बुवा हरि काफ्ले र आमा बालकुमारी काफ्लेका सुपुत्र डा.राजु काफ्ले भैरहवाका स्थानीय वासिन्दा हुन् । यस क्षेत्रमा चर्चित बालरोग विशेषज्ञको रुपमा लोकप्रियता कमाएका डा.राजु काफ्ले नेपालमै एमबिबिएस देखि एम.डी सम्म गरेका हुन् । नेपालको हावापानी र यहाँका जनतासँग प्रत्यक्ष घुलमिल र अनुसन्धानको क्षेत्रमा सफल मानिएका यी डा.काफ्लेले भरतपुर मेडिकल कलेज चितवनबाट एमबिबिएस पछि कान्ति बाल अस्पताल काठमाण्डौबाट बाल रोग विशेषज्ञ (एमडी) गरेका हुन् । करिब एक दशकदेखि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल रानीगाउँ भैरहवामा एसोसिएट प्रोफेसरको रुपमा रहेका डा.काफ्ले बालबालिकाको उपचारमा काउन्सलरको रुपमा ख्यातिप्राप्त रहेका छन् । बालबालिकाहरुको लागि एन्टिबायोटिक औषधी होइन सही सल्लाह, सही सुझाव र सही विशेषज्ञताको आवश्यकता रहेको ठान्ने यी डा.काफ्लेकी धर्मपत्नी डा. श्रेया पौडेल काफ्ले समेत नशा तथा मानसिक रोग विशेषज्ञको रुपमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत छिन् । यीनै डा.काफ्लेसँग कमल रायमाझीले गरेको कुराकानीमा आधारित अन्र्तवार्ता ः

डा. राजु काफ्ले बालरोग विशेषज्ञ
बालबालिकाको सुरक्षाको लागी अभिभावकले के गर्न आवश्यक छ ?
–बालबालिकाको सुरक्षाका लागि अभिभावकले विभिन्न कुरामा ध्यान दिन आवश्यक छ । मुख्य कुरा खानपिन नै हो । बच्चाको स्वास्थ्यको लागि पोषणयुक्त पोषिलो खानामा मुख्य रुपमा दिनुपर्छ । नियमित खोप दिनुका साथै सरसफाईमा समेत ध्यान दिएमा बालबालिका स्वस्थ हुनुका साथै भविष्यमा लाग्ने रोगहरुको समेत न्यूनीकरण हुन्छ ।
बच्चालाई खाना,पानी र सरसफाई, वातावरणमा ध्यान दिएर हुर्काउनाले उसको व्यक्तित्व विकासका साथै मानसिक विकासमा समेत सहयोग पुग्दछ । नियमित सफा भाँडाकुडा, सफा र स्वस्थकर भोजन, हात सफाई गर्न समेत आवश्यक छ । खाना खाँदा तथा प्लाष्टिकका भाँडाहरु कम प्रयोग गर्ने, सकेसम्म मेटलका भाँडाकुँडाहरु प्रयोग गर्दा समेत बालबालिकाहरुको सुरक्षाका लागि प्रयोग गरिने सिद्धान्तहरु हुन् जुन अभिभावकले अंगीकार गर्नुपर्दछ ।
बालबालिकाहरुलाई लगाईने खोपले कस्ता रोगहरु रोकथाममा सहयोग पु¥याउँछ ? केके खोपहरु दिन यहाँले सुझाव दिनुहुन्छ ?
