logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भिभिआइपी कोटामा परीक्षा दिँदै प्रहरी अधिकृत


    ७ जेष्ठ २०७३ , शुक्रबार

    भिभिआइपी कोटामा परीक्षा दिँदै प्रहरी अधिकृत

    गार्डको आतंकले परीक्षार्थी त्रसित

    भैरहवा, जेठ ७ । नेपालकै महत्वपूर्ण क्याम्पस तथा त्रि.विको  ठूलो आंगिक क्याम्पसका रुपमा रहेको बुटवल बहुमुखी क्याम्पसमा तीन वर्षे एलएलबीको परीक्षामा भिभिआइपी कोटाको समेत व्यवस्था भएको छ ।

    butwal multiple campus
    एलएलबी अन्र्तगत कानुन संकायको पहिलो वर्षको परीक्षा चलिरहेको यस क्याम्पसमा भिभिआइपी कोटामा एक प्रहरी अधिकृतले परीक्षा दिईरहेको देखिन्छ । क्याम्पसको परीक्षा शाखाले नै उनको नाममा रहेको सिम्बोल नम्बरलाई भिभिआइपीको कोटामा राखेर विशेष सुविधा समेत दिएको अन्य परीक्षार्थीहरुले बताएका छन् ।
    परीक्षाको सिट प्लानमा ५ लाख १ नम्बर भएका भिभिआइपीको नम्बर जहिले पनि पछाडिको बेञ्चमा विशेष सुविधाका साथ राखिन्छ भने उनको साथमा ५ लाख ३९ लाई समेत राख्ने गरिएको छ । क्याम्पसले प्रकाशित गरेको सिट प्लान अनुसार ५ लाख २ सिम्बोल नम्बर देखि सुरु भएर ५ लाख ५४ सम्मलाई निरन्तरता दिईएको छ । ५ लाख १ र ५ लाख ३९ लाई भने विशेष सुविधाका साथ परीक्षा हलको पछाडि कुनामा राखिने गरेको परीक्षामा सहभागी अन्य परीक्षार्थीले बताएका छन् ।

    3

    सिम्बोल नम्बर ५ लाख १ गायब भएको कोठा नं ५७ को सिटप्लान । जहाँ ५ लाख १ लाई नराखेर ५ लाख २ देखि सुरु गरिएको छ ।

    अन्य परीक्षार्थीहरुको एकादिन बिराएर  कक्षाकोठा र सिटप्लान समेत परिवर्तन गरिएको छ भने यी भिभिआईपीहरुलाई सँधै एकै ठाउँमा विशेष सुविधाका साथ राखिने गरिएको छ । क्याम्पसको परीक्षा शाखाले सिटप्लान गर्दा जसरी भिभिआइपीलाई  सुविधा प्रदान गरेको छ, त्यसरी नै गार्डहरु समेत उनको अनुकूलमा खटाउने गरेको  कानुनकै परीक्षार्थी मणि भण्डारीले बताए ।
    त्रि.विका आंगिक क्याम्पसमा हुने यस्ता परीक्षाहरुमा सबैलाई समान व्यवहार र समान सुविधा प्रदान गरिने भएतापनि सिटप्लान र गार्डको सुविधा जस्तै चियाको समेत व्यवस्था बुटवल बहुमुखी क्याम्पसले गर्ने गरेको परीक्षार्थी भण्डारीले जनाए । विशेष सवारीका साथ सादा पोसाकका सुरक्षागार्डहरु लिएर क्याम्पस हाताभित्र उपस्थित हुने यी प्रहरी अधिकृतलाई क्याम्पसले यसरी कोटा नै छुट्याएजस्तो गरेर विशेष सुविधाका साथ परीक्षा संचालन गरेपछि अन्य परीक्षार्थीहरुले भने विरोध गरेका छन् । यसरी क्याम्पसभित्र बिना ईजाजत सुरक्षाकर्मी र उनका सवारी साधन प्रवेश गर्नु समेत नेपाल सरकारको कानुन विपरीत मानिन्छ ।

    1

    ५ लाख ३९ र ५ लाख १ विशेष व्यवस्थाका साथ कुनाको बेञ्चमा राखिएको छ । जुन त्रि.विको नियम विपरीत हो । माथिको तस्बिरमा देखिएको सिम्बोल नम्बरको लिस्ट क्याम्पसको परीक्षा शाखाले टाँसेको लिस्ट हो ।

    एकाध तथा विशेष व्यक्ति छुट्याएर अन्य परीक्षार्थीहरुलाई भने परीक्षा हल भित्र क्याम्पसले खटाउने गार्डहरुले अभद्र र असभ्य व्यवहार गरेको समेत परीक्षार्थीहरुले बताएका छन् । क्याम्पसमा खटाइएका केही गार्डहरुले परीक्षा हलभित्रै मोबाइलमा ठूलो ठूलो आवाज निकालेर कुरा गर्ने, परीक्षार्थीहरुलाई असभ्य रुपमा तँ भनेर सम्बोधन गर्ने, जिब्रो पड्काउने गरेको एक श्रीस थरकी महिला प्रशिक्षार्थीले बताईन् ।
    कानुन संकायको परीक्षामा अमर्यादित रुपमा संचालन भएको थाहा पाएपछि पुगेका विद्यार्थी संगठनका नेताहरुले समेत यसको विरोध गरेका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष नविन सारुले सिटप्लानदेखि परीक्षामा गार्ड खटाउने प्रक्रिया अमर्यादित भएको भन्दै क्याम्पस प्रशासनको विरोध गरेका छन् । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी अनुप पोखरेलले क्याम्पसको परीक्षा शाखाले सिटप्लान र गार्ड खटाउँदा गल्ती गरेको बताउँदै यस्ता कार्यहरु अब उप्रान्त नदोहो¥याउन समेत क्याम्पस प्रशासनलाई अनुरोध गरेका छन् ।
    बुुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख बुद्धकुमार श्रेष्ठले भने आफूहरुको गल्ती स्वीकार्दै परीक्षार्थीहरु समक्ष क्षमायाचना गरेका छन् । उनले अब आईन्दा यस्तो गल्ती नदोहो¥याउने भन्दै गल्ती गर्नेलाई कारबाही समेत गरिने जनाए ।
    कानुनको परीक्षामा खटाइने गार्डहरु क्याम्पसभित्रका जिम्मेवार प्राध्यापक तथा कर्मचारी नभई बाहिरबाट भाडामा ल्याइएका व्यक्तिहरु भएकाले यस्तो भएको भन्दै क्याम्पस प्रशासनले अब आईन्दा यस्तो नदोहो¥याउने बताएको छ ।
    उक्त परीक्षामा सहभागी भइरहेका प्रहरी अधिकृत रुपन्देही जिल्लामै कार्यरत प्रहरी हुन् । क्याम्पस प्रशासनकै अनुरोधमा उनको नाम र ठेगाना गोप्य राखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.