logo
  • २१ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    “त्रि.वि. स्ववियू, प्राध्यापक र प्रशासनको सम्बन्धबाट मात्रै सुदृढ बन्न सक्छ ”


    २४ माघ २०७३ , सोमबार

    “त्रि.वि. स्ववियू, प्राध्यापक र प्रशासनको   सम्बन्धबाट मात्रै  सुदृढ बन्न सक्छ ”

    विक्रम सम्वत् २०१० साल जेठ १५ गते बुवा हरिकुमार राजभण्डारी र आमा जानकीदेवी राजभण्डारी श्रेष्ठको सुपुत्रको रुपमा भैरहवाको मैत्रीपथमा जन्मिएका बुद्धकुमार राजभण्डारी श्रेष्ठ सानैदेखि कविता लेख्न रुचाउँथे । नियमित कविता सृजना गर्ने उनी आफूलाई मार्मिक उपनामले चिनाउँछन् । २१ वर्षको कलिलो उमेरमै त्रिभुवन विश्वविद्यालयको सेवा प्रवेश गरेका उनी साढे ४१ वर्ष विश्वविद्यालयको प्रशासन शाखाको प्रमुख भई केही महिना अगाडी मात्र उपप्रशासक (उपसचिव) पदबाट सेवा निवृत्त भएका छन् । विश्वमै परिचित त्रिभुवन विश्वविद्यालयको प्रशासनीक पाटो चुस्त नहु“दा त्रि.वि. प्रति पछिल्लो पुस्ताको आकर्षण घट्दै गएको बेला हामीले समग्र विश्वविद्यालयको प्रशासकीय पाटो र आसन्न स्ववियु निर्वाचनको सम्बन्धमा केन्द्रित रहेर कुराकानी गरेका छौ। प्रस्तुत छ त्रिवि प्रशासनविद् श्रेष्ठसँगको कुराकानी ः

    लुम्बिनीखबरमा यहाँलाई स्वागत छ ।
    –धन्यवाद ! अमूल्य समय प्रदान गर्नुभएकोमा ।

    त्रि.वि.वि मा कति समय काम गर्नुभयो ?
    –त्रि.वि.विमा लामो समय काम गर्दा धेरै उतारचढाव देखेँ । मैले २०३१/६/७ देखि २०७२/१२/२० सम्म ४१ वर्ष ६ महिना १३ दिन काम गरेँ ।

    कस्तो उतार चढाव देख्नुभयो ?
    –सत्य कुरा सबैलाई तितो हुन्छ । तर ०४६ साल र त्यसपछि गणतन्त्र लागू हुन लागेको अवस्था सम्म धेरै राजनैतिक हस्तक्षेप भयो । जुनसुक क्षेत्रमा पनि राम्रो भन्दा पनि हाम्रो चाहिने भयो । तपाईहरुलाई थाहै छ, भनिरहनु पर्दैन । कर्मचारी क्षेत्रमा पनि व्यापक राजनीतिक हस्तक्षेप भएको अनुभव गरेको छु । राजनीतिक भागबण्डामा क्याम्पस चलाइयो । योग्य व्यक्तिहरु अयोग्य भए वा गराइए । सरस्वतीको पवित्र मन्दिरलाई राजनैतिक अखडा बनाइयो । मानिसको योग्यता र क्षमतालाई पटक्कै कदर भएन ।
    नयाँ नयाँ आफ्ना मानिसहरु राजनैतिक भागबण्डाका आधारमा प्रशासनमा भित्र्याइए, यी व्यक्तिहरु त्रिवि प्रति बफादार हुनु भन्दा आफु निकट राजनैतिक दलका कार्यालयहरुमा बदक भए । ऐले पनि यदि तपाईहरुले हेर्नुभयो भने थाहा पाउनुहुन्छ, कुनै पनि क्याम्पसमा (अपवाद बाहेक) वरिष्ठ प्राध्यापकहरुलाई पाखा लगाएर दल मतिहार कनिष्ठहरुलाई प्रशासनिक पदमा स्थापित गरिएको छ यो भन्दा ठूलो बिडम्बना अरु के हुन सक्छ र ? कुनै पनि देशका प्रगति, विकास र अग्रगमनका लागि शिक्षा क्षेत्र सफा हुनुपर्दछ । जुन देशमा शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप हुन्छ, त्यो मुलुकको अधोगति नै हुन्छ । जब राष्ट्रिय राजनीति भागबण्डामा चल्दछ भने शिक्षामा त्यसको असर पर्नु कुनै आश्चर्य हुँदैन । अब त्यसको प्रभाव विद्यार्थी वर्गमा नपर्ने कुरै भएन । यस्तो संस्कृतिको विकासले मुलुक तहसनहस हुने संचारमा पुगेको भान भइरहेको छ ।

