लुम्बिनीखबर
भैरहवा, जेठ ८ । लुम्बिनी वल्र्ड पिस फोरम नेपालले विश्व शान्ति र सामाजिक सद्भावको लागि लुम्बिनी आर्ट क्याम्पको आयोजना गरेको छ ।

२५६० औँ बुद्धजयन्तीको अवसर पारेर आर्ट क्याम्पको आयोजना गरेको पिस फोरम नेपालका अध्यक्ष वासु गौतमले बताए । बुद्धको विषयमा प्रचार गर्नका लागि गरिएको आर्ट प्रदर्शनीमा नेपालका प्रख्यात चित्रकारहरुले बुद्धजयन्तीको अवसर पारेर लुम्बिनीको मायादेवी परिसरमा बुद्धसँग सम्बन्धित चित्रहरु कोरेर प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा लुम्बिनी देखि काठमाण्डौसम्मका कलाकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । यसै वर्षदेखि सुरु गरिएको आर्ट क्याम्पलाई अब बुद्ध जयन्तीको अवसर पारेर प्रत्येक वर्ष संचालन गरिने समेत उनीहरुले जनाएका छन् ।


उनीहरुले प्रदर्शन गरेको चित्रकला लुम्बिनीमा आउने हजारौँ पर्यटकहरुले अवलोकन गरेका छन् । चित्रकला प्रदर्शन र कार्यक्रम आयोजना गर्नको लागि नेपाल टेलिकम, माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल पर्यटन बोर्डले सहकार्य गरेको समेत आयोजकले बताएका छन् । जसको खर्च करिब २ लाख रुपैयाँ लागेको छ ।


कलाकर्मीहरुले लुम्बिनीमा सिर्जना गरेको कला इटालीको रोम, जापानको हिरोसिमा, नागासाकी, सिंगापुर, अमेरिका लगायतका देशहरुमा समेत प्रदर्शन गर्ने भएका छन् । कार्यक्रममा १० जना कलाकारहरुको सहभागिता रहेको थियो । जसमा बिके नरबहादुर, मान गोल्डी, डि.राम पाल्पाली, केशम राज खनाल, डि. बराल, खेम विके, विष्णु गदाल, शैलेश गुरुङ, दोर्जे गुरुङ लामा, विनोद गलामी र नविन जंगली रहेका छन् ।