logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    महिला शसक्तीकरण हाम्रो अभियान ः मल्ल


    २० चैत्र २०७३ , आइतबार

    महिला शसक्तीकरण हाम्रो अभियान ः मल्ल

    सिद्धार्थ सामुदायिक समाज भैरहवाकी अध्यक्ष समिता मल्ल महिला शसक्तीकरण र बालबालिकाको पक्षमा अभियान चलाउने अभियानकर्ता हुन् । जसले समाज परिवर्तनका लागि महिलाहरुको आत्मविश्वासका लागि र बालबालिकाको शिक्षामा निरन्तर काम गरिरहेकी छिन् । सिद्धार्थनगर नगरपालिका ९ आर्शिवाद पथकी स्थायी बासिन्दा मल्ल अहिले यीनै अभियान लिएर समाजमा हुने बालविवाहको अनुसन्धान र पैरवी गर्नमा तल्लीन देखिन्छिन् । समाजमा रहेका विभिन्न महिला हिंसाहरु र सचेतनाका कमीका कारण स्वास्थ्य र शिक्षामा पछाडि परेका समुदायको उन्नतिका लागि   वि.सं २०५९ सालदेखि  निरन्तर काम गरिरहेकी मल्लसँग लुम्बिनीखबरको साताको संवादका लागि कमल रायमाझीले गरेको कुराकानी ः

     

                          समिता मल्ल                                                                                                                                                                                                                            अध्यक्ष ः सिद्धार्थ सामुदायिक समाज भैरहवा        

     

     

    सिद्धार्थ सामुदायिक समाज भैरहवाले महिला तथा वालवालिकाको क्षेत्रमा कस्ता कामहरु गरेको छ ?
    –मुख्यतया हामीले महिला शसक्तीकरणका रुपमा काम गरिरहेका छौँ । महिलाहरुलाई आत्मनिर्भर, व्यवस्थित रोजगारमूलक बनाउनका लागि विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु, तालिमहरु र शिक्षामा मुख्य जोड दिएका छौँ । हाम्रो अभियान नै महिलाहरुको आर्थिक उन्नति हो । यसका साथसाथै हामीले बालविवाह न्यूनीकरणका लागि समेत विभिन्न अभियानहरु चलाइरहेका छौँ । बालबालिकाका लागि समेत स्वास्थ्य र शिक्षाको पहुँचमा पु¥याउनका लागि हाम्रो अभियान निरन्तर रुपमा अगाडि बढिरहेको छ ।

    महिलाहरुले मात्र नेतृत्व गरेको यो संस्थामा पुरुषहरुको आवश्यकता किन नदेख्नु भएको हो ?
    –यसको उत्तर भनेकै महिलाहरु अगाडि बढ्नु हो वा आत्मनिर्भर हुने अभियान चलाउनु हो । जहाँ पुरुषहरु अगाडि छन् वा उनीहरुले नेतृत्व गरेको संस्था छ, त्यहाँ महिलाहरु पछाडि परेका उदाहरणहरु तपाई हामीले यत्रतत्र देख्ने गरेका छौँ । त्यसैको अन्त्यको लागि महिला लैंगिक समानताका लागि हामीले महिलाहरुको नेतृत्वमा सिद्धार्थ सामुदायिक समाजको स्थापना गरी सामाजिक क्षेत्रमा तल्लीन रहेका छौँ । हामीलाई पुरुषहरुको आवश्यकता नै नपर्ने भन्ने होइन तर उहाँहरुको नेतृत्व मात्र हामीले हाम्रो संस्थामा दिन नचाहेको हो । हामीले पुरुष साथीहरुकै सहयोग, सल्लाह, सुझाव निरन्तर रुपमा लिने गरेका छौँ ।

    यहाँले समाज तथा गाउँहरुमा पुग्दा महिला तथा बालबालिकाका कस्ता समस्याहरु देख्नु परेको छ ?
    –नेपाली समाजका कुनाकाप्चामा हामी पुग्यौँ भने अनगिन्ती समस्या नै समस्याहरु हामीले देख्ने गरेका छौँ । महिलाहरु हिंसामा परेका छन्, बालविवाह रोकिएको छैन । स्वास्थ्य, शिक्षामा समेत गाउँघरका महिलाहरु पछाडि परेको स्पष्ट रुपमा देख्न सकिन्छ । बालबालिकाहरुलाई विद्यालय नपठाउने, कुनै स्वास्थ्य समस्या आइपरेमा अस्पतालसम्म नजाने, जति हिंसा परेपनि सहेर बस्ने प्रवृत्ति हामीले नेपाली महिलाहरुमा देख्नुपरेको छ ।

    महिला अधिकार भन्दै हिडदा महिलाहरुबाट अन्याय परेका पुरुषहरु भेट्नुभयो भने यहाँहरुको सरोकार के रहन्छ ?
    –यहाँले सही प्रश्न गर्नुभयो । नेपाली समाजमा महिलामात्र होइन पुरुषहरु पनि हिंसामा परेका छन् । त्यो हामीले बेला बेलामा भेट्ने गरेका छौँ । हाम्रो अभियान महिला हिंसा अन्त्य,  शिक्षा र स्वास्थ्य हुँदै बालबालिकाको सरोकारको विषय भएतापनि हिंसामा परेका पुरुषहरुलाई समेत हामीले सहयोग गर्ने गरेका छौँ ।  पछिल्लो समयमा पुरुष हिंसा समेत समाजमा बढ्ने गरेको छ । यसका लागि समेत चेतनामूलक कार्यक्रमहरु गर्नु आवश्यक छ ।

