बैशाख २८ ्र काठमाडौं–सशस्त्र प्रहरी बलले गत पुस महिनादेखि चैत्र महिनासम्म चार महिनाको अवधिमा कुल २६१ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागिय कारवाही गरेको जनाएको छ । जसमा सशस्त्र प्रहरी उपरीक्षकसहित सिनियर अधिकृत १२ जना, जुनियर अधिकृत १७ जना र विल्लादार जवान २३२ जना छन् ।
सो अवधिमा कूल १ सय जनालाई बर्खास्त गरिएको छ भने १२ जनालाई घटुवा गरिएको सशस्त्र प्रहरी बलका प्रबक्ता शैलेन्द्र खनालले जानकारी दिए ।
शसस्त्र प्रहरी बल मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता खनालले २७ जनालाई बढुवा रोक्का गरिएको समेत बताए । संगठनको नीति विपरितका कृयाकलापमा संलग्न भएकाले उनीहरुलाई विभागिय कारबाही गरिएको उनको भनाई छ ।
उनका अनुसार चैत्र महिनामा सिनियर अधिकृत १ जना, जुनियर अधिकृत ८ जना तथा विल्लादार जवान ५६ जना गरी कूल ६५ जनालाई विभागिय कारवाही गरिएको छ ।
यसैगरी फागुन महिनामा सिनियर अधिकृत ५ जना, जुनियर अधिकृत ३ जना तथा विल्लादार जवान ४९ जना गरी कूल ५७ जनालाई विभागिय कारवाही गरिएको छ ।
यसअघि माघ महिनामा सिनियर अधिकृत ३ जना तथा जुनियर अधिकृत ५ जना र विल्लादार जवान ६५ जना गरी कुल ७३ जनालाई कारवाही गरिएको थियो भने पुस महिनामा सिनियर अधिकृत ३ जना, जुनियर अधिकृत १ जना तथा विल्लादार जवान ६२ जनालाई विभागिय कारवाही गरिएको थियो ।
खनालले सशस्त्र प्रहरी र जनपथ प्रहरवीच विवाद नरहेको भन्दै संगठनले नेपाल सरकारले दिएको जिम्मेवारी र ऐनको कार्यवीधिमा टेकेर काम गर्ने गरेको बताए ।
‘हामी आफैले कारवाही गर्ने होइन, ऐनले दिएको अधिकारसहित पक्राउ परेका व्यक्तिलाई सूचनासहित नेपाल प्रहरीलाई थप अनुसन्धानका लागि बुझाउछौँ ।’ उनले एपिएफको सवै सुरक्षा निकायसँग हार्दिकतापूर्ण सम्बन्ध रहेको पनि बताए । ‘हामी दुई संगठन एक सिक्काका दुई पाटा हौँ । एपिएफलाई दिएको कार्यदेश भन्दा हामी बाहिर जादैनौँ । ’
सशत्र प्रहरीले गरेका काम–कारवाहीवारे को उपलब्धीमुलक काम कार्वाहीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवत्ता खनालले संगठनले भष्ट्राचारको सुन्य सहनशिलता नीति अबलम्बन गरेको बताए । अख्तियार र अदालतले गरेको निर्णयलाई आफ्नो संगठनले सम्मान गर्ने उनले बताए ।
संगठनभित्र आदेशात्मक प्रणालीलाई व्यवस्थित गर्दै सामूहिक निर्णयका आधारमा अगाडि बढने उनले बताए । उनले हरेक तीन महिनामा संगठनले पत्रकार सम्मेलन गरेर आफ्ना गतिविधि जानकारी गराउन लागेको पनि उनले जानकारी दिए ।