logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    माओवादीले गरिखाएन भने………ः भट्ट


    ९ असोज २०७३ , आइतबार

    माओवादीले गरिखाएन भने………ः भट्ट

    lekhraj-bhatta

    लेखराज भट्टको राजनीतिक बजारमा खोजी भइरहेको छ, कता हराउनुभयो ?
    –म हराएको छैन । पार्टी जिम्मेवारी अनुसारको काम गरिरहेको छु । मिडियामा आइरहने मान्छे उतिविधि नदेखिंदा कता हरायो भन्ने कुरा उठेको होला । तर, म जनताको बीचमै छु, उहाँहरूकै काम गरिरहेको छु । प्रदेश नम्बर ७ मा माओवादीलाई पहिल्यैको अवस्थामा फर्काउने अभियानसहित होमिएको छु ।

    पार्टीले तपाईंलाई के जिम्मेवारी दिएको छ नि ?
    –पार्टीले मलाई प्रदेश नम्बर ७ को संयोजक बनाएको छ । प्रदेश नम्बर सातको संयोजकको हैसियतले संगठन निर्माणको काममा आफ्नो क्षेत्रमा खटिइरहेको छु । संगठन विभागको बैठकले गर्दा मात्रै काठमाडौं आएको हुँ । त्यसको बैठक असोज २ गते छ, त्यो सकिएपछि फेरि कार्यक्षेत्रमै खटिएर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने सोच छ ।

    पार्टीलाई पहिल्यैको अवस्थामा फर्काउने भन्नु भो । तर, टुक्राटुक्रा भएर सकिनै लागेको शक्तिलाई पहिलो बनाउने कुरा त्यति सजिलो छ   र ?
    –मानिसहरू माओवादी सकियो भन्छन् । अब यसको भविष्य छैन भनेर भन्नेहरू पनि उत्तिकै छन् । तर, यी सबै हचुवाको भरमा भनिएका कुरा हुन् । हौवा फैलाइए जस्तो माओवादी कमजोर भएको छैन । पार्टीका हामी सबै नेता तथा कार्यकर्ता यसलाई माथि उठाउन भित्री हृदयदेखि नै लाग्यौं भने पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । स्पष्ट कार्य्दिशा नहुँदा बेथिती हुल बाँधेर छिरेको छ, त्यसका लागि पार्टीले स्पष्ट कार्य्दिशा तय गर्नुपर्छ । पार्टीलाई थिती बसालेर अघि बढ्यौं भने अघि बढ्न सक्छौं । जनयुद्धको कार्यदिशा र कार्यशैली भुलेर नयाँ ढंगले अध्ययन, छलफल र बहस गरेर अघि बढ्न ढिलाइ गर्न हुँदैन । कतिपय साथीहरू सिद्धान्त, विचार र राजनीति ठीक छ, संगठनमा समस्या छ भन्नुहुन्छ, तर मेरो बुझाईमा यो सोचाइमा खराबी छ ।

    पार्टी पहिलो बनाउने भन्ने कुरा त गर्नुभयो तर लेखराज नै जिम्मेवारीबाट सन्तुष्ट छैनन, क्षेत्रीय पार्टी खोल्न लागिपरेका छन् भनेर चर्चा भइरहेको छ त ?
    –जिम्मेवारीबाट असन्तुष्ट भएको भन्ने कुरा सत्य होइन । मिडियामा देखिंदा सक्रिय, नदेखिंदा निस्क्रिय भन्ने जो अर्थ लगाइने गरिन्छ, यो सही होइन । अहिले पनि दैनिक ५० भन्दा बढी कार्यकर्तासंग यता आएका बेला काठमाडौंमा भेटघाट हुन्छ । कार्यक्षेत्रमा दैनिक ३०० भन्दा बढी जनता, कार्यकर्तासंग कुराकानी हुन्छन् । यसर्थ म असन्तुष्ट पनि छैन र निष्क्रिय पनि भएको छैन ।

