logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    राजनीतिक हस्तक्षेपबाट मुक्त, स्वतन्त्र, दक्ष, व्यवसायीक र जिम्मेवार कर्मचारी प्रशासन आजको आवश्यकता हो ।


    ३० कार्तिक २०७३ , मंगलबार

    राजनीतिक हस्तक्षेपबाट मुक्त, स्वतन्त्र, दक्ष, व्यवसायीक र जिम्मेवार कर्मचारी प्रशासन आजको आवश्यकता हो ।
    shobha-kant-nepal

    सोभाकान्त नेपाल (अध्यक्ष,  निजामति टेड युनियन, रुपन्देही)

     

     

     

     

    निजामती टेड युनियन नेपालले कर्मचारीको पक्षमा के काम गर्दछ ?
    –हेर्नुस हामीले निजामती सेवा ऐन कानुन नीति नियम विधि र पद्दतिका आधारमा संचालन होस् भन्ने चाहान्छौँ ।यसरी कर्मचारी तन्त्रलाइ विधि र पद्दतिमा संचालन गरियो भने व्यवस्थापन प्रति तल्ला तहका कर्मचारीहरूका गुनासा पनि खासै रहँदैनन् । हामी कर्मचारीका हक हितका मात्र कुरा नगरी जन चाहाना अनुकुलको सेवा प्रवाह कसरी गर्न सकिएला भन्ने सन्दर्भमा पनि हाम्रो त्यतिकै चिन्तित छाँै र यस तर्फ पनि हाम्रो पहल कद्मि जारी रहको छ । वास्तवमा कर्मचारीहरूबीच सेवा सुविधा र अवसरमा समानता होस् । कुनै कर्मचारीले निजामति सेवा भित्र आफु अन्यायमा परेको अनुभुति गर्न नपरोप भन्ने हाम्रो चाहाना हो । साथै हामीले एकतर्फि रूपमा सेवा सुविधाका कुरा मात्र नउठाइ कर्मचारीहरूलाई अनुशासित र जिम्मेवार ढंगले नागरिकको सेवामा लाग्न पनि अनुरोध गर्ने गरेका छौँ ।

    नेपालमा कर्मचारी क्षेत्रमा धेरै विकृतिहरु मौलाएको भन्ने आरोपहरु जनस्तरबाट आउने गर्दछ कारण के होला ?
    –सरूवा बढुवा सिस्टममा आधारित छैन । कर्मचारीहरूका आचरण र व्यवाहार सन्तोषजनक छैन । चिनजान र भनसुनका भरमा कामलिनु पर्ने अवस्था छ । कतिपय कार्यालमा त बिचौलीया मार्फत सेवा लिनु पर्ने अवस्था यद्यपी कायम छ । कर्मचारीका क्षेत्रमा यस्ता तमाम विकृतिहरू छन् नभएका होइनन ।
    तर यसमा निजामती सेवा र निजामती कर्मचारीलाईमात्र जिम्मेवार बनाउन मिल्दैन । देशको राजनितक प्रणाली र सिंगो समाजको प्रतिबिम्ब निजामति सेवामा देखिने हो । कर्मचारीहरू पनि यही समाजका सदस्य हुन् र कर्मचारीका गतिविधिलाई यही समाजले नै पक्षपोषण गरिरहेको छ । यस्ता विकृतिहरूको अन्त्यको लागि शुरूवात त राज्यस्तरबाट नै गर्नुपर्छ तर नागरीक समाजको खबरदारी पनि त्यतिकै जरूरी छ ।

    देशको स्थायी संयन्त्रको रुपमा रहेको कर्मचारीतन्त्रका कारण नेपालको राजनितितन्त्र समेत पिछलगु भएको भन्छन्नी ?
    –राज्य संचालनका लागि मुख्य जिम्मेवार निकाय भनेको राजनीतिक प्रणाली नै हो । कर्मचारीतन्त्रले त राजनीतिक दिशानिर्देशनमा काम गर्ने हो । तर हाम्रो र्दुभाग्य स्पष्ट भिजन र कार्ययोजनाका साथ राष्ट्र निर्माणमा लाग्नु पर्ने राजनीतिक दलहरू कर्मचारीको सरूवा बढुवा गरेर दुइचार पैसा कमाउनमा नै अलमलिए भने कर्मचारीहरू पनि सेवा प्रवाह भन्दा नेताको चाकडी गरेर व्यक्तिगत लाभ लिन तल्लिन रहे । यो नै अहिलेको वास्तविकता हो । राजनीति र प्रशासन दुवै देश र जनताको पक्षमा नभै एक अर्काको व्यक्तिगत लाभको लागि प्रयोग भएका छन् ।

