृति तथा विकारहरु आएको अनुभव हुन्छ । धर्मका ठेकेदार, संस्कार, संस्कृति, धर्म र अधर्म , पाप र पुण्य, स्वर्ग र नरक आदिको बहानामा समाजमा कमजोर वर्गलाई शोषण गर्ने प्रवृत्तिमा वृद्धि हुँदै गएको छ । यो शोषणका अनेक रुपहरु देखिएका छन् । कसैले राजनीतिको नाउँमा, कसैले समाजसेवाको नाउँमा, कसैले कर्मकाण्डको रुपमा, कसैले सप्ताह पुराणको नाउँमा, कसैले भविष्यकर्ताको नाउँमा, कसैले भगवानको नाउँ आदि – आदि रुपहरु छन् ।
हिन्दू धर्मानुसार जन्मेदेखि अर्थात गर्भाधानदेखि १६ संस्कार गर्ने विधि विधान शास्त्रले बताएको छ । १६ संस्कारको बारेमा गर्भाधानदेखि अन्त्येष्टि अर्थात मृत्यु सम्मको अवधिलाई मानिएको छ । यो संस्कार सबै वर्ग विशेषमा आ–आफ्नो परम्परा र चलनचल्ती अनुरुप गर्दछन् । ब्राह्मण जातिमा भने १६ संस्कार गर्नैपर्ने विधान छ, जस्तै गर्भाधान, पुसवन, सीमन्तोन्नयन, जन्मँदाको बेलाको संस्कार, नामकरण, निष्क्रमण, अन्नप्राशन, कर्ण, वैध, विद्यारम्भ, चुडाकर्म, उपनयन(व्रतबन्ध) वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि आदि हुन् । यीनै कर्म गर्दा पण्डित ब्राह्मणहरुद्वारा गराउने चलन छ । वर्तमान अवस्थासम्म आइपुग्दा कर्म काण्ड होस् अथवा भागवत सप्ताह पुराण होस्, की काजक्रिया होस्, पितृकार्य, न्वारन आदि–आदि संस्कारहरुमा, हाम्रो राजनीतिमा जस्तै प्रदूषणले ग्रस्त भएको छ । शुद्धतालाई लोभलालचको पर्दाले गाँजेको छ, जसले गर्दा शुद्ध कर्म र धर्म तथा आदर्श भावनामा ह्रास आएको छ ।
मेरो बाल्यकाल पनि तत्काल विकट मानिने रुढीवादी समाजमा र गुरुकुलकै कठोर अनुशासनमा बितेको थियो । त्यसैले कर्मकाण्ड र ज्योतिषतर्फ केही अनुभव गरेको छु । अन्धविश्वासमा आधारित सामाजिक परिवेशद्वारा फाईदा लिने धुन्धकारीहरुको प्रवृत्तिमा टपरेहरु फस्टाउँदै गएको अनुभूति गर्न करै लाग्छ । तर यसको मतलब यो होईन की सबै टपरेहरु र टपरी खराब छन् । सज्जनहरुको पनि अभाव छैन, तर सज्जनहरु भन्दा उग्र प्रवृत्ति भएका चंखे टाईपका टपरेहरु समाज तथा यजमानहरुलाई लुट्न रशोषण गर्न चतुर देखिन्छन् । हालै २÷४ दिनको अनुभव हो मैले मेरो नातिको व्रतबन्ध गर्न विद्धान पण्डितज्यूहरुद्वारा यही २९ गते २०७२ चैत्रमा सुसम्पन्न भएको छ । उनीहरु विद्वान थिए तर विद्धत्व अनुरुपको व्यवहार महशुस गर्न भने पाइएन । किनभने उनीहरुको वास्तविक भावना लोभ लालच तर्फ केन्द्रित भएको सबै जम्मा भएका विद्वान, मास्टर उच्च ओहोदाका आदि सज्जनहरुले अनुभूति गरे ।
हामीहरु सबै चेतनशील नागरिकहरुको कर्तव्य हो की सामाजिक उत्थान र विकास तथा सामाजिक मर्यादाको पालना गर्न, गराउन अग्रसर हुनुपथ्र्यो । तर टाठाबाठा सबैले समाजका निम्न वर्ग अर्थात तल्लो र अर्धशिक्षित नारीहरुलाई विकसित गर्ने नाउँमा अग्रसरता देखाउँदै छन् भने धर्मभिरु ठेकेदार र टपरेहरु भने तीनैलाई धर्मको नाउँमा ठग्नेतर्फ लागेको देखिन्छ । कुनैपनि कर्म काण्डले दिशा होस् अथवा कोणमा एक पाथी चामल किलोको हिसाबले राख्ने र त्यस्तै प्रकारले द्रव्य राख्नुपर्ने निर्धारण गरेको पाईँदैन । तर सबैको दृष्टिकोण पनि त्यस्तो हुँदैन । समष्टिको रुपमा हेर्दा सबै टपरे त्यस्ता पनि छैनन् । लोभ र लालचले कसैलाई शान्ति र खुशी हुन दिँदैन क्षणिक हो । यजमान र टपरे दुवै पक्षले आफ्नो सोच, समझ र बुद्धि तथा विवेक प्रयोग हुनैपर्दछ । कारण अहिले जनचेतनाको लहर बढ्दो छ, विस्तारै कसले कति धुत्याईँ गर्दैछ भन्ने कुरा मुखले नभनेतापनि आत्माले चिनेको हुन्छ र पुनः उसँग सम्बन्ध राख्दैन । झुटो र लुट्ने अभिप्राय केवल एक पटक मात्र हो, दिगो हुँदैन, मानिस आफ्नै कारणले पतन हुँदै जान्छ ।
आजको समय वैज्ञानिक रर कर्ममा विश्वास गर्दछ, कसैलाई भविष्यको मिठो स्वप्ना देखाएर ठग्ने, लुट्ने मानसिकतालाई मानवीय व्यवहार भन्न मिल्दैन । किनभने विद्धत्व बोकेको विवेकशील व्यक्तित्वलाई सुहाउँदैन । त्यसकारण हरेक क्षेत्रमा नेपाल र नेपालीको भलो हुने काममा इमानदारिता पूर्वक लाग्नैपर्दछ । यो हामी सबैको जिम्मेवारी र कर्तव्य नै हो, आज यसैको अभाव जताततै खड्केको छ । बेमानहरुका जगजगी र बिगबिगीलाई रोक्न अर्थात निष्क्रिय बनाउन प्रशासन र राजनीतिक संकल्पका साथै विधि, विधान र कडा कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक छ । जबतक देशमा राजनीतिक इमानदारिता र शुद्ध, पवित्र भावनाको विकास हुँदैन तबतक देशको कुनै पनि क्षेत्र शान्त र विकसित हुन सक्दैन । सबैभन्दा पहिले हामी नेपालीको मानसिकतामा परिवर्तन हुन आवश्यक छ । फट्याईँ, छुल्याईँ, जालझेलको प्रपञ्चरुपी शब्दजालबाट मुक्त हुनुप¥यो ।
प्रश्न टपरेको मात्र होइन, हामी सबैको निष्क्रियता र स्वार्थपूर्ण व्यवहारको हो । समष्टि रुपमा सबै वर्ग विशेष देशलाई शिरमा राखेर समाजको हितलाई हृदय कमलमा ईमानदारितापूर्वक राखेर दुरदृष्टिले सोच्ने बानी बसालौँ । व्यक्तिगत स्वार्थ, भ्रष्ट, तस्कर, कालोबजारी, मुनाफाखोर, कामचोर, अपराधी तत्व, लुटाहा र ठग सबै प्रवृत्तिलाई दण्डित गर्न सक्ने दरो सरकार र ईमानदार राजनीतिक नेतृत्वको आवश्यकताको समाजले महशुस गरेको छ । सबैमा सद्बुद्धि आओस् यही कामना गर्दछु ।