    अनि तपाई असन्तुष्ट रहेको कुरा पनि गलत हो त ?
    –म असन्तुष्ट भएँ भन्ने कुरा आउँदा मलाई केही कुराले काम गरेजस्तो लागेको छ । जस्तो कि पार्टी एकता भैसकेपछि संगठन व्यवस्थापन गर्न नसक्दा भद्रगोल भयो भन्ने चिन्ता मैले राख्दै आइरहेको छु । जिम्मेवारीको कुरामा पनि कहीँ न कहीँ अन्तरविरोध छन् भनेर त्यसलाई मिलाउनु पर्ने मत राखेको छु । । मेरो क्षेत्रको कार्यकर्ताको सही मूल्यांकन भएन भन्ने कुरा मैले जोडदार रुपमा उठाएको छु । तर, यसको अर्थ असन्तुष्ट भो, पार्टी नै छाड्यो भनेर लगाउन त भएन नि ? विचार नमिल्ने बित्तिकै हाम्रो पार्टीमा असन्तुष्टि र वादको जामा ओडाइने गरिएको छ । मैले २०५८ मा संघीयताबारे पर्याप्त अध्ययन र छलफल गरेर मात्रै अघि बढ्नुपर्छ भन्दा संघीयता, जनजाति, थारु विरोधी भनेर पार्टी्भित्रैबाट बिल्ला भिराउने काम भएको थियो । अहिले पनि यसले निरन्तरता पाइरहेको होला, त्यसको मलाई वास्ता छैन । समाजको इतिहास, संस्कृति, आर्थिक गतिविधि इत्यादिले चेतनामा प्रभाव पार्ने र व्यक्त हुने कुरा हुन् । यसर्थ मलाई कसले के भन्छ भन्नेमा खासै चासो छैन ।

    तपाईंमाथि त असन्तुष्ट भेला पारेर क्षेत्रीय पार्टी नै खोल्न लाग्यो भन्ने कुरा आएको छ त ?
    –मैले खुल्ला र स्पष्ट रुपमा नै भनेको छु, मेरो जीवन माओवादी आन्दोलनमै व्यतीत भयो तर पार्टी बिग्रँदैछ । यसलाई बनाउनु पर्छ । बनाउने भनेरै ७ नम्बर प्रदेश बनाउन लागिपरेको छु । यदि यो पार्टी रहेन भने पनि हामी राजनीतिमै रहने हो । तर, माओवादी नहुँदा त्यसको विकल्पमा कांग्रेस र एमालेमा जान सकिँदैन, स्कुलिङ र नैतिकताले पनि दिंदैन । पार्टी बनेन, भत्कियो र माओवादीले गरिखाएन भने स्वभाविक रुपमा क्षेत्रीय पार्टी बन्न सक्छ । तर, अहिल्यै क्षेत्रीय पार्टी बनाउने कुरा वाहियात हो । यसमा कुनै सत्यता छैन ।

     हावा नआई त पात नहल्लिनु पर्ने नि होइन र ?
    –छलफलका क्रममा उठेका विषयलाई बंग्याएर त्यहीबाट यो कुरा उठाइएको हो भन्ने मेरो ठम्याइ हो । अर्को कुरा पार्टी बनाउने भनेर लाग्दा पार्टीभित्रैका नकारात्मक तत्वहरू भ्रम फैलाइरहेका छन् । यसको मैले खण्डन पनि गरिसकेको छु । विगतदेखि पार्टीभित्रैकाले मेरो अनेक कपोलकल्पित कुरा उठाएर चरित्रहत्याको प्रयास गरिरहेका छन् । जसको कुनै तुक छैन ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट भएको छ कि छैन ?
    –प्रधानमन्त्री भइसकेपछि एक दुईपटक कुरा भएको छ । उहाँ अलि व्यस्त हुनुभएकाले लामो कुराकानी हुन पाएको छैन ।

