भैरहवा, बैशाख २९ ।
रुपन्देहीको सबैभन्दा पुरानो सरकारी अस्पताल भीम अस्पताल भैरहवामा केही महिना यता सुधारका धेरै काम भएका छन् । जिल्लाकै नमूना अस्पताल बनाउने अभियान स्वरुप अस्पतालले मास्टर प्लानको खाका समेत बनाएर सम्बन्धीत मन्त्रालय र विभागमा पठाएको छ ।
वि.स. १९९० सालमा स्थापित अस्पतालको लागी आवश्यक भौतिक संरचना र चिकीत्सीय सेवाको माग सहितको मास्टर प्लान स्वीकृत भएर कायन्वयनमा आएमा सो अस्पताल अञ्चलकै नमूना अस्पताल बन्ने दाबी गरिएको छ ।
८३ वर्षदेखी निरन्तर स्वास्थ्य सेवा दिदै आएको उक्त अस्पतालमा ओपिडि(बहिरंग सेवा) इमरजेन्सी –आकस्मीक कक्ष) आइपीडि –अन्तरंग सेवा) मेटरनीटि –प्रसुति विभाग), भ्याक्सिनेशन एण्ड म्याटरनीटि सेन्टर, डट्स, सेफ एर्वसन सर्भिस (सुरक्षित मातृत्व सेवा) अप्रेशन सर्भिस, पोस्टमोर्टम सर्भिस (शव परीक्षण सेवा) वोन्ड चेकअप (घाउ चेकजाँच सेवा) जस्ता सेवा सन्चालित छन् । विशेषज्ञ चिकित्सकहरु सहित स्थानिय चुस्त व्यवस्थापन समिति रहेको सो अस्पतालमा ओपिडि, आइपिडि, मोरटरी र स्टाफ क्वाटर गरी १० वटा भवन रहेका छन् । यद्यपि ती भवन मर्मत सम्भार अभावको कारण धेरै जीर्ण बनिसकेका छन् । एक वर्ष अगाडी सम्म आफ्नै स्वामित्वका ३४ वटा सटरको भाडा बापत १० लाख आम्दानी गर्दै आएकोमा अहिले ७० लाख हुन थालेसँगै अस्पतालको आन्तरिक व्यवस्थापन गर्दा हुने आर्थिक कठिनाई दूर भएको छ । आम्दानीको स्रोत बढेसंगै अस्पताल प्रशासनलाई धेरै काम आँट्न सहज समेत भएको छ । आजभोलि अस्पतालमा पुरानो संरचनाको मर्मत सम्भार तथा नयाँ संचरना बनाउने कार्य तीव्र गतिमा भएको देखिन्छ ।
अस्पताल विकास समितिले स्थानिय लाइफ इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लिको सहयोगमा मास्टर प्लान नक्सांकन गरी काम अगाडी बढाएकोछ । मास्टर प्लानको प्रारुप अनुसारको भौतिक संरचना निर्माण भएमा भीम अस्पताल अन्चलकै नमूना अस्पताल बन्ने दाबी अस्पताल विकास समितीका अध्यक्ष हितराज पन्थिले गरे । उनले भने “अस्पताल विकास समति र अस्पतालमा कार्यरत कर्मचारी तथा चिकीत्सकहरु एवं स्थानिय सरोकारवालाको टिम वर्क भइरहेमा भीम अस्पताल अन्चलकै नमूना बन्नेमा कसैले रोक्न सक्दैन । ”
अस्पतालमा अहिले धेरै राम्रा कामहरु भईरहेको अध्यक्ष पन्थीले बताए । उनले भने “सरसफाई, चिकित्सक र कर्मचारीमा चुस्तता, विभिन्न रोगको शिविर, निशुल्क औषधी वितरण, आर्थिक पारदर्शिता , विभागहरुलाई परिपुर्णता तथा मन्त्रालय र विभागसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ । ”
टिम वर्ककै कारण अहिले अस्पतालमा प्रसूति रोगको सबै किसीमको उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. अनन्त कुमार शर्माले जनाए । विगतमा सामन्य र भ्याकुम प्रसूति सेवा दिदै आएकोमा यहि चैत्र देखी सबै सेवा दिदै आएको डा. शर्माले बताए ।