–भविष्यमा वा बच्चा ठूलो भईसकेपछि रोग प्रतिरोधात्मक शक्ति बढोस् भनेर बालबालिकाहरुलाई विभिन्न खोपहरु दिइने गरिएको छ । यी खोपहरु विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकारले निःशुल्क रुपमा बालबालिकाहरुलाई वितरण गर्ने गरेको छ । यसरी सरकारी तवरबाटै निःशुल्क दिइने खोपहरु बच्चा जन्मिएदेखि १ वर्षसम्म लगाइने खोपहरु नै महत्वपूर्ण खोपहरु हुन् । १ वर्षदेखि ५ वर्षसम्मका विभिन्न खोपहरु निःशुल्क रुपका साथै निजी क्षेत्रबाट सःशुल्क रुपमा नेपालमा पाइने गरेका छन् । यी खोपहरु समेत रोग प्रतिरोधात्मक खोपहरु हुन् । जुन बच्चा ठूलो भइसकेपछि सहयोग पु¥याउँछन् । बच्चाहरुका लागि जण्डिस, चिकनपक्स, टाइफाइड, फ्लु जस्ता रोगहरु नलाग्नका लागि खोपहरु अनिवार्य रुपमा लगाउनुपर्दछ । पछि बिरामी भएर औषधोपचारमा गर्ने खर्च बच्चामै खोप लगाएर न्यूनीकरण गर्न समेत अहिले नेपालको आवश्यकता देखिन्छ ।
नेपालमा निमोनियाका कारण बालबालिकाहरु जोखिममा रहेको भनिन्छ, किन होला ?
–हो, निमोनिया पनि बच्चाहरुको मृत्यु हुनुको ५ मुख्य कारणमध्ये एक हो । निमोनिया रोग के हो भनेर पत्ता नलगाई दिइने एन्टीबायोटिक औषधी समेत बच्चाहरुको लागि निकै जोखिमयुक्त रहेको छ । निमोनिया भनेको मुख्यतया तारान्तार नियमित ज्वरो आएमा, बच्चालाई सास फेर्न अप्ठ्यारो भएमा, बच्चाको चालचलन कमजोर देखिएमा, बच्चा निलो हुँदै गएमा, केही खाना ख्वाउन नसकिने र खाइहाले पनि उल्टी गर्ने गरेमा बच्चालाई निमोनिया लागेको शंका हुन सक्दछ । जुन ल्याब टेस्ट गरेर यसमा ब्याक्टेरिया छ भन्ने प्रमाणित भएमा मात्र निमोनियाको औषधी सेवन गराउनुपर्दछ । तर नेपालमा दुर्भाग्य भन्नुपर्दछ, अभिभावक पढेलेखेका छन् उनीहरुमा बच्चा कुन डाक्टरसँग चेकजाँच गराउनुपर्दछ भन्ने सामान्य ज्ञान समेत लिन सक्दैनन् । जसका कारण समेत सामान्य भाइरल भएका बच्चाहरुका लागि समेत हाई डोजको एन्टीबायोटिक औषधी निमोनिया भएको भनेर दिने गरिएको छ । जसलाई एन्टीबायोटिक मिसयुज भनिन्छ । यसरी एन्टीबायोटिक मिसयुज गर्दा भविष्यमा बच्चाहरुलाई कुनै ठूलै रोग लागेमा सामान्य औषधीहरुले कामै नगर्ने सम्भावना रहन्छ । मुख्यतया बच्चाहरुलाई भाइरस आक्रमण र ब्याक्टेरिया आक्रमण हुने गर्दछ । भाइरस आक्रमण भनेको यो सामान्य किसिमको भाईरल हो । जसका कारण सामान्य रुघाखोकी, ज्वरो आउने गर्दछ । यो बच्चालाई आक्रमण गरेको ५ देखि ७ दिनसम्ममा निको हुने गर्दछ । जसका लागि कुनै औषधीको आवश्यकता पर्दैन । ब्याक्टेरिया आक्रमण भनेको बच्चालाई लाग्ने केही ठूला रोगहरु हुन् । जसलाई बालरोग विशेषज्ञसँग मात्र चेकजाँच र ल्याब परीक्षण गरेपछि पत्ता लाग्दछ । जुन रोगमा कम डोजका एन्टीबायोटिक प्रयोग गर्नु आवश्यक छ । यो सबै अभिभावकले जानकारी लिनुपर्दछ ।

नेपालमा बालवालिकाहरु लाई सामान्य विरामी हुदा पनि एन्टिवायोटिक औषधी सेवनमा जोड दिने गरेको देखिन्छ । यसले बच्चाको स्वास्थ्यमा अन्य असर गर्दैन ?
