
धर्मराज नेपाल संयोजक जेष्ठ नागरिक परिवार
३० वर्ष शिक्षण पेसामा संलग्न भएर निवृत भएपछि पनि निरन्तर सामाजिक कार्यमा सक्रिय देखिनुहुन्छ । साच्चि आजभोली के गर्दै हुनुहुन्छ ?
–सामाजिक क्षेत्रमा काम गरेको अनुभव हुँदा, सामाजिक प्राणी भएको नाताले सामाजिक कार्यमा जुट्न स्वाभाविक ठान्दछु । त्यसैले हिजोआज म दिपावलीको शुभकामना दिँदै जेष्ठ नागरिकको साथ बुटवल देखि बेलहिया सम्म देउसी भैलो खेली आपसमा खुशी साटासाट गरेको छु । जातिय संस्कृतिको रक्षार्थ स्थानीय कलाकारको प्रोत्साहनार्थ स्थानीय कलाकारको साथमा अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्गजा र रुपन्देहीका जेष्ठ नागरिकको साथ सहयोगमा देउसी भैलो कार्यक्रम सञ्चालन गरिरहेको छु ।
यहा“ले आफ्नै उमेर समूहका र सो भन्दा माथिल्लो उमेरका जेष्ठ नागरिक केन्द्रित गतिविधी गर्नुको उद्देश्य के होला ?
–श्रेष्ठ र जेष्ठ नागरिकलाई जीवनकालमै सम्मान गरौँ । निधन पश्चात गरिएको सम्मान अपूर्ण रहन्छ । त्यसैले बदलिँदो समयचक्रमा अन्तर पुस्ताको अन्तर द्वन्द्वबाट वृद्धवृद्धा एक्लोपनको अनुभव गरिरहेका हुन्छन् । आफ्नो उमेर समूहका साथीसँग सजिलै घुलमिल भई रम्न सक्ने हुँदा तिनीहरुलाई एकत्रित गरी सम्मानपूर्वक व्यवहार गर्न सांस्कृतिक कार्यक्रममा समावेश गरी मनोरञ्जन प्रदान गर्ने ध्येय रहेको छ । यसरी ९० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्दा समाज नै आनन्दमय बन्दछ ।
अहिले सम्म के के गर्नुभयो ?
–अगाडीका कुरालाई नजोडिकन २०७३ साल वैशाख ८ गते बुद्ध पूर्णिमाको दिनमा जेष्ठ नागरिक ९ जनालाई प्रथम लुम्बिनी भ्रमण गराइयो । दोस्रो भ्रमण आषाढ १५ गते गरियो । धान रोपेर लुम्बिनीमै धान दिवस मनाउँदै दही चिउरा खाने खुवाउने कार्य भयो । त्यस्तै श्रावण १ गते तेस्रो समूह भ्रमण गराई लुम्बिनीमा खिर खुवाउने कार्य भयो । त्यस्तै आश्विन २ गते चौथो भ्रमण भयो, पुडी र कोसा खाने व्यवस्था थियो । पाँचौ भ्रमण कात्तिक ६ गते जेष्ठ नागरिकको टोली ३५ जनाद्वारा लुम्बिनी कोरिडोरको भ्रमण सम्पन्न भयो । त्यस्तै श्रावण ४ गते गुरु पूर्णिमामा व्यास पूजा गरी पूर्व शिक्षकलाई र जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरियो । बाल दिवसमा बाल महोत्सव गरियो । तीजमा महिला दिदीबहिनीहरुलाई दर खुवाउने कार्यका साथै दुर्गा पुजामा दिवा सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । स्मरण रहोस भ्रमण कार्यक्रम निशुल्क संचालन भएको छ ।
यहांहरुको अभियानमा अहिले सम्म को कति संख्यामा जोडिनुभयो ?
–लुम्बिनी भ्रमणमा १०८ जना जेष्ठ नागरिकलाई निशुल्क भ्रमण गराउने कार्यमा अहिले सम्मा ८० जना सहभागी भइसक्नुभएको छ । अन्य कार्यक्रममा सहभागी समेत गरी ६ सय १० रहेको छ ।
एउटा कुरो सोधौं, आफ्नै छोराछोरीले वृद्ध बुबा आमालाई वृद्धाश्रममा लगेर थन्काइरहेको वर्तमान परिवेशमा यहा“ले ती वृद्धको सम्मानमा यस्तो कार्यक्रम चलाइरहँदा कस्तो अनुभूति भएको छ ?