अस्पतालले गत चैत्र २४ गते देखि अप्रेसन गरेर बच्चा जन्माउने सेवा पनि शुरु गरेको हो । सो अस्पतालमा डा. शर्मासंगै प्रसूतिरोग विशेषज्ञ डा. विमल ढकाल सहित राम्रो ज्ञान भएका नर्सिङ र चिकित्सकीय टोली छ । जसको कारण लुम्बिनी अन्चलमै सरकारी अस्पतालको प्रसुति विभागको सेवा तर्फ अग्रता कायम गर्ने जमर्को गरेको छ ।
सो अस्पतालमा हालै इक्टोपीक प्रीग्न्यान्सी (ट्युबमा बच्चा बसेको ) र हेमाटोमेट्रा (पाठेघरमा रगत जम्ने) जस्तो जटिल शल्यक्रिया पनि कुशलता पूर्वक सम्पन्न भएको छ । दुई हप्ता अगाडी सिद्धार्थनगर वार्ड नम्बर २ की तारादेवीले ५ केजीको बच्चा समेत सफलतापूर्वक शल्यक्रिया गरी निकालिएको छ । ती नवजात शिशु र आमाको स्वास्थय अहिले पनि स्वस्थ रहेको छ । नेपालमै सायदै यति धेरै वजन भएको बच्चा जन्माउने आमा सायदै होला भनी भेट्न गएका सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं सामान्य अवस्थामा रहेकी सुत्केरी तारादेवीले भनिन् – ५ केजीको बच्चा पाउँदा समेत अहिले सामान्य नै छु ।

यसको अतिरिक्त अस्पतालले यसै हप्ता पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराको सहयोगमा महिलाहरूमा देखा पर्ने आङ खस्ने (भेजानियल हिस्टेरेकक्टोमी) रोगको शिविर लगाएर भीम अस्पतालमै उपचार ग¥यो । क्षेत्रीय स्वास्थ्य निर्देशक डा.तारा पौडेल सहित १३ जना चिकित्सकको टोलीले शिवीरमा चिकीत्सकीय सेवा दिएका थिए । केही दिनमै अस्पतालले हाइड्रोसील रोगको शिविर गर्ने तयारी गरेको छ । यसैगरी भक्तपुर स्थित मानव अंग प्रत्यारोपण अस्पतालको सहयोगमा मानव अंग प्रत्यारोपण सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि चलाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । सरकारी अस्पताल भएर पनि इच्छा शक्ति र टिम वर्क भएमा थोरै बजेटमा पनि धेरै सेवा दिन सकिन्छ भन्ने उदाहरण भीमले देखाईरहेको छ । केही वर्ष अगाडी सम्म आन्तरिक आम्दानी पनि कम हुने र सरकारी सहयोग र अनुदानको पनि सही सदुपयोग नहुँदा समस्याग्रस्त भएको उक्त अस्पतालको सेवा र भौतिक सुविधा सम्पन्न तथा चुस्त गराउन स्थानिय अस्पताल विकास समिती अध्यक्ष पन्थि र मेसु डा. शर्माको टिम दिनरात खटिरहेको छ । डा. शर्मा र समिति अध्यक्ष पन्थि दुबै स्थानिय भएकोले अस्पतालको सेवा पश्चात पनि जवाफदेही बन्नुपर्ने हुँदा सकेसम्म आफ्नो कार्यकालमा अस्पताललाई जिल्लाकै नमुना अस्पताल बनाउने जोडतोडका साथ लागेको दुबै जना बताउँछन् ।
विगतमा चिकित्सक नहुँदा समस्या झेल्नु परिरहेको भीममा हाल प्रसूतिरोग विशषज्ञ समेत रहेका मे.सु. डा. अनन्तकुमार शर्मा, स्त्री रोग विशषज्ञ डां विमल ढकाल, न्यूरो सर्जन डा. डम्बर विक्रम शाह, अर्थोपेडीक विशषज्ञ डा. सोम आले र मेडिकल अधिकृतहरुमा डा.गौरव देवकाटा, डा. मन्जिला घिमिरे, डा. सुबोध बस्याल, डा.सुनिता लम्साल, डा. रन्जिता महतो, दन्त रोग चिकीत्सक डा. सुमित श्रेष्ठले सेवा दिईरहेका छन् ।