    भेटमा पार्टी संगठनको लथालिंगबारे कुरा भयो कि अरु नै ?
    –उहाँ व्यस्त हुनु भएकाले सांगठनिक कुरा हुन पाएको छैन । भर्खरै भारत भ्रमण, अन्य भ्रमण देशको भ्रमणको बन्दोबस्न गर्नुपर्ने जिम्मेवारी उहाँको काँधमा भएकाले यही विषयमा नै कुरा भयो ।

    पार्टीमा जताततै भद्रगोल र लथालिंग छ भनिन्छ, यसको समाधान गर्न प्रचण्डले नचाहेको हो कि नसकेको ?
    –हाम्रो पार्टी नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड नै पार्टी हुन् भन्ने गलत बुझाई छ । खासमा दोष प्रचण्डको मात्रै नभएर सबैको छ । सबै मबाट हामीमा गयौं भने अध्यक्षले पार्टी सुधार्न नसक्ने भन्ने छैन । हामीले बनाएको अध्यक्षलाई हामीले नै सहयोग गर्यांै भने पार्टी सुध्रिन्छ र बन्छ पनि । अर्को कुरा, हाम्रा नेताहरूमा काठमाडौंमा थुप्रिएर बस्ने संस्कृति जबरजस्त हाबी भएर गएको छ । पार्टी ब्नाउन यो शैली, प्रवृत्ति पनि अन्त्य हुनुपर्छ । कार्यक्षेत्रमा खटिएअनुसार जिम्मेवारी दिँदै पार्टीलाई चुस्तदुरुस्त पार्नुपर्छ । उदेकलाग्दो कुरा के छ भने पूर्णकालीन भनेका हाम्रा कार्यकर्ता या त चिया पसलमा हुन्छन् या त तासको खालमा । घरको काम र पार्टीको दुवै काम नगरेर ठग्ने प्रवृत्ति हाम्रा पूर्णकालीन कार्यकर्तामा छ । यसलाई चिर्न पनि आवश्यक छ ।

    माओवादी केन्द्रमा सम्भावना बोकेका नेता पलायन हुँदै गइरहेका छन् । यसलाई कसरी लिनुभएको छ ?
    –विचारमै स्खलित भएर यस्तो भएको हो भन्ने मलाई लाग्छ । मालेमावादलाई अहिलेको परिप्रेक्ष्यमा नबुझ्दा र यसको विकास तथा अनुसन्धान एवं लागू कसरी गर्न सक्छौं, २१ औं शताब्दीको उन्नत साम्राज्यवादसंग वैचारिक रुपमा कसरी भिड्छौं भन्ने नै मा दुविधा हुँदा समस्या आएको छ । यो कुुरालाई नबुझ्ने निराश हुँदै र पलायनतिर गइरहेका छन् । जसले मालेमावाद विज्ञान हो, प्रयोग भइरहने र विकास भइरहने कुरा हो भनेर बुझ्यो ऊ यही पार्टी्भित्रै यसलाई फुलाउनु पर्छ भनेर बसिरहेको छ । अर्को दोस्रो कुरा, व्यवस्थापन कमजोरीले पनि पार्टीबाट नेता तथा कार्यकर्ता पलायन बनाइरहेको छ । एकीकृत गरेर व्यवस्थापन गर्न नसक्दा यस्तो भयो । कहीँ न कहीँ  हाम्रो जीवनशैलीमा पनि वर्ग उत्थान भयो । हामी अभिजात वर्गीय कल्चरमा रमायौं जस्तो लाग्छ । यसले पनि पार्टी संगठन निर्माणमा प्रभाव पारिरहेको छ ।