–जीवन चक्रानुसार ज्ञानविज्ञानको अनुसन्धान, आविष्कार र उपभोग अगाडि बढिरहेको छ । मैले यो एउटा सम्बन्धित एवं अन्योन्याश्रित सामाजिक पक्षको मात्र काम गरिरहेको छु । सुखदुःख दुवै पक्ष समेटिएर जीवन अगाडि बढ्दछ । त्यसैले धेरै महत्वाकांक्षी नबनी सबै आदरणीय दाजु दिदी र भैरहवाबासीको साथ सहयोगमा उहाँहरुको बिचोबिच माझमा उभिएर उहाँहरुलाई हेर्दा र सोध्दा प्रसन्नताका साथ आनन्द एवं खुसी प्रकट गर्नुका साथै आपसमा चिनजान गर्न पाइने, सुखदुख साटासाट गर्न पाइने र आफुले नबुझेका कुरा जान्न सिक्न पाइने भनाई भ्रमणकर्ताको भएकोेले ममा केही शक्ति, जोश, जाँगर बढेको एवं थपिएको महसुस भएको छ ।
आफ्ना सन्तानले नगरेपनि तपाईको पहलमा धार्मिक सामाजिक गतिविधीमा वृद्धाहरुलाई सहभागी गराउँदा सहभागीको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
–यहाँ मैले भ्रमण लगायत विविध कार्यक्रम संचालन गरिरहँदा भ्रमणकर्ताहरु साह्रै लाभान्वित भएको कुरा स्वयम् व्याख्या गर्दै प्रसन्न मुद्रामा कार्यक्रम आफूले आशा गरेको भन्दा राम्रो र फलदायी, पृथक एवं उत्कृष्ट भएको कुरा धेरैले बताउनुभएको छ । केहीले यस विषयमा आफ्ना छोराछोरीले नै घुमाउँछन् नी भन्दा मैले सामूहिक भ्रमण पारिवारिक भ्रमणभन्दा विशेष आनन्दमय हुने व्यहोरा बताउँदा पछि उहाँहरुले पनि सकारात्मक रुपमा लिनुभयो । यसरी जेष्ठ नागरिकहरुलाई लुम्बिनी भ्रमण गराइरहँदा धेरै जनाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि अन्य स्थानहरुमा भ्रमण गराउने प्रेरणा जागोस् र हामीलाई अवसर मिलोस् भन्दै हौसला प्रदान गर्नुभयो ।
यहा“को भावी योजना के छ ?
–मैले वार्षिक योजना अनुसार कार्यक्रम तालिका बनाएको छु । केही छुटेका र नयाँ सोचमा बनेका र नेपाल सरकारबाट हाल ल्याइएका कार्यक्रमलाई संशोधनको रुपमा समावेश गर्दै आएको छु । कात्तिक÷मंसिरको हाल तत्कालको कार्यक्रम यहाँ उल्लेख गर्न चाहन्छु । मैले कार्यक्रम सञ्चालन २०७३÷०१÷०८ बुद्ध पूर्णिमाको दिनबाट लुम्बिनी दर्शन, अध्ययन र अवलोकन भ्रमण सुरु गरेको हुँ । पछि हाल यसलाई बढाएर लुम्बिनी करिडोर (बुद्ध सर्किट) को सम्पूर्ण स्थान विशेषको दर्शन, अधययन र अवलोकनमा पूर्णता दिइएको छ । यसको साथ हाल देउसी भैलो कार्यक्रम सञ्चालित छ । त्यस्तै मंसिरको निःशुल्क भ्रमणको तयारी गर्दैछु ।
साथै मंसिर ४ गते शौचालय दिवस भएको हुँदा कुनै निश्चित स्थान र सार्वजनिक शौचालयको सरसफाईमा जुट्ने योजना छ । मेरो कार्यक्रम संचालन भएको ठीक ६ महिना भयो यो मेरो अनुसन्धान र विश्लेषण पिरियड सम्झेको छु । शुरुदेखी अहिले सम्म पुनरावलोकन गर्दा अगाडि बढ्न सक्ने आत्मशक्ति प्राप्त भएको छ । भैरहवाको वृद्धाश्रममा गई सम्पूर्ण पक्ष बुझी त्यहाँ केही सहयोग पुग्ने कार्य गर्न ईच्छुक छुु । त्यस्तै विविध कार्यको अनुभवबाट अब केही आत्मविश्वासका साथ भन्दै गर्दा तत्काल संस्था दर्ता गर्ने पूर्व तयारीमा छु ।
प्रसंग बदलौं यहां ३ दशक जत्ति शिक्षण पेशामा आवद्ध हुनुभयो त्यसबेलाको अनुभूति सूनाईदिनस् न ?
–म शिक्षण पेशालाई सामाजिक क्षेत्रकै पेशा मान्दछु । ५ वर्ष मात्र घरनजिकको विद्यालयमा सेवा गरेँ । पछि २२ कोष पर पूर्वी पाल्पाको बालहित माविमा सरुवा भयो । करारमा कार्यालय सहायक र पियनको निजी स्रोतबाट तलब दिनुपर्ने हुँदा आर्थिक समस्या थेग्नुपथ्र्यो । त्यहाँ विद्यालयको भवन जति कमजोर थियो शिक्षाको जग झनै कमजोर थियो । भवन, फर्निचरको अभाव आदिले झन् बढी दुःखको अनुभव हुन्थ्यो । मैले विद्यालयलाई स्थायी स्वीकृति उपलब्ध गराउन सहयोग गरेँ । पाल्पा जिल्लामै पहिलो एसएलसी रिजल्ट ८० प्रतिशत बालहित मावि सहलकोट र सेन मावि तानसेनले ल्याएको थियो । विरेन्द्र शिल्ड प्रतियोगिता, प्रशासनिक पठनपाठन लगायत भौतिक सामग्री, शैक्षिक सामग्रीको आदिको प्रबन्ध लगायत गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि मरिमेट्नुपर्दाका सुख, दुःख दुवै पक्षको अनुभूति महसुस हुन्छ । त्यसैगरी अमृत पब्लिक माविको स्थायी स्वीकृति मेरै प्रयासमा मेरै कार्यकालमा भएको थियो ।
अधिकांश मान्छेहरु निवृत जिवन सुखसयलका साथ घरपरिवारमै बिताउन चाहन्छन् यहा“ त यो उमेरमा पनि निकै दौडधुपमा देखिनुहुन्छ ?
