logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अपराध र तस्करी प्रहरीलाई स्वीकार्य छैनः एसएसपी थापा


    २८ चैत्र २०७३ , सोमबार

    अपराध र तस्करी प्रहरीलाई स्वीकार्य छैनः एसएसपी  थापा

    यहाँले लुम्बिनी अञ्चल प्रहरी प्रमुखको जिम्मेवारी वहन गरिरहँदा कस्तो अनुभूति गरिरहनुभएको छ ?
    – संगठनले मलाई यस अञ्चलको शान्ति सुरक्षाको जिम्मेवारी सुम्पेर यहाँ पठाएको छ । मैले यस अञ्चलमा आइसकेपछि सबै जिल्लाहरु, इलाका प्रहरी कार्यालयहरु र केही चौकीहरुको अनुसन्धान भ्रमण गर्दाखेरी चुनौतीपूर्ण पाएको छु । पहिलो कुरा त यहाँ राजनीतिक, आर्थिक र सामाजिक हिसाबले पनि संवेदनशील क्षेत्रको रुपमा यो अञ्चल रहेको छ । कपिलवस्तु, नवलपरासी र रुपन्देही मधेसी र पहाडी समुदाय बसोबास रहेको क्षेत्र हो भने अर्घाखाँची, गुल्मी र पाल्पा फरक समुदायहरु र रैथानेहरु बसोबास गरेको क्षेत्र हो । यो हिसाबले पनि यहाँ केही संवेदनशीलताहरु रहेका छन् । प्रदेश विभाजनको कारणले समेत यहाँका जनसमुदायलाई केही विभाजन गरेको छ । यसकारण पनि मैले यस अञ्चललाई चुनौतीपूर्ण रुपमा लिएको छु ।

    दिपक कुमार थापा बरिष्ठ प्रहरी उपरिक्षक ,अञ्चल प्रहरी कार्यालय लुम्बिनी प्रमुख

     
    यस अञ्चलमा सुरक्षा निकायलाई मुख्य समस्याको रुपमा यहाँले के पाउनुभएको छ ?
    –यहाँको मुख्य समस्या भनेकै खुला सिमाना हो । तपाइले हेर्नुभयो भनेपनि रुपन्देही, कपिलवस्तु र नवलपरासीका सीमाहरु भारतसँग सहजै रुपमा जोडिएका छन् । जसका कारण पनि एक देशको अपराधी अर्को देशमा सजिलै प्रवेश गर्न सक्ने देखिन्छ । एक देशमा हुने अपराधहरु अर्को देशमा विस्तार हुने सम्भावना पनि उत्तिकै छ । यसका साथसाथै नयाँ शहरोन्मुख गाउँहरु र जनघनत्व बढी भएका सहरहरुमा नयाँ कुराका साथसाथै अपराधहरु पनि बढ्ने गरेका छन् । अहिले यस अञ्चलको सुरक्षा थ्रेट भनेकै ओपन बोर्डर नै हो ।

    अञ्चल प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी वहन गर्दैैगर्दा यहाँले आफू मातहतका निकायहरुलाई कस्ता योजनाका साथ निर्देशन र परिचालन गर्नुभएको छ ?
    –पहिलो कुरा त संगठनले नै अञ्चल प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय हुँदै प्रहरी चौकीसम्म स्पष्ट नीति र ऐन बनाएको छ । यही प्रहरी ऐनमा रहेर मैले आफू मातहतलाई निर्देशन र परिचालन गर्ने गरेको छु । यसको अलावा यहाँको समाज, यहाँको राजनीति र परिस्थितिलाई मध्यनजर गरेर क्विक रेस्पोन्समा प्रहरी भन्ने अभियानका साथ अगाडि बढेको छु । यहाँका विभिन्न समस्याहरु न्यूनीकरणमा समेत मैले मध्यनजर गरेर योजनाहरु निर्माण गरी कार्यान्वयनतर्फ प्रहरी अग्रसर भएको कुरा सबैमा अवगत गराउन चाहन्छु ।

    यस क्षेत्रमा व्यापक रुपमा फैलिएको लागूऔषध सेवन तथा ओसारपसार नियन्त्रणका लागि अञ्चल प्रहरी कार्यालयले कस्तो अभियान संचालन गरेको छ ?
    –यस क्षेत्रमा मुख्य चुनौतीको रुपमा लागूऔषध समस्या हो । यसको न्यूनीकरणको लागि मेरो विशेष पहल र सक्रियता रहनेछ । अञ्चल प्रहरी कार्यालय भित्रै रहेको लागूऔषध नियन्त्रण गर्ने प्रहरी ईकाई लागूऔषध ब्यूरोलाई अझ बढी शसक्त र क्रियाशील भएर सीमा क्षेत्र, लागूऔषध कारोबार र सेवन गर्ने सम्भावित क्षेत्रहरुमा लागूऔषध ब्यूरोका प्रहरीहरु परिचालन गरिएका छन् । यसका साथसाथै स्कुल, कलेज र समाजमा अञ्चल प्रहरी कार्यालय, म आफै पनि लागूऔषध विरुद्धका सचेतनामूलक कार्यक्रम संचालन गराएको छु । यसको साथसाथै मातहतका निकायहरुमा समेत यस्ता सचेतनामूलक कार्यक्रमहरुलाई अगाडि बढाउन निर्देशन दिइएको छ ।

    प्रहरीको प्रत्यक्ष संलग्नतामा सीमा अपराध र तस्करीहरु बढोत्तरी हुने गरेको जनगुनासोहरु आउने गरेका छन् नी ?
    –म मातहतमा रहेका कुनैपनि प्रहरी इकाई र प्रहरीले व्यक्तिगत प्रलोभनमा परेर तस्करी र कुनै अपराधमा संलग्नता भएको पाइएमा तुरुन्तै कारबाही गरिनेछ । त्यसकारण पनि संस्थागत रुपमा कुनैपनि अपराध र तस्करी प्रहरी संगठनलाई स्वीकार्य छैन । यसमा मैले कडाईका साथ निर्देशन दिने गरेको छुु । कहीँ कतै यस्ता घटनाहरु भएको प्रमाणहरु पाइएमा अञ्चल प्रहरी कार्यालयले संगठनको ऐनमा रहेको कानुनलाई आकर्षित गर्दै त्यस्ता प्रहरीहरुलाई कारबाही गर्नुका साथै सीमा अपराध र तस्करीहरुलाई न्यूनीकरणमा भूमिका खेल्ने कुरा सबैमा विश्वास दिलाउन चाहन्छु ।

    प्रसंग बदलौँ, स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र,  निष्पक्ष, विश्वसनीय र भयरहित ढंगले सम्पन्न गराउन यहाँले कस्तो निर्वाचन सुरक्षा योजना तयार पार्नुभएको छ ?
    –यस अञ्चलले पहाडका ३ र तराईका ३ गरी कुल ६ जिल्लाको सुरक्षा नेतृत्व गर्दछ । हामीले यहाँ तयार पार्ने सुरक्षा योजना प्रहरीको तल्लो युनिटसम्म पुग्दछ । यसका लागि हामीले मतदानस्थल र केन्द्रदेखि उम्मेदवार र मतदातासम्मको सुरक्षा योजना तयार पारेका छौँ । पहिलो कुरा सुरक्षा निकायले ३ वटा क्षेत्रको पहिचान गर्दछ । सामान्य,संवेदनशील र अति संवेदनशील, यसैलाई मध्यनजर गरेर सुरक्षा रणनीति समेत तयार पारिएको छ ।
    उम्मेदवार र मतदाताहरुको सुरक्षाका लागि प्रहरीले कस्तो सुरक्षा प्रणाली निर्माण गरेको छ ?
    –हामीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर निर्वाचनस्थल र उम्मेदवारको सुरक्षालाई मुख्य केन्द्रविन्दु राखेका छौँ । साथसाथै मतदाताहरुको सुरक्षाका लागि समेत भयरहित वातावरण बनाउन प्रहरीको प्रयास जारी रहनेछ । कसैलाई कुनै सुरक्षा थ्रेट भएमा जिल्ला सुरक्षा समन्वय समितिको सिफारिसमा थप सुरक्षाकर्मी समेत परिचालन गरिनेछ । र उम्मेदवारलाई व्यक्तिगत रुपमा समेत सुरक्षाकर्मी उपलब्ध गराउन सकिनेछ ।

    स्थानीय निर्वाचन गराउनमा प्रहरीको महत्वपूर्ण भूमिका देखिन्छ । शान्ति सुरक्षा कायम राख्दै निर्वाचन सम्पन्न गर्नका लागि मतदानस्थल र केन्द्रको सुरक्षा नेपाल प्रहरीले कसरी गर्दछ ?
    –नेपाल प्रहरी देशमा शान्ति सुरक्षा कायम राख्दै समाज समुन्नत बनाउन महत्वपूर्ण भूमिका खेल्ने संगठन हो । यसले जनताको सुरक्षालाई केन्द्रविन्दुमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने गरेको छ । स्थानीय निकायको निर्वाचनमा शान्ति सुरक्षा कायम राख्नका लागि हामीले जिल्ला स्तरीय सुरक्षा समन्वय समिति तयार गरेका छौँ । जसमा रहेर नेपाल प्रहरीले मतदान केन्द्रको सुरक्षार्थ एक टोली खटाउनेछ भने हरेक मतदान केन्द्रको दूरीमा मोबाइल गस्ती परिचालन गर्नेछ । यसका साथसाथै  प्रत्येक मतदानस्थलको पेरीफेरीमा रहेर प्रहरीको सपोर्ट टिम तम्तयार अवस्थामा रहनेछ । कुनै घटना घटिहालेमा जिल्ला प्रहरी कार्यालयहरुमा अर्को सपोर्ट टिम परिचालन हुनेछ । र आवश्यक मतदानस्थलहरुमा पुग्नको लागि रिजर्भेसन फोर्स समेत अञ्चल प्रहरी कार्यालयमा स्ट्याण्डबाई रहनेछ । यसरी नेपाल प्रहरीले आफ्नो सुरक्षा योजना निर्माण गरेको छ । यही योजना र आवश्यकतामा नेपाल प्रहरी परिचालन गरिनेछ । जसमा म्यादी प्रहरीहरु समेत नेपाल प्रहरीको मातहतमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्नेछन् । जसका लागि हामीले तालिम र सुरक्षा रणनीतिको विषयमा अभिमुखीकरण कार्यक्रमहरु संचालन गरिरहेका छौँ ।

    अन्त्यमा ?
    –नेपाल प्रहरी जनताको सुरक्षाको लागि प्रत्यक्ष रुपमा संलग्न संस्था हो । यसले गाउँ, टोल, समाजदेखि राज्यको प्रत्येक निकायमा सरोकार राख्दछ । समाजमा हुने प्रत्येक गतिविधिहरुलाई सुक्ष्म रुपमा अवलोकन गर्नुका साथै शान्ति सुरक्षा कायम राख्नको लागि संगठनले दिएको अधिकार समेत प्रयोग गर्ने गरेको  छ । यसका लागि स्थानीयहरुको समेत सहयोग आवश्यक छ । समाजमा हुने कुनैपनि घटनाहरु घटिहालेमा नेपाल प्रहरीलाई यहाँ कसैले प्रत्यक्ष रुपमा सम्पर्क गरेर जानकारी गराउन सक्नुहुनेछ । गलत गतिविधिहरु कहीँ कतै भइहालेमा नेपाल प्रहरीको निःशुल्क टेलिफोन सेवा १०० मा सम्पर्क समेत गर्न सक्नुहुनेछ । यसैले अब हुने स्थानीय निकायको निर्वाचनमा समेत सबै उम्मेदवार, मतदाताहरुले प्रहरी सँगको सहकार्यता, सहयोगमा आफ्ना गतिविधिहरु संचालन गर्न आवश्यक छ । निर्वाचनमा समेत सरकारले तोकेको आचारसंहिता परिपालन गरेर असल नागरिकको पहिचान दिन समेत म यहाँहरुलाई अनुरोध गर्दछु । स्थानीय निकायमा हुने कुनैपनि समस्याहरु हाम्रा मातहतका चौकीहरुमा यहाँले सिधै सम्पर्क गर्न सक्नुहुनेछ । यहाँका कुराहरु सुनुवाई नभएमा अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा सम्पर्क गर्न समेत म सबैलाई आग्रह गर्दछु ।
    (लुम्बिनीखबरको लागि कमल रायमाझीले लिएको अन्र्तवार्ता)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.