    कमिशनतन्त्र र घुसतन्त्रमा निजामती कर्मचारीहरु लुटपुटिएको आरोप लाग्दै गर्दा नयाँ शक्ति नेपाल पार्टीको पेशागत संगठन निजामती टेड युनियन नेपालले कर्मचारी वृतमा कस्तो विकास गर्नसक्ला ?
    –बाहिरबाट सतही रूपमा हेर्दा तपाइले भने जस्तै समग्र कर्मचारी तन्त्र कमिशन घुस र अतिरिक्त लाभमा लुटपुटीएको जस्तो देखिन्छ । तर वास्तविकता त्यो होइन । असी हजार कर्मचारी मध्ये पाँच प्रतिशत कर्मचारी जुन राजनीतिक शक्ति केन्द्रका नजिक छन्, उनीहरूले राजनितक पहूँचका भरमा कमाउ अड्डामा सरूवा हुने , गैरकानुनी ढंगले लाभ आर्जन गर्ने अनि राजनीतिक नेतृत्व र समग्र निजामति सेवालाई समेत बदनाम बनाउने कार्य गरिरहेका छन् ।
    यस्ता कर्मचारीलाइ व्यक्तिगत फाइदाको लागि राजनीतिक नेतृत्वले,कर्मचारी व्यवस्थापनले समेत संरक्षण गरेको छ । राजश्व, यातायत मालपोत बैदेशिक रोजगार र विकास निर्माणासँग सम्बन्धित कार्यालय बाहेक हुलाक सेवा जस्ता अन्य कार्यालय र दुर दराजमा रहेर सेवा गिररहेका निजामती कर्मचारीको ठूलो तप्का यस्ता गतिविधिबाट टाढै छ ।
    हामी निजामती ट्रेड युनियन नेपालले बहुसंख्यक इमान्दार चरित्रवान र जिम्मेवार कर्मचारीहरूलाइ संगठित सीमित कर्मचारीहरूले समग्र निजामती सेवामा लगाएको भ्रष्ट्राचारको कलंक पखाल्ने अभियानमा जुटेका छौ। हामीले भने बमोजिम निजामती सेवालाइ नियम कानून अनुसार संचालन गर्ने , सरूवा वढुवालाइ अनुमान योग्य र प्रणालीबद्ध गराउन र दण्ड पुरस्कारको ब्यवस्था कडाईका साथ लागु गर्न सकियो भने यस्ता गतिविधि बिस्तारै निरूत्साहित हँुदै जानेछन् ।

    कर्मचारी युनियनहरुले वैज्ञानिक रुपमा माथिल्ला दर्जाको र तल्लो दर्जाको कर्मचारीको तलव मापन गर्न नसकेको आरोप लाग्ने गरेको छ नि ?
    –हेर्नुस माथिल्ला तहका कर्मचारी र तल्ला तहका कर्मचारी वीचको तलवको अनुपात यति नै हुनु पर्छ भन्ने सर्व स्विकार्य सिद्धान्त हाल सम्म प्रतिपादन भएको देखिँदैन । नेपालमा मुख्य सचिव र कार्यालय सहयोगी बीच तलबको अनुपात लग्भग १ः३ रहेको छ भने भारतमा यस्तो अनुपात १ः९ रहेको पाइन्छ । हामी कर्मचारीहरूका आधारभुत आवश्यकता परिपूर्ति हुने गरी र समाज अनुसार न्युनतम स्टाण्डर्डको जिवन जिउन पुग्ने गरी तलब स्केल निर्धारण गरिनु पर्छ भन्ने मान्यतामा रहेका छौँ । देशको आर्थिक अवस्था मुल्य वृद्धि र राजस्व परिचालनको सम्भाव्यता हेरेर कर्मचारीहरूलाइ न्याय हुने गरी तलब प्रदान गरिनु पर्छ भन्ने हाम्रो धारणा हो ।

    निजामती कर्मचारी नातावाद र कृपावादको भरमा सरुवा र वढुवा हुनेहरुका कारण धेरै कर्मचारी पीडित हुने गरेका गुनासाहरु आउने गर्दछ । कर्मचारी युनियनहरु किन आफ्ना सदस्यहरुमा समेत समान व्यवहार देखाउन नसकेका होलान ?
    –निजामती बृतमा कार्यरत ट्रेड युनियनहरू व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठेर कर्मचारीका हक हितका पक्षमा दरिलो ढंगले उभिन नसकेका कारण धेरै कर्मचारीहरू पीडित हुनु परेको छ । यिनै पीडित कर्मचारीहरूको आवाजलाइ मुखरीत गर्न र सरूवा बढुवा लगायतका कर्मचारी प्रशासन सम्बद्ध समग्र क्रियाकलापलाइ गुनासो रहित बनाउन हामीले नयाँ सीराबाट ट्रेड युनियनलाइ संचालन गर्ने नयाँ थालनी गरेका हौँ ।

