लुम्बिनी खबर
भैरहवा, जेठ ९ । नेपाल मधेसी निजामति कर्मचारी मञ्चको तेस्रो केन्द्रिय महाधिवेशन जेठ ९ र १० गते भैरहवाको महेन्द्र सभागृहमा हुने भएको छ ।
महाधिवेशनको उद्घाटन नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले गर्ने आयोजकले बताएका छन् । उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहेका सद्भावना पार्टीका अध्यक्ष महतोले देशको समसामयिक विषयमा समेत आफ्नो मन्तव्य राख्ने समेत आयोजकले बताएका छन् ।

महाधिवेशन उद्घाटन सत्रमा महतोका साथै मधेसवादी दलका विभिन्न नेताहरुको उपस्थिति रहने नेपाल मधेसी निजामति कर्मचारी मञ्चका रुपन्देही सचिव रामबाबु महतोले जानकारी दिए । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । अहिले देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि परिवेक्षक तथा अतिथिहरु भैरहवा आउने क्रम जारी रहेको छ । जसको व्यवस्थापन सो कर्मचारी संगठनको जिल्ला कार्यसमितिले गरिरहेको छ । देशभरका ५ सय परिवेक्षक प्रतिनिधिले महाधिवेशनमा भाग लिने समेत आयोजकले जनाएका छन् ।
नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष विनोदकुमार सिंह र वर्तमान महासचिव बेचन कुमार महतो पुरानै पदमा निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ भने अन्य पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । महाधिवेशनको उद्घाटनको पूर्वसन्ध्यामा अहिले भैरहवा क्षेत्रमा चोक चोक र बाटोबाटोमा संगठनकै ब्यानर, पर्चा,पम्प्लेटिङ र गेटहरु बनाएको देखिन्छ ।
विनाशकारी महाभूकम्प तथा मधेस आन्दोलनले छियाछिया बनेको देशको परिस्थितिको विषयमा समेत यो महाधिवेशनले समीक्षा गर्ने बुझिएको छ । यहाँ उपस्थिति हुने परिवेक्षक प्रतिनिधिहरुले समेत देशको निकास कसरी हुनसक्छ भन्ने विषयमा समेत छलफल गर्नेछन् । राज्यको स्थायी अंगको रुपमा समेत रहेको निजामति कर्मचारीहरुले राष्ट्रिय परिस्थिति, जनताका समस्याहरु नजिकबाट नियालिरहेकाले समेत यिनीहरुले महाधिवेशनमा सहभागी हुन आउने केन्द्रिय नेताहरुलाई आफ्ना हक, अधिकार र देशले पाउन सक्ने निकासका विषयमा समेत सुझाव दिने अनुमान गरिएको छ ।