लुम्बिनी खबर
भैरहवा, जेठ ९ । महामानव गौतम बुद्धको २५६० औँ बुद्ध जयन्ती उनको जन्मस्थल लुम्बिनीमा विशेष रुपमा मनाइएको छ ।
बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीबाट सबैले केही न केही सिक्नुपर्ने बताईन् । प्रमुख दलका अध्यक्षहरु, प्रधानमन्त्री, मन्त्री कूटनीतिक नियोगका प्रमुख लगायत देशी, विदेशी विशिष्ट पाहुना एवं हजारौँ सर्वसाधारणको उपस्थितिलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्व शान्तिको मुहान लुम्बिनी र दर्शनका प्रणेता बुद्ध र उनको बुद्ध दर्शन विश्व मानवको लागि सबैभन्दा महत्वपूर्ण प्रेरणाको स्रोत बन्ने समेत जनाईन् । राष्ट्रपति भण्डारीले विश्वमा शान्तिको सन्देश छर्न सफल बुद्धको देशमा पूर्णतया शान्ति नहुनु दुखद भएको सन्दर्भ कोट्याउँदै सबै दल, समुदाय र नागरिक एक भएर शान्ति र समृद्धिको दिशातर्फ अघि बढनुपर्नेमा जोड दिईन् ।

सो अवसरमा सँधै आरोप प्रत्यारोपमा उत्रिने प्रमुख तीन दलका शीर्ष नेताहरु एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शान्ति र समृद्धिको लागि लुम्बिनी सबैको स्रोत बन्ने विश्वास गर्दै देश विकासमा राजनीतिक दलको भूमिका सँधै सकारात्मक हुने समेत बताए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले लुम्बिनी विश्व समुदायमा शान्तिको सन्देश छर्न सफल ठाउँ भएको जनाउँदै बुद्ध र बुद्धिज्मको जन्म नेपालमै भएको तर्क गर्दै संसारलाई एकताको सूत्रमा बाँध्ने बुद्ध र बुद्धिज्मको संरक्षण र संवद्र्धनमा सबैको सहयोगको आवश्यकता औँल्याए ।

कसले के भने लुम्बिनीमा ?
सँधै राजनीतिक खिचातानी र झैझगडामा केन्द्रित हुने राजनीतिक दलका प्रमुखहरु पवित्र उद्यान लुम्बिनीमा शनिबार आयोजित २५६० औँ बुद्धजयन्तीमा भने एकताको सन्देश छर्न सफल भए ।
कार्यक्रममा सँधैजसो सपनाको महल खडा गर्ने प्रधानमन्त्रीले लुम्बिनी क्षेत्रलाई विश्व पर्यटनको केन्द्र बनाउने घोषणा गरे । सपना देखेपछि मात्र त्यो विपनामा परिणत हुन्छ भन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विश्व शान्ति सहरको रुपमा लुम्बिनीलाई स्थापित गराएरै छाड्ने दृढता समेत व्यक्त गरे । उनले भने “लुम्बिनीमा आवश्यक भौतिक पूर्वाधार तत्काल तयार हुन्छ । विश्वका बौद्धमार्गीहरुलाई लुम्बिनी आउनैपर्ने वातावरण सिर्जना गरिन्छ । त्यसपछि यो क्षेत्र पर्यटक नै पर्यटकको केन्द्र बन्न पुग्छ ।”
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले लुम्बिनीमा पाँच हजार अट्ने सभागृह बनाउने घोषणा समेत गरे । एक वर्षभित्रमा उक्त सभागृह बनाउने घोषणा गर्दै उनले लुम्बिनी भगवान बुद्धको जन्मथलोसहित बुद्धत्वको प्रार्दुभाव भएको ठाउँ भएको बताए ।
प्रधानमन्त्री ओलीले बुद्धको जन्मभूमि र बुद्धत्वबादको विकासको विषयमा कुनै राजनीतिक विवाद र मतभेदको आवश्यकता नरहेको समेत बताए ।

उनले समारोहमा देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु सहभागी भएको उल्लेख गर्दै यस विषयमा कुनै राजनीतिक मतभेदको आवश्यकता नरहेको बताएका हुन् । ओलीले नेपालको पहिलो प्राथमिकता विकास भएको भन्दै त्यसको लागि आवश्यक भिजन र प्रतिबद्धता रहेको स्पष्ट पारेका थिए ।

‘लुम्बिनीलाई बौद्धधर्मावलम्बी तथा अन्य नेपालीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा विकास गर्न चाहन्छौँ’, ओलीले भने ।उनले जापानका प्राविधिज्ञ केजो टाँगेले ल्याएको योजनालाई समेत कार्यान्वयन गर्ने घोषणा गरे । ओलीले भने, ‘लुम्बिनीको विकासका लागि टाँगेले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि हामी पहल गर्नेछौँ ।’

सोही समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुद्ध नेपाल र छिमेकी राष्ट्रका लागि मितेरी पुल बनेको तर्क गरे । अध्यक्ष प्रचण्डले बुद्धका कारण कारण छिमेकी राष्ट्रसँग नेपालको सम्बन्ध राम्रो भएको जिकिर गरे । सोही अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौतम बुद्धले देखाएको शान्तिको बाटोमा सबै नेपालीहरु हिँड्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बुद्धको मूल मन्त्रलाई आत्मसात गरेर अगाडि हिँडेमात्रै पनि वैमनस्यता र विवाद निरुपण हुने बताए ।
सो समारोहमा उपप्रधानमन्त्रीत्रय चित्रबहादुर के.सी., सि.पी मैनाली, टोपबहादुर रायमाझी, गृहमन्त्री शक्तिबहादुर बस्नेत लगायत मन्त्री परिषद्का अधिकांश सदस्य एवं सरकारी निकायका प्रमुख, नेपाली सेनाका सेनापति राजेन्द्र क्षेत्री, शसस्त्र प्रहरी बलका आईजीपी दुर्जकुमार राई, नेपाल प्रहरीका आईजिपी उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, चीनस्थित बौद्ध संगठन विभाग प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

विगतका वर्षहरुमा भन्दा यसपटकको बुद्ध जयन्तीमा मानिसहरुको उपस्थितिको संख्या पनि अत्यन्त बढी रहेको थियो । बुद्धजयन्तीमा सहभागीहरुलाई सिद्धार्थ होटल एशोसिएन लगायत विभिन्न संघसंस्थाले सर्बत र पानी खुवाएर स्वागत गरिरहेको देखिन्थ्यो ।