    यहाँले लामो समय देखी कर्मचारीहरुको नेतृत्वदायी भुमिकामा रहेर काम गर्नुभएको छ । अब नेपालको साँच्चै विकास गर्ने हो भने कर्मचारीतन्त्र कस्तो हुनुपर्दछ ?
    –हेर्नुस यहाँ राजनीतिक पार्टीले कर्मचारीलाई र कर्मचारीले राजनीतिक दललाई दोषी देखाएर आफ्ना गल्तिलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन् ।अब लामो समय यसरी चल्ने वाला छैन । राजनीतिक हस्तक्षेपबाट मुक्त, स्वतन्त्र, दक्ष, व्यवसायीक र जिम्मेवार कर्मचारी प्रशासन आजको आवश्यकता हो । कर्मचारीले राजनीतिमा र राजनीतिक नेतृत्वले प्रशासनमा बढी चासो देखाएकै कारण अहिलेको अवस्था सृजना भएको हो । विधिको शासन र कानुनको परिपालनामा निर्मम भएर लाग्न सकिएन भने हामीले फेरी पनि कर्मचारीतन्त्रमा सुधार ल्याउन सक्दैनौँ । अहिलेको समस्या भनेको जिम्मेवारी बोध नहुनु नै हो । तसर्थ आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध कर्मचारीतन्त्र निर्माण गर्न सकियो भने जन अपेक्षा अनुरूपका विकास क्रियाकलापहरू संचालन गर्न सकिन्छ जस्तो लाग्छ ।

    तत्कालीन एनेकपा माओवादीको कर्मचारी संगठनको केन्द्रिय तहमा समेत रहेर यहाँले काम गर्नुभयो ? फेरी यहाँ नयाँ शक्ति नेपालको पेशागत संगठनमा जानुको कारण के होला ?
    –पछिल्लो समय देशमा ठूला ठूला राजनीतिक परिवर्तनहरू भए । ती राजनितक परिवर्तनलाइ संस्थागत गर्ने र त्यस्ता राजनीतिक परिवर्तनको लाभ नागरीक स्तरसम्म पु¥याउने संयन्त्र भनेको कर्मचारी प्रशासन हो । कर्मचारी प्रशासनको सोच शैली व्यवहार र कार्यविधिमा परिवर्तन आउन सकेन । कर्मचारी प्रशासनले जन अपेक्षा अनुरूप राज्य पुर्नसंरचनाको अभियानमा दरिलो साथ र सहयोग गर्न सकेन ।
    तत्कालिन परिवर्तनकारी शक्ति हुनुको नाताले माओवादी निकट कर्मचारी संगठनले प्रशासनिक पुन संरचनाको नेतृत्व लिनुपर्छ भन्ने मेरो मान्यता थियो । तर त्यसो हुन सकेन । राष्ट्रिय कर्मचारी संगठनले पनि आफुलाइ अन्य पुरातनबादि ट्रेड युनियन भन्दा फरक परिचय दिलाउन सकेन । तसर्थ पुरातन शैलीको नेपालको निजामती प्रशासनलाइ जन अपेक्षा अनुरूपको प्रशासनिक व्यवस्थामा रूपान्तर गर्न, भष्ट्राचार जन्य प्रशासनिक विकृति प्रति शून्य सहनशीलताको नीति अख्तियार गरि स्वच्छ, निष्पक्ष र कुशल निजामती सेवा निमार्णको अभियानमा जुटने उद्देश्यका साथ निजामति ट्रेड युनियन नेपालमा आबद्ध भएको छु ।

     राज्यको तलब तथा सेवा सुविधा लिने कर्मचारीले राजनीति गर्नु कत्तिको जायज होला ?
    –कर्मचारी भनेको समाजको शिक्षित वर्ग हो । स्वभाबैले कर्मचारीको पनि आफ्नो राजनीतिक आस्था विचारधारा रहन्छ नै । तर निजामती सेवामा आबद्ध भैसके पछि कर्मचारीले कार्य सम्पादनको क्रममा आफ्नो आस्था प्रकट गर्नु सान्दर्भिक मानिदैन । सेवाग्राहीलाइ निष्पक्षता र तटस्थता पूर्वक सेवा प्रवाह गर्नु निजामती कर्मचारीको कर्तव्य र दायित्व दुबै हो । आफ्नो पेशागत मर्यादा कायम राख्दै सेवा प्रवाहमा प्रभावकारीता र कर्मचारिका हक हितको रक्षाको लागि संगठित प्रयास गर्नुलाइ अन्यथा मान्नु हँुदैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.