    सिद्धार्थ सामुदायिक समाजको मुख्य उद्देश्य केमा केन्द्रित रहेर अगाडि बढेको छ ?
    –हाम्रो मुख्य उद्देश्य भनेकै महिला तथा बालबालिकाको क्षेत्र नै हो । महिला शसक्तीकरणका लागि शिक्षा हाम्रो अभियानको मुख्य मेरुदण्ड हो । यसका साथसाथै महिलाका लागि आत्मबल, आत्मविश्वास, आर्थिक उन्नति जस्ता विषयमा हामीले काम गरिरहेका छौँ । समाज परिवर्तनका लागि नयाँ पुस्ताहरुका लागि बालबालिकाबाटै शिक्षाको आवश्यकता पर्ने भएकाले बेटर ब्रिक नेपालको सहयोगमा यस्ता अभियान पनि संचालन गरिरहेका छौँ ।

    यस क्षेत्रमा महिलाहरुको स्थिती कस्तो रहेको यहाँको तथ्याङक रहेको छ ?
    –हाम्रो तथ्यांकमा महिलाहरुको स्वास्थ्य शिक्षामा कमजोर अवस्था रहेको हामीले पाएका छौँ । यसका साथसाथै महिलाहरुले अधिकारका लागि भनेर जति नै संघर्ष गरेपनि पुरुषहरुको नियन्त्रणबाट बाहिर आउन कठिन भएको हामीले देखेका छौँ । प्राय महिलाहरु चुलोचौकोमा मात्रै सीमित रहँदा आफ्ना अधिकारहरु स्वतः गुमाउने परिस्थितिमा रहेको समेत हाम्रो तथ्यांकमा देखिन्छ ।

    नेपालमा महिला अधिकारका लागी लड्नेहरु धेरै प्रचारमुखी र डलरवादी भएको भन्ने आरोप छ नि ?
    –यहाँले भनेजस्तै केही संघसंस्थाहरुले यस्ता कामहरु गरिरहेका छन्, जुन सत्य पनि हुनसक्छ । त्यो अनुसन्धानको विषय रह्यो । तर हामीले संस्थाको स्थापनासँगै विभिन्न क्षेत्र, समुदाय समक्ष पुगेर महिला शसक्तीकरण र बालबालिकाको पक्षमा पैरवी गरिरहेका छौँ । यो मात्र होइन समाज परिवर्तनका लागि लैंगिक समानताको अभियानमा समेत हामीले जोड दिएका छौँ । यहाँहरु आफैले हाम्रो कार्यक्षेत्रमा रहेर बुझ्न सक्नुहुन्छ । हामीले महिला र बालबालिकाका पक्षमा गरेका धेरै कामहरु स्वयम् समाजमा रहेका भद्र भलाद्मीले समेत बताउनेछन् ।

    दक्षिण एसियामा अधिकारका हिसाबले नेपाली महिलाहरु अग्रस्थानमा भएको विभिन्न अध्ययनले देखाएको छ । अझ पनि यहाँहरुले आफुहरु अधिकारबाट वञ्चित भएको भन्दा धेरै अधिकार मागे जस्तो लाग्दैन् ?
    –हो कानुनी हिसाबले नेपाली महिला दक्षिण एसियामै अग्रस्थानमा देखिन्छन् । तर व्यवहारिक पक्ष हेर्ने हो भने पछाडि परेको जगजाहेरै छ । यी पछाडि परेका महिलाहरुको लागि कानुन र अधिकारका विषयमा सचेतनामूलक कार्यक्रम गर्ने नै हाम्रो उद्देश्य हो । महिलाले मात्रै चुलोचौकोमा सीमित हुनुपर्ने, श्रीमान्को नियन्त्रणमा सँधै बस्नुपर्ने, छोराछोरीलाई महिलाले नै हुर्काउनुपर्ने कानुन त नेपालमा छैन नी । तर व्यवहारले महिलाहरुलाई यस्तो जिम्मेवारी वहन गर्न बाध्य तुल्याएको छ । हामीले महिलाले मात्रै होइन पुरुषले पनि समान रुपमा व्यवहारिक पक्षको मूल्यांकन गर्नुपर्दछ भन्ने हो ।

    नेपालमा राष्ट्रपति,समामुख र प्रधान न्यायधिस सम्म महिलाहरु नै भएको देखिन्छ । सबै आफ्नै मिहिनेतले भएका हुन् । तर यहाँ त अधिकार माग्नेहरुले मेहनत नगर्ने तर समाबेसीका आधारमा अधिकार चाहियो भन्दा योग्यहरु पछाडी पर्दैनन् र ?
    –१/२ जना महिलाहरु माथिल्लो स्थानमा पुगे भन्दैमा सबै महिलाहरुको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन । जो पुगेको छ, उनीहरु कडा मेहनत, परिश्रम र घरपरिवारको सहयोगबाट नै पुगेका छन् । हाम्रो अभियान पनि ठ्याक्कै त्यही हो । महिलाहरुलाई घरपरिवार देखि समाजले सहयोग पु¥याओस् र पुरुष बराबरको हैसियत कायम राख्न सफल होस् भन्ने नै ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.