सधैं फोहर र गन्हाउने अस्पताल अहिले चिटिक्क परेको छ । अस्पतालमा सरसफाई, फोहरमैला व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ । अस्पतालका बेडहरुको सफाई, शौचालयको सफाई देखी लिएर वार्डहरुमा लामखुट्टे रोक्न सबै ढोका झयालमा जालीको व्यवस्थापन पनि भएको छ । इमरजेन्सी सेवालाई अपडेट गर्दै इसीजी र एक्सरे प्यानलको पनि सही व्यवस्थापन भएको अध्यक्ष पन्थि बताउँछन् । अस्पतालमा अहिले सरकारले प्रदान गर्ने भनेको विभिन्न प्रकारका औषधीहरु विपन्न र असहायलाई वितरण गर्दै आएकोछ । विष सेवन गरेका, साप विच्छुले टोकेका(सर्पदंश) र कुकुर , विराला र मुसाले टोकेका विरामीहरु पनि भीम अस्पतालमा उल्लेख्य मात्रामा आउने गरेको र उनीहरुको उपचार सफलतापुर्वक हुनेगरेको मेडिकल अधिकृत डा. सुवोध बस्यालले बताए ।
२५ शैयाको स्वीकृति पाएको अस्पतालले ५८ शैया बेड सञ्चालनमा ल्याएकोछ । अस्पतालको दीर्घकालीन विकासकोलागी मास्टर प्लान नै बनाई कार्यक्रम अगाडी सारेको अस्पताल परिसरमा सुविधा सम्पन्न पोस्ट मार्टम गृह निर्माणको कार्य पनि शुरु भएको छ । अस्पतालले टेन्डर प्रक्रिया मार्फत शव तथा पोस्ट मार्टम गृह निर्माणको ठेक्का प्रीतम बिल्डर्सलाई दिइसकेको छ । नेपाल र दक्षिण कोरियन सरकारको संयुक्त लगानीमा सामन्य अप्रेशनको लागी आवश्यक भौतिक पुर्वाधार समेत तयार गरिसकेको अस्पतालले प्रस्तुती विभागको उच्च व्यवस्थापन गरिरहेको छ ।
हेटौडा, सुर्खेत, बाग्लुंग र भीम अस्पताल एकैपटक २५ शैयाको स्वीकृत पाई सन्चालनमा आएका थिए । ती अस्पताल अहिले स्तरवृद्धि भएर कहां पुगे तर यो अस्पताल बल्ल मास्टर प्लानको तयारीमा छ । अस्पतालमा १८ वर्ष पुरानो अल्ट्रासाउण्ड मेसिन छ । दरबन्दी अनुसार बालरोग विशषज्ञ छैन । यसको पनि तत्काल व्यवस्थापन गर्नु जरुरी देखिएको छ ।
आजभोली टिम वर्कको चारैतिर चर्चा हुने गर्दछ । टिम बिना कुनै काम गर्न सकिन्न भन्ने मनसायले जे काम गर्दा टिममै गरेको देखिन्छ । विश्वमा अन्तराष्ट्रिय स्तरका आयोजना र परियोजना पनि टीम वर्ककै कारण सफल भएका छन् । संस्थागत परिवर्तन र रुपान्तरणकोलागी टिम बिना सफल हुदैंन ।
अबको मास्टर प्लानले राम्रो र स्वच्छ क्यान्टीन, इमरजेन्सी कक्षको उच्च व्यवस्थापन, अप्रेशन थियटर, ब्लड बैंक, एम्बुलेन्स, इमरजेन्सीमा विशषज्ञ चिकीत्सकको २४ घण्टे उपस्थिती, आइसीयु, फार्मेसी, भिजीटर प्रतिक्षालय, फोहरमैला विसर्जन केन्द्र, प्रायाप्त शौचालय, प्रायाप्त विद्युतको लागी अस्पतालको छुट्टै ट्रान्सफरमर, अस्पतालको आफ्नै सुरक्षा गार्ड, सुविधा सम्पन्न एक्स रे, सिटी स्क्यान, एमआर आइ, हेमो डायलासीस मेसीन जस्ता उपरकरण र संरचना निर्माण गर्दै समय समयमा स्टाफलाई तालिम दिएर अपडेट गराएमा भीम अस्पतालको टीम वर्क फलदायी हुनेछ । नेपाल सरकार, स्वास्थ्य व्यवस्थापन विभागले चालु वर्षकोलागी विभिन्न शीर्षकमा ४२ लाख बजेट समेत छुट्टाएको तथा अस्पतालकै आन्तरिक आम्दानी पनि वार्षिक ७० लाख सटर भाडा बापत मात्रै रहने हँुदा अहिलेको टिमलाई काम गर्न बजेटले नरोक्ने सरोकारवाला बताउँछन् ।