    माओवादी एकपछि अर्को टुटफुट भइरहेको छ । यसको भविष्य के होला ?
    – टुटफुट सिद्धान्त बिचारमा भएको हो कि महत्वकांक्षा र स्वार्थमा भएको हो समीक्षा गर्नुपर्छ । सबै पक्षको कमीकमजोरी बोध गरेर अघि बढेर यसलाई चम्काउन सकिन्छ । बहस भएर संश्लेषण गर्न सक्यौ भने माओवादी एक ढिक्का हुन्छ । माओवादीको भविष्य हामीले खोजेजस्तै हुन्छ । हिजो माओ र लेलिनले गरेका अभ्यास पछ्याउँदा समस्या भएको छ । आफ्नो मौलिकताअनुसार बुझ्न सक्नुपर्छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी विश्लेषण गरिरहनु भएको छ ?
    –हाम्रो राजनीति पिँधबिनाको लोटा जस्तै भइरहेको छ । विदेश नीति नेता पिच्छे फरक छ । दुई छिमेकी देशको सम्बन्धबारे खुल्ला बहस गरेर सबै बौद्धिक जगतसँग छलफल हुनु जरुरी छ ।

    पछिल्लो माओवादी कांग्रेस गठबन्धनपछि माओवादीको वर्ग समन्वय भयो भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ ?
    –यसलाई यसरी नकारात्मक रुपमा लिनु हुँदैन । कांग्रेस हिजोको शान्ति प्रक्रियाको एउटा प्रमुख शक्ति भएकाले उसलाई बाइपास गरेर हिंड्ने भन्ने कुरा जायज होइन । शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लैजान हिजोको मुख्यपात्र कांग्रेसलाई नलगी अघि बढ्न नसकिने भएकाले नै यो गठबन्धन बनेको हो । यसमा एमाले छुटेको छ, उसलाई पनि जोड्नु पर्छ । एमालेलाई बाहिर राखेर संविधान कार्यान्वयन हुन सक्दैन । कुनै पार्टी वर्ग नहेरी देशको आवश्यकता हेरेर अघि बढेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

    मधेस नयाँ संविधानमा निरन्तर असन्तुष्ट छ, यसको समाधानको सूत्र के होला ?
    –संविधानमा कसले के पायो, के पाएन भनेर समीक्षा गर्नुपर्ने बेला भएको छ । कर्णाली र सुदूरपश्चिका खस÷आर्यन राज्य विस्तारदेखि उत्पीडन र विद्रोहमै छ । तर , काठमाडौंमा बसेका कैयौं जनजाति मधेसी नेतादेखि हाम्रै पार्टीका वरिष्ठ नेताले कर्णाली र सुदूरपश्चिमा खस आर्यलाई शासक देखिरहेका छन् । हामीमाथि पनि उत्पीडन भइरहेको छ ।
    हाम्रोबारेमा अध्ययन नगरी हचुवाको भरमा संविधान बनाइएको   छ । राजदरबारसंग सुदूर पश्चिमका केही परिवार जोडिए भनेर समग्रलाई शासकका रुपमा बुझिएको छ । यो अन्याय हो । जहाँनिर उत्पीडन छ, त्यसलाई छुट्ट्याउन जरुरी छ । सुदूर पश्चिम र कर्णालीका जनतामाथि अपमान भएपनि कोही मधेसी नेता बोलेका छैनन् । उल्टै हामीलाई नै शासक देखिरहेका छन् । थारु पनि हाम्रो कुरा नगरेर हामीलाई नै संघीयता र जनजाति विरोधी देखाइरहेका छन् । संविधानले कुन क्षेत्रका जनतालाई कति अधिकार दियो भनेर मधेस कुरा उठिरहँदा समीक्षा गर्न आवश्यक भएको छ ।

    क्यान्टोनमेन्ट भ्रष्टाचार प्रकरण फेरि ब्युँतिएको छ, के भन्नु हुन्छ ?
    –क्यान्टोनमेन्टको कुरा विगतमै पार्टीभित्र उठेको हो । यसबारे छानबिन गर्न आयोग मात्रै बनेको थिएन, त्यसले रिपोर्ट पनि बुझाएको थियो । तर, रिपोर्टमा के आयो, हामीलाई जानकारी गराइएन । फेरि यो प्रकरण बाहिर आएको छ । तर मेरो जिम्मेवारीको क्षेत्र यो नभएकाले म यो कुरा बुझ्दिनँ । (विक्ली नेपाल डटकमबाट)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.