–यहाँले भनेजस्तै नेपालमा बालबालिका सामान्य बिरामी हुँदा पनि एन्टिबायोटिक औषधीको प्रयोग बढ्दो रुपमा रहेको छ । जुन गलत हो । यो मेरो इन्ट्रेस्टको पनि विषय भएकाले सबै बालबालिकाका अभिभावकहरुलाई भरसक एन्टिबायोटिक औषधीको सेवन आफ्ना छोराछोरीलाई नगराउने सुझाव म दिन चाहन्छु । नेपालको सन्दर्भमा एन्टिबायोटिक औषधीको प्रयोग विकृतिको रुपमा रहेको छ । जुन चाउचाउ र बिस्कुट किनेजस्तै सामान्य रुपमा पनि क्लिनिकहरुमा किन्न पाईन्छ । यो कानुन विपरीत हो । विदेशतिरको कुरा गर्ने हो भने डाक्टरको प्रिस्क्रिप्सन बिना कुनैपनि औषधी किन्न पाईदैन । तर नेपालमा यो गलत रुपमा प्रयोग भएको छ । यसलाई सरकारले समयमै रोकथाम गर्न आवश्यक समेत म देख्दछु । एन्टिबायोटिक औषधी गलत रुपमा प्रयोग गर्दा यसले मानिसको शरीरमा ठूलो असर गर्दछ । जथाभाबी प्रयोग गरिएको एन्टिबायोटिकले भविष्यमा कुनै रोग ब्याक्टेरियाका कारणले लाग्यो भने एन्टिबायोटिक मार्फत उपचार गराउन नसकिने सम्भावना पनि रहन्छ । त्यसैले म सबैलाई यसै पत्रिका मार्फत सुझाव दिन चाहन्छु भाइरल इन्फेक्सनमा एन्टिबायोटिक खानुपर्दैन र यहाँहरुले प्रयोग नगरिदिनुहोला । ब्याक्टेरियाका कारण कुनै बिरामी भए रगत जाँच गरेर मात्रै विशेषज्ञको सल्लाह सुझावमा एन्टिबायोटिक प्रयोग गर्न म अनुरोध गर्दछु । बालबालिकाहरुलाई लाग्ने ८० प्रतिशत रोगहरु भाइरल इन्फेक्सनका कारण लाग्ने रोगहरु हुन् जुन ५ देखि ७ दिनसम्ममा ठीक हुने गर्दछ ।
नेपालमा कुपोषणको स्थिती कस्तो रहेको छ ?
–नेपालमा कुपोषणको वास्तविक तथ्यांक पाइदैन । छिमेकी मुलुक भारतको सीमाक्षेत्रका तथ्यांकको आधारमा भन्ने हो भने नेपालमा ४० देखि ५० प्रतिशत बालबालिकाहरुलाई कुपोषण भएको अनुमान गर्न सकिन्छ । सर्वप्रथम त कुपोषण भनेको के हो भन्ने कुरा नै बुझ्न आवश्यक छ । वास्तवमा कुपोषण भनेको समय अनुसार कम तौल हुने, कम उचाई हुने र सुस्त चालचलनलाई लिने गरिन्छ । यो वास्तवमा पोषणयुक्त खाना नखानाले नै हुने गर्दछ । नेपालका उच्च वर्गका परिवार र मध्यम वर्गका परिवारका बालबालिकामा समेत कुपोषण हुने गरेको छ । भने निम्न वर्गीय परिवारमा गरिबीका कारणले समेत कुपोषण हुने गरेको हाम्रो अनुसन्धानमा देखिन्छ । उच्च र मध्यम वर्गीय परिवारका बच्चामा पोषणयुक्त खानाको सट्टा बालबालिकाहरुलाई घरबाहिर बनेका जंकफुडहरु खुवाउनाले कुपोषण हुने गरेको देखिन्छ भने निम्न तथा गरिब परिवारका बच्चाहरुमा पोषणयुक्त खानाकै अभावमा कुपोषण हुने गरेको पाइन्छ । यसका लागि सर्वप्रथम मानिसलाई चेतनाको आवश्यकता छ । सबैमा बालशिक्षाको जरुरत देखिन्छ । यसका साथसाथै सरसफाई, स्वच्छ वातावरणमा बालबालिकाका अभिभावकहरुले ध्यान दिनु जरुरी छ । कुपोषण मुख्यतया २ प्रकारका हुन्छन् । एकथरी कुपोषण सामान्य रुपमा बच्चामा देखिन्छ भने अर्कोथरी कुपोषण अलि जटिल रुपमा बच्चाहरुमा पाइन्छ । सामान्य कुपोषण भएका बच्चाहरुको कम तौल र कम उचाई हुने भएतापनि जटिल किसिमको कुपोषणका कारण बच्चाहरुमा मरनच्यासे, रुन्चे, ख्याउटे, पेट ठूलो हुने गरेको देखिन्छ ।
गर्मीमा बालबालिकाहरुलाई लाग्ने रोगबाट बचाउन के गर्न आवश्यक देख्नुहुन्छ ?
–नेपालका बालबालिकाहरु मुख्यतया गर्मीमा धेरै बिरामी हुने गरेको देखिन्छ । यो हुनुको मुख्य कारण अभिभावकहरुले बालबालिकाहरुलाई उचित रुपमा स्याहारसुसार नर्गनाका कारणले नै हुने गरेको हो । गर्मीबाट बालबालिकाहरुलाई बचाउनका लागि मुख्यतया सरसफाई र खानपानमै ध्यान दिनुपर्दछ । अर्कोकुरा बाहिर पाइनेहरु जंकफुडहरु खानुहुँदैन । फिल्टर र उमालेको पानी प्रयोग गर्न पनि उत्तिकै आवश्यक छ । धुलो र धुँवा जस्ता प्रदूषणयुक्त स्थानमा जाँदै नजाने यदि जानुपरेमा मास्कको प्रयोग गराउनको लागि अभिभावकहरुले ध्यान दिनुपर्दछ । यसको साथसाथै पोषिलो खाना निरन्तर रुपमा खुवाउनुपर्दछ । माथि उल्लेख गरिएका कुराहरुमा ध्यान दिएमा बालबालिकाहरुलाई गर्मीबाट बचाउन सकिन्छ । गर्मी समयमा मुख्यतया लाग्ने रोग भनेका झाडावान्ता, जण्डिस, टाइफाइड नै हुन् । जुन ब्याक्टेरियाकै कारणले लाग्ने गर्दछ । जसलाई हिट स्ट्रोक पनि भनिन्छ । यसका साथै गर्मी समयमा दम, रुघाखोकी र प्रदूषणका कारण एलर्जी समेत हुने गर्दछ ।

बालबालिकाहरुलाई प्राय कस्ता रोगहरु लाग्ने गर्दछन् ?
–प्राय बालबालिकाहरुलाई भाइरल र ब्याक्टेरियाका कारण विभिन्न रोगहरु लाग्ने गर्दछ । भाइरल सामान्य रोग भएपनि ब्याक्टेरियाले समयमै सही उपचार भएन भने बच्चाको मृत्यु समेत हुन सक्दछ । जस्तै निमोनिया, झाडावान्ता, सेफ्टी सेमिना (रगतको इन्फेक्सन), कुपोषण, मेनिन्जाइटिस जस्ता रोगहरु ब्याक्टेरियाका कारणले हुने गर्दछन् । यो रोगको उपचारका लागि मानिसहरु आफ्ना छोराछोरीहरुलाई लिएर सामान्य क्लिनिक तथा अल्पज्ञान भएका व्यक्तिहरुसँग नगएर बालरोग विशेषज्ञलाई नै भेटेर उपचार गराउनुपर्दछ । जसका कारणले बच्चाहरुको सही समयमा सही उपचार र रोगको निराकरण गर्न सकिन्छ ।
बालबालिकाहरुको स्वास्थ्य विकासका लागि कस्तो खानाको आवश्यकता रहन्छ ?
–बालबालिकाहरुको स्वास्थ्य विकासका सन्तुलित भोजनको आवश्यकता पर्दछ । सन्तुलित भोजन भन्नाले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट, मिनरलयुक्त खानेकुराहरु खुवाउनुपर्दछ । बच्चालाई धेरै खुवाउनु भन्दा पनि पोषिलो खानेकुराहरु खुवाउन धेरै आवश्यक छ । जस्तै अण्डा, माछा, मासु, घिउ, फलफूल, दाल, भात, तरकारी, दूध, दही, काजु बदाम, केराउ, गेडागुडी खुवाउनाले बालबालिकाको स्वास्थ्य विकासमा सहयोग पुग्दछ ।
नेपालमा बालबालिकाको स्वास्थ्य क्षेत्रमा सरकारले कस्तो अभियान सञ्चालन गर्न आवश्यक होला ?
– बालबालिका भनेका वास्तवमा भविष्यका लागि राज्यका कर्णधारहरु हुन् । यिनीहरुको स्वास्थ्य शिक्षा र वातावरणको निर्धारण पनि राज्यले नै गर्न आवश्यक छ । जसका कारण भविष्यमा हुने राष्ट्रप्रमुख देखि विभिन्न निकायका कुशल प्रशासक समेत यीनै बालबालिका हुने गर्दछन् । यसले गर्दा बालबालिका जन्मिएदेखि नै उसको सही हेरविचार गर्न उसको अभिभावकका साथसाथै राज्यले समेत ध्यान दिनुपर्दछ । यसका लागि सर्वप्रथम उसको स्वस्थ स्वास्थयका लागि सन्तुलित भोजनको व्यवस्था गर्नुपर्दछ । यसका साथसाथै सही शिक्षा र वातावरणको समेत व्यवस्था उसको अभिभावक र राज्यले गर्नुपर्ने हुन्छ । नेपालका सरकारी अस्पतालदेखि दाङ जिल्लाका केही सामुदायिक क्षेत्रमा मैले गरेको अनुसन्धानमा विभिन्न अभावहरु देखेको छु । जस्तै अस्पतालहरुमा एनआइसियू, आइसियूका साथै बच्चाका लागि काउन्सलरहरु प्रत्येक अस्पतालहरुमा हुन आवश्यक छ । सरकारी अस्पतालहरुमा छुट्टै बाल स्वास्थ्य सेवा संचालन हुन पनि आवश्यक छ । अस्पतालहरुमा बालरोगको आकस्मिक कक्षहरु नहुँदा समस्या रहेकाले आकस्मिक कक्ष संचालनका लागि समेत सरकारले ध्यान दिनुपर्दछ । जथाभाबी दिइने एन्टिबायोटिक औषधीहरु पनि सरकारले कन्ट्रोल गर्नु आवश्यक छ र स्कुलहरुमा दिइने पोषणयुक्त खानालाई व्यवस्थित र विस्तारित गराउनतर्फ पनि सरकारले ध्यान दिनुपर्दछ ।
अन्त्यमा ?
–बालबालिका भनेका अन्जान हुन्छन् । यिनीहरुको स्वास्थ्य शिक्षा भनेको उनीहरुका अभिभावकहरुमा निर्भर रहेको हुन्छ । त्यसकारण अभिभावकहरु सचेत भएर उनीहरुको भविष्य सोचिदिनुपर्दछ । बालबालिका बिरामी भए भने सही डाक्टर, विशेषज्ञसँग पु¥याउनुपर्दछ । गलत उपचार र गलत क्लिनिकहरुमा पु¥याउँदा बालबालिकाको भविष्य अन्धकार समेत हुनसक्ने भएकाले यसतर्फ सचेत हुन समेत सबैलाई अनुरोध गर्दछु ।