    यहाँको विचारमा प्रशासन कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
    –राजनैतिक हस्तक्षेप मुक्त र योग्य व्खयक्तिहरुको छनौट हुनु आवश्यक हुन्छ । वर्तमान अवस्थामा यस्तो स्थिति देखिएको छैन । राष्ट्रिय स्तरमा पनि भागबण्डा भएकै कारण यो अवस्था आएको हो । क्याम्पस प्रमुखहरुको नियुक्तिमा पनि भागबण्डाले उग्र रुप लिएको छ । वरिष्ठताको आधारमा भन्दा पनि राजनीतिक आस्थाका आधारमा नियुक्तिहरु हुने गरेका छन् ।
    पहिलो कुरा त प्रशासन राजनैतिक हस्तक्षेपमुक्त हुनैपर्दछ । दोस्रो निष्पक्ष प्रशासन संचालनमा राजनैतिक इच्छाशक्ति बिना विभेद लागू हुनुपर्दछ ।
    तेस्रो कुरा असल, लगनशील र कर्तव्यनिष्ठ कर्मचारीहरुको उचित मूल्यांकन हुुनुपर्दछ । त्यतिमात्र होक्ष्न प्रशासन संचालनमा परेका अप्ठ्याराहरु बिस्तारै फुकाउँदे लानुपर्दछ ।

    सेवाबाट निवृत्त भएपछि कस्तो अनुभव गर्नुभएको छ?
    –खासै केही फरक छैन । आफ्नो व्यवहारिक काममा संलग्न रहेको छु । आफ्नो व्यवसाय पनि चलाईरहेकै छ ।

    काम गर्दा घरपरिवारबाट सहयोग प्राप्त भयो ?
    –किन नहुने ? घरपरिवारको सहयोगबाट नै मेरो जीवन चलेको छ ।

    सेवा निवृत्त जीवन पछि के गर्छु जस्तो लाग्छ ? कस्तो काममा यहाँको रुचि छ ?
    –सेवा निवृत्त भएपछि मलाई केही गर्नुपर्छ भन्ने लाग्छ । आफ्नो सम्पूर्ण ध्यान अध्ययन र घरव्यवहारमा लगाएको छु । मेरो रुचिको काम भनेको कविता लेखन पनि हो । म सेवा निवृत्त नहुँदा पनि समाज सेवामा संलग्न थिएँ र अहिले पनि समाजसेवामा लीन छु ।

    समाज सेवाको कुरा गर्नुभयो, के के गर्नुभएको छ ?
    –सिनपा ९ मा अवस्थित रुपन्देही क्याम्पसमा “बुद्ध विजया लक्ष्मी छात्रवृत्ति” स्थापना गरी प्रत्येक वर्ष करीब १० जनालाई छात्रवृत्ति प्रदान गरिन्छ । यो छात्रवृत्तिलाई निरन्तरता दिँदै जानेछु ।

    सेवा निवृत्त हुँदा तपाई कुन पदमा हुनुहुन्थ्यो ?
    –सेवा निवृत्त हुँदा म उप–प्रशासक (सेकेण्ड क्लास उप–सचिव सरह) पदमा थिएँ ।
    करिब ८ वर्षपछि स्ववियू निर्वाचन यही फाल्गुन १४ मा हुन गइरहेको छ, यहाँको विचारमा स्ववियु निर्वाचन किन आवश्यक छ ? यसले शैक्षिक गतिविधिमा कस्तो असर पार्दछ ?
    –हेर्नुहोस्, शैक्षिक संस्था त्रिकोणात्मक मिलनबाट संचालन हुन्छ, यसमा विद्यार्थी, शिक्षक र प्रशासनको महत्वपूर्ण भूमिका हुन्छ । स्ववियू विद्यार्थी प्रतिनिधिहरुको निर्वाचित संस्था भएको हुनाले यसले विद्यार्थी हक हितमा महत्वपूर्ण भूमिका खेल्दछ । स्ववियू निर्वाचन नभएको अवस्थामा शैक्षिक गतिविधिहरुको उन्नयन हुन सक्तैन । यसले दबाब समूहको रुपमा काम गर्ने हुनाले स्ववियू निर्वाचन आवश्यक छ ।
    अन्त्यमा केही भन्नुहुन्छ की ?
    –लुम्बिनीखबर साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैलाई समाजसेवामा लाग्न आग्रह गर्दछु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.