logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विपीसँगको संगतले मलाई प्रजातान्त्रिक आन्दोलनमा सरिक गरायो : काफ्ले


    १४ बैशाख २०७४ , बिहिबार

    विपीसँगको संगतले मलाई प्रजातान्त्रिक आन्दोलनमा सरिक गरायो : काफ्ले

    नेपाली राजनीतिका आदर्श पात्रको रुपमा रहेका विपी कोइरालाको सामिप्यता र सहकार्यमा वि.सं २०२४ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका दीर्घराज काफ्ले नेपाली कांग्रेसभित्रका स्वच्छ छवि भएका पुराना नेताको रुपमा चिनिन्छन् । नेपाली कांग्रेसका संस्थापक नेताहरु गणेशमान सिंह र  कृष्णप्रसाद भट्टराईसँग समेत लामो राजनीतिक यात्रामा सँगै हिँडेका काफ्लेले नेपालको परिवर्तन र विकासमा सँधै आवाज उठाउने गरेका छन् । विद्यार्थी कालमा भारतको बनारसमा बसेर पञ्चायत विरुद्धको आन्दोलनमा शसक्त भूमिका निर्वाह गरेका काफ्ले बनारसमै नेपाली विद्यार्थी संगठनका अध्यक्ष समेत भएका थिए । वि.सं २०३६ सालको जनमत संग्रहमा समेत उल्लेखनीय रुपमा राजनीतिक गतिविधिलाई गाउँ गाउँ र बस्ती बस्तीमा पुगेर पञ्चायतको विरुद्धमा लडेका उनले २०४६ सालको जनआन्दोलनबाट अग्रमोर्चामा रहेर काम गरेको उनको अनुभव छ ।
    २००४ साल जेठ ३० गते  बुवा स्व.पुण्यनीधि काफ्ले र आमा विष्णुमाया काफ्लेको सुपुत्रको रुपमा स्याङजा जिल्लामा जन्मिएका दीर्घराज काफ्ले २०४६ सालपछि भने नेपाली कांग्रेसले लामो आन्दोलनबाट प्राप्त गरेको प्रजातन्त्रलाई सही रुपमा सदुपयोग गर्न नसकेको गुनासो गर्दछन् । उनी भन्छन्, यही प्रजातन्त्रको लागि देशले विकासमा फड्को मार्ला, आर्थिक उन्नति गर्ला, बेरोजगारी घटाउला, पर्यटन र जलस्रोतमा समेत विश्वका अन्य देशको दाँजोमा पुग्ला भन्ने अपेक्षा गरेपनि अवसरवाद र स्वार्थवाद हावी हुँदा आम जनताको चाहनाअनुसार नेपाली कांग्रेस अगाडि बढ्न नसकेको उनको बुझाई रहेको छ ।
    प्रजातान्त्रिक आन्दोलनका क्रममा तीन पटक सम्म जेल र १९ पटक प्रहरी हिरासतमा यातना पाएका काफ्ले २०४२ सालमा रुपन्देहीको मंगलापुरबाट सत्याग्रह आन्दोलनमा पक्राउ परी जेल परे भने २०४६ सालको जनजागरण आन्दोलनमा मर्चवारबाट र २०४६ को अन्त्यतिर जनआन्दोलनको नेतृत्व गर्दागर्दै प्रहरी गिरफ्तारीमा परेर जेल परेका थिए । उनै काफ्ले अहिले रुपन्देहीको सिद्धार्थनगरमा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै विभिन्न संघसंस्थामा समेत आबद्ध रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । भैरहवाको सहिद स्मृति पुस्तकालयको संरक्षक, विपी चिन्तन प्रतिष्ठानको केन्द्रिय समिति सदस्य, सहिद स्मृृति प्रतिष्ठानको केन्द्रिय सदस्य लगायतका दर्जनौँ संघसंस्थामा आबद्ध रहेर काम गरिरहेका छन् । उनै काफ्लेसँग लुम्बिनीखबरको साताको संवादमा कमल रायमाझीले गरेको कुराकानी ः

     

                                                                                                              दीर्घराज काफ्ले                                                                                                                                                                                                                                                    (पुराना राजनीतिज्ञ)

     यहाँ राजनीतिमा लाग्नुको खास कारण के हो ?
    –म राजनीतिमा आउनुको मुख्य कारण भनेको  पञ्चायत विरुद्धको आन्दोलनको प्रभाव नै हो । विपीका विचार र सिद्धान्तले समेत मलाई राजनीतितर्फ आकर्षित गरायो । बुवाका साथी पूर्वमन्त्री जमानसिंह गुरुङको प्रभावले समेत मलाई नेपालको राजनीतिमा आबद्ध भएर अगाडि बढ्ने उत्प्रेरणा प्राप्त भयो ।

    यहाँले  राजनीतिमा आफ्नो शसक्त भूमिका कसरी निर्वाह गर्नुभयो ?
    –म स्याङजाबाट अध्ययनको सिलसिलामा बनारस पुगेपछि विपीको संगतमा पुगेँ । विपीसँगको उठबस र सहयात्रामा मेरा राजनीतिक पाईलाहरु प्रजातान्त्रिक आन्दोलनमा होमिए । मैले मेरो उर्जाशील समय नेपाली कांग्रेस र पञ्चायत विरुद्ध व्यतीत गरेँ । जसले अहिले प्रजातन्त्रलाई भित्राएको  छ ।

    यहाँले गरेको आन्दोलनले केही उपलब्धि प्राप्त गरेजस्तो लाग्छ ?
    –हो, यहाँले गम्भीर प्रश्न सोध्नुभयो । मैले लामो राजनीतिक आन्दोलनमा होमिँदा परिवारभन्दा टाढा रहनुप¥यो । उच्चशिक्षा हासिल गर्न बनारस पुगेको छोरो बुवाआमाको चाहना र आकांक्षा भन्दा फरक तरिकाले राजनीतिमा होमिनुप¥यो । म जस्ता हजारौँ नेपालीहरु प्रजातन्त्र प्राप्तिको लागि आन्दोलनमा निरन्तर खटिए । जसका कारण राजाको एकतन्त्रीय पञ्चायत व्यवस्थाको अन्त्य हुँदै जननिर्वाचित सरकारको निर्माण गरियो । यहाँसम्म आईपुग्दा मेरा आन्दोलनहरु उपलब्धिमा नै प्रवेश गरेको जस्तो लाग्छ । २०४६ सालको प्रजातन्त्र आगमनसँगै हाम्रा उपलब्धि त्यसपछि जननिर्वाचित भएका सरकारहरुले संस्थागत  गर्नुपर्ने थियो । नेपाली जनताले अपेक्षा गरे अनुसार त्यो हुन सकेन ।

    यहाँले भन्न खोज्नुभएको नेपाली राजनीति सही ट्रयाकमा अगाडि बढ्न नसकेको हो ?
    –नेपाली राजनीतिलाई नजिकबाट नियालेर हेर्ने हो भने प्रष्ट हुन्छ की यहाँ विभिन्न किसिमका समस्याहरु निम्त्याइने गरेको छ । जसका कारण नै २०४७ सालको संसद निर्वाचनबाट ५ वर्षको सरकार चलाउने जिम्मा पाएको नेपाली कांग्रेसको बहुमत प्राप्त सरकार ३ वर्षमै ढल्न पुगेको थियो । त्यसपछि  अहिलेसम्म दर्जनौँ पटक सरकार ढल्ने र बढ्ने प्रक्रिया जारी रहेको छ । जसले समेत स्पष्ट देखाउँछ की नेपालको राजनीति स्थिर देखिँदैन ।

    नेपालको राजनीतिक विकास संस्थागत हुनका लागि यहाँको के सुझाव रहेको छ ?
    –हो, पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको आगमन समेत शसक्त रुपमा अगाडि बढेको छ । पुरानो प्रवृत्ति र परम्परागत रुपमा अगाडि बढ्ने नेताहरुलाई लगाम लगाउने काम सबै राजनीतिक दलहरुमा देखिन थालेका छन् । देश र जनतालाई केन्द्रविन्दुमा निस्वार्थ भावनाका साथ अगाडि बढ्ने राजनीतिक नेतृत्वको नेपालमा आवश्यकता देखिन्छ ।

    नेपालमा राजनीतिक विकाससँगै आर्थिक विकास कसरी अगाडि बढ्न सक्छ होला ?
    –हामीले हे¥यौँ भने छिमेकी मुलुक भारत र चीन आर्थिक रुपमा निकै अगाडि पुगिसकेका छन् । यी छिमेकीहरुको सहयोग, सद्भाव र सहकार्यमा नेपाल चुकेको छ । जसका कारणले हामी आर्थिक रुपमा समेत पछाडि परेका छौँ । अब नेपालको आर्थिक विकासमा फड्को मार्नका लागि चीन र भारतसँग व्यापारिक सामिप्यता राख्दै कृषि, पर्यटन, जलस्रोत र उद्योगमा विकास गर्नु आवश्यक छ ।

    यहाँको आफ्नो राजनीतिक जीवनमा कस्ता अनुभवहरु रहेका छन् ?
    –राजनीति भनेको वास्तवमा निस्वार्थ जनताको सेवामा सँधै समर्पित हुने पेशा हो । मैले पनि राजनीतिमा धेरै अवसरहरु पाएँ पनि, गुमाएँ पनि । २०४७ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भैरहवा क्षेत्रका लागि पार्टीले उम्मेदवारको रुपमा प्रस्ताव गरेको थियो । तर मैले पाउने टिकट अरुले केन्द्रबाटै लिएर आए । त्यस्तै विभिन्न नियुक्तिहरुमा मलाई पार्टीले अफर गरेको थियो । तर मैले ती अवसरहरुमा खासै इच्छा जाहेर गरिन । नेपाली कांग्रेसको असल कार्यकर्ता भएर चारतारे झण्डामुनि सँधै आबद्ध भई अगाडि बढ्ने अवसरहरु पाएँ । यसका अलावा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर जनताको सेवामा सदैव म समर्पित हुँदै आइरहेको छु ।

    यहाँले राजनीतिलाई कसरी बुझ्नुभएको छ ?
    –राजनीति भनेको विचार र सिद्धान्तले चल्ने हो । विचार र सिद्धान्तबाट निर्देशित हुने नेता र कार्यकर्ताहरु देश र जनताको निम्ति सदैव निस्वार्थ रुपमा अगाडि बढ्नुपर्दछ । राजनीतिमा स्वार्थ देखियो भने त्यो स्वार्थवाद, अवसरवाद र गैरराजनीतिक चरित्रको कित्तामा पुग्दछ । मैले बुझेको राजनीति यस्तै प्रकारको हो । तपाईले हेर्नुभयो भने सिद्धान्त र विचार बोकेका नेताहरु सत्तामा पुग्ने बित्तिकै स्वार्थ र व्यक्तिगत फाईदामा लिप्त भएका छन् । देश र जनताको सेवामा भन्दा आफ्नो सेवामा समर्पित भएका छन् ।

    अहिलेको मधेस आन्दोलनलाई यहाँले कसरी नियाल्नुभएको छ ?
    –मधेसमा भएको अहिलