logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    शिक्षा व्यवहारिक तथा प्राविधिक हुनुपर्दछ ः आचार्य


    २३ पौस २०७३ , शनिबार

    शिक्षा व्यवहारिक तथा प्राविधिक हुनुपर्दछ ः आचार्य

    शिक्षा क्षेत्रमा संलग्न हरिप्रसाद आचार्य सिद्धार्थनगर ८ विपीपथका स्थायी बासिन्दा हुन् । काशी नोबल एकेडेमीका संस्थापक तथा शिक्षक एवं  विभिन्न क्याम्पसहरुमा प्राध्यापनरत आचार्य विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिय छन्  । समग्र भैरहवा क्षेत्रको शिक्षाको विकास र अवस्थाका बारेमा लुम्बिनीखबरको साताको संवादको लागि गरिएको कुराकानी ः

    hari-acharya-1

     

    कलिला बालबालिकाहरुको मानसिक विकासका लागि  शिक्षकले कस्तो भूमिका खेल्नुपर्दछ ?
    –सर्वप्रथम त कलिला बालबालिकाहरुको मानसिक तहसम्म पुग्न सक्नुपर्छ र त्यसपछि उनीहरुको सही क्षमताको पहिचान गरेर त्यसको विकासका लागि शिक्षकले आफ्नो दक्षता, तालिम र अनुभवको माध्यमबाट उनीहरुलाई किताबी ज्ञानभन्दा पनि त्यसलाई कसरी जीवनमा उतार गर्न सकिन्छ भन्ने कुरामा जोड दिँदै आफ्नो कार्य गर्नुपर्दछ । सबैभन्दा पहिले विद्यार्थीलाई परिवर्तन गराउन स्वयम् परिवर्तन भएर उदाहरण बन्न सक्नुपर्दछ ।

    शिक्षक युवापिढी र समाजका लागि अमूल्य मानवस्रोत भनिन्छ, किन होला ?
    –युवा भनेका राष्ट्रका बलिया पूर्वाधार र परिवर्तनका संवाहक हुन् । समाजको समुन्नत विकास र परिवर्तनका लागि शिक्षकले ठूलो भूमिका निर्वाह गर्न सक्दछन् । शिक्षकमा युवा तथा समाजलाई विकासतर्फ अग्रसर गर्न र आवश्यक परेका बेला नेतृत्वदायी भूमिका निर्वाह गर्ने ईतिहास हामीसामु छर्लङ्ग छ ।
    समाजका हरेक पक्षहरुलाई शिक्षकले स्पष्ट रुपमा अध्ययन गरेका हुन्छन् र सोही कुरालाई हरेक वर्ग, जाति तथा समुदायलाई निष्पक्ष तरिकाबाट हुबहु युवासमक्ष छर्लङ्ग प्रस्तुत गर्न सक्छन् । शिक्षक प्रेरणाका स्रोत हुन् र उनीहरुबाट नै समाज र युवाले आफूलाई दिशाबोध गर्न सक्छन् ।

    योग्य, सक्षम र परिश्रमी शिक्षक बिनाको समाज कल्पना गर्न कठीन छ भन्छन् विद्वानहरु, यहाँको विचारमा ?
    –योग्यता बिनाको मानिस विष बिनाको सर्प जस्तो हुन्छ । आजको एक्काईसौँ शताब्दीमा विश्वमा जुन गतिले विज्ञान तथा प्रविधिको विकास भइरहेको छ, त्यसलाई हेर्दा एउटा शिक्षकले आफूलाई सोही अनुरुप रुपान्तरण गर्न सकेमा र त्यो ज्ञान समाजमा आजका विद्यार्थीहरु समक्ष बताउन र सिकाउन सकेमा मात्र हामीले आउँदो पिढीलाई एउटा उचाईमा पु¥याउन सकिन्छ । तसर्थ योग्य तथा सक्षम शिक्षक भनेकै राम्रो समाजको परिकल्पना गर्नु हो ।

    सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको शैक्षिक स्तरमा किन फरक आएको होला ?
    –यद्यपी सामुदायिक विद्यालय भौतिक रुपमा सम्पन्न भएतापनि व्यवस्थित तरिकाले व्यवस्थापन गर्न नसक्नु, विद्यार्थीको चौतर्फी विकासमा चासो नदेखाउनु, शैक्षिक क्रियाकलापमा  विविधता नल्याउनु, विद्यार्थीलाई उचित संख्यामा कक्षाकोठामा नराख्नु, हासिल गरेका तालिम विद्यार्थी समक्ष प्रयोगमा नल्याउनु, उचित वातावरण नहुनु लगायतका कारणले गर्दा यो अभिभारा निजी विद्यालयले बोक्नुपरेको हो जस्तो लाग्छ । विद्यार्थीको सर्वाङ्गीण विकास र शिक्षामा आधुनिकीकरण र चुस्त दुरुस्त व्यवस्थापनकै कारण निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको शैक्षिक स्तर राम्रो र स्तरीय हुन गएको हो ।

    12413999_915159495198382_792811368_o
    नयाँ पिढीमा विद्यार्थीहरुले पुस्तक अध्ययनमा कम ध्यान दिनुको कारण के हो ?
    –पहिले पहिले अध्ययनको स्रोत भनेको या त शिक्षक या त पुस्तक मात्र थियो भने अहिले विभिन्न स्रोतहरु जस्तै इन्टरनेट, ईलाईब्रेरी, टेलिभिजन  लगायत अन्य विभिन्न वैज्ञानिक आविष्कार र माध्यमहरु भएको कारणले गर्दा पनि कुनै एउटा पुस्तकमा मात्र सीमित नभई जहाँबाट पनि ज्ञानका कुरा लिन सकिने भएको हुनाले नयाँ पिढीमा पुस्तक केन्द्रित अध्ययन नभएको जस्तो लाग्छ ।

    समाज परिवर्तन सँगै शैक्षिक क्षेत्रमा पनि परिवर्तन हुनुपर्ने हो, तर खासै परिवर्तन हुन सकेको देखिँदैन नी ?
    –परिवर्तन आफैमा सहज विषय नै होइन । यसका लागि अथक प्रयास र राष्ट्रिय स्तरबाटै नीति बनाएर लागू नगर्दा सम्म सानो स्तरबाट गरिने प्रयासले खासै सफलता प्राप्त गर्न सक्दैन । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु आवश्यक देखिन्छ ।
    यसो गरेमा मात्र परिवर्तन सम्भव छ । जसरी एउटा बिरुवा लगाउँदैमा आफै हुर्किदैन यदि त्यसलाई आवश्यक परेका बेला मलजल गरिएन भने । त्यसरी नै समय सँगसँगै शिक्षामा आवश्यक परिमार्जन गर्दै लैजानु जरुरी देखिन्छ, जुन भएको पाईदैन ।  त्यसैले गर्दा पनि शिक्षामा खासै परिवर्तन हुन नसकेको जस्तो लाग्छ ।

    नेपालको शिक्षा प्राविधिक र गुणस्तरीय भन्दा पनि अव्यवहारिक भएको गुनासाहरु आउने गर्दछन् । यहाँको विचारमा नेपालको शिक्षा कस्तो हुनुपर्दछ ?
    –नेपालको शिक्षा प्राविधिक तवरबाट कमजोर देखिएतापनि यसको गुणस्तरीयतामा प्रश्नचिन्ह लगाउने खास ठाउँ देखिदैन । अन्र्तराष्ट्रिय स्तरका विश्वविद्यालयहरुमा यहाँका विद्यार्थीहरु सफलता प्राप्त गर्न सफल भएका उदाहरण हामीसामु प्रशस्त छन् ।
    यसो हुँदाहुँदै पनि हामीले प्राविधिक रुपमा  दक्ष जनशक्ति उत्पादन गर्न नसकेकै कारणले गर्दा यहाँ उद्योग तथा कलकारखानाहरुमा आजका मितिमा पनि योग्य मानव स्रोतहरु विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हुँदा अबको शिक्षा व्यवहारिक तथा प्राविधिक हुनुपर्दछ, जसले आफूलाई आत्मनिर्भर र स्वावलम्बी बन्नेतिर उन्मुख गरोस् । त्यसो गरेमा मात्र हामीले शिक्षा क्षेत्रमा ठूलो सफलता हासिल गर्न सक्छौँ ।

    यहाँले विभिन्न कलेज तथा काशी नोबल एकेडेमी लामो समय देखि प्राध्यापन गराईरहनुभएको छ, यस क्षेत्रको शैक्षिक विकासका लागि के गर्न आवश्यक देख्नुहुन्छ ?
    –एक्लै हिँडेर गन्तव्यमा पुग्न गाह्रो हुन्छ । सबैभन्दा पहिला यहाँका सम्पूर्ण संघ संगठन तथा बौद्धिक समुदायले यस नगरको शैक्षिक उन्नयनमा जागरुक भएर एकताबद्ध रुपमा यसको विकासको लागि हातेमालो गर्न आवश्यक छ जस्तो मलाई लाग्छ । यहाँका उद्योग व्यापार संगठन, उद्योग वाणिज्य संघ, बार एशोसिएसन, सामाजिक संस्थाहरु, होटल व्यवसायीहरु त्यस्तै अन्य संगठन सँग पनि सहकार्य गर्दै यस नगरको शैक्षिक गतिविधि र चुनौतीका बारेमा छलफल गरी कसरी सबैलाई समेटेर यहाँको विद्यालयको गुणस्तरलाई सुधार्दै र सबैलाई स्वीकार्य हुने गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्दछ ।
    एक्लो विद्यालयको मात्र दायित्व नभई सम्पूर्ण नगरबासीको पनि यस क्षेत्रको शैक्षिक विकास सबैको दायित्व हो भन्ने कुरालाई बोध गराउँदै कार्य गरेमा सफल हुन सकिन्छ ।
    13346124_1002973699750294_293517530069444257_o

     

    उच्चशिक्षा हासिल गर्न भैरहवा क्षेत्रका विद्यार्थीहरु बाहिर जाने प्रवृत्ति छ, यसलाई रोक्न के गर्न आवश्यक छ ?
    –दक्ष जनशक्ति र यथेष्ट भौतिक पूर्वाधार यी दुई महत्वपूर्ण कारक तत्व हुन्, जसले गर्दा आजका मितिसम्म भैरहवा क्षेत्रका विद्यार्थी उच्चशिक्षाका लागि बाहिर गईरहेका छन् । यदि यी दुई महत्वपूर्ण कुरालाई यही नगरभित्र उपलब्ध गराउन सकेमा हामीले भैरहवाका विद्यार्थीलाई रोक्न सक्छौँ ।
    यहाँ पढ्ने बालबालिकाहरु पनि यही नगरका बासीहरुकै हुन् र बाहिर गएर पढ्ने बालबालिकाहरु पनि यही नगरकै बासीहरु भएकोे हुँदा सबैलाई समेटेर कसरी यो नगरमा ती सबै बालबालिकालाई समेट्न सकिन्छ त्यसतर्फ गृहकार्य गर्न आवश्यक देखिन्छ ।

    अन्त्यमा ?
    –हामी जहाँ छौँ त्यसैको प्रगति र उन्नतिको बारेमा हामी सबैले सोच्नु जरुरी छ । भैरहवा नेपालकै जेठो सहरमध्ये एक हो । यसको विकासको जिम्मेवारी हाम्रो काँधमा छ । यस क्षेत्रको शैक्षिक विकास भएमा भोली हाम्रा बाबुनानीहरुले सहज ढंगबाट आफ्नै घरमा बसेर आफ्नो योग्यता पुरा गर्न सक्ने वातावरण बनोस् यही शुभेच्छाका साथ लुम्बिनीखबरको सम्पूर्ण युनिटलाई धन्यवाद  दिन चाहन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.