–त्यस्तै त्यस्तै हो, मलाई यो उमेरमा पनि किन दौडधुप मेरा दौतरीहरु भन्ने गर्छन्् तर मलाई सामाजिक सेवामा लाग्ने नशा लागिसक्यो । त्यसैले समाजमा रहेका विभिन्न व्यक्ति विशेष अपांग, स्वास्थ्य स्थिति कमजोर भएका, वृद्धवृद्धा आदिलाई भेटघाट गरी सुख, दुःख साटासाट गरी पारिवारिक सहानुभूति प्रकट गर्दै घुम्छु ।
यहाँको भोगाई र बुझाईमा जीवन के हो जस्तो लाग्छ ?
–ज्यादै राम्रो तर जटिल अनि सदावहार प्रश्न राख्नुभएकोमा तपाई लगायत लुम्बिनीखबर परिवारलाई धन्यवाद । जीवन र त्यससँग सम्बन्धित पक्षको विज्ञ एवं विश्लेषकले भिन्न भिन्न तर्क प्रस्तुत गर्दै आएका छन् तर मेरो भनाईमा कोही सहमत होलान् त कोही असहमत आफ्नो ठाउँमा छ । तर मेरो भोगाई जीवन सुख, दुःखको संगम हो । आफै गहिरिएर खोतल्नुस्, व्याख्या गर्नुस् । बुझाईमा पनि विविध धारणा र तर्क छ । तर मैले समुच्च एवं समग्रमा भन्नुपर्दा जीवन एक साहसिक यात्रा एवं अवसर पनि हो । हो कि होईन दार्शनिक बनेर बुझ्ने प्रयास गर्नुस् । यसमा सबै सहमत हुनुहुन्छ ।
आफ्ना घरपरिवारमा भएका वृद्धा बुबा आमाको वास्तविक सम्मानमा सन्ततिले के गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?
–वृद्धाश्रम खोलेर होइन घरलाई नै अवस्था अनुसार परिणत गरौँ । घरलाई नै अनाथालयमा परिणत गरौँ । कुन वृद्धाश्रमले थोरै पैसामा मातापितालाई आश्रय दिन्छ भन्दै खोज्दै नजाऔँ । सोचौँ यहाँ भन्दा सस्तो रकममा छिमेकी मुलुकले आश्रय दिन्छ भने हामीलाई हाम्रा सन्ततिले त्यतै धकेल्छन् त्यो बेला हाम्रो स्थिती र देशको दशा कस्तो होला सोचौँ । वृद्ध वृद्धाको मनोवैज्ञानिक भावना बुझी सहयोग गरौँ । दिनदिनै पारिवारिक दुखसुख बाडौँ, खानपान, गासबास, अध्ययन, मनोरञ्जन आदि विविध पक्षमा पूर्णरुपमा ध्यान दिऔँ । साथै विविध कार्यक्रम, भ्रमण, पूजा पाठ सत्संग लगायत उमेर अवस्था अनुसार जेष्ठ र श्रेष्ठलाई उपहारद्वारा सम्मान गर्दै जाउँ ।
तपाई जस्ता अनुभवले खारिएका व्यक्तिहरुले निवृत पछिको जीवन कसरी बिताउनुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?
–मानिसले समयलाई प्राथमिकता दिनुपर्दछ तबमात्र काम गर्न सकिन्छ । समय खेर फाल्यौँ भने हामी लक्ष्यमा पुग्न सक्दैनौँ । हाम्रा सन्तति पनि पुग्न सक्दैनन् । अतः क्रियाशील सदैव रहनुपर्दछ । कुनै सामुदायिक काम समातेर होस् या सज्जनहरुको संगत गरेर होस् समयलाई सदुपयोग गर्नुपर्दछ । हामी केही दौडधुप गर्न सक्ने अवस्थामा छौँ भने आफ्नो काम छिटो छरितो रुपमा सम्पन्न गरी अरुको लागि या सामाजिक कामको लागि प्रयोग गर्न अनुरोध गर्दछु ।
अन्त्यमा लुम्बिनीखबर मार्फत के भन्न चाहनुहुन्छ ?
–देशको लागि सोचौँ, सभ्य नागरिक बनौँ, श्रेष्ठ र जेष्ठको सम्मान गरौँ । प्रेम र सद्भाव जतिलाई दिएपनि पुग्छ सकिँदैन । पाठक वर्गलाई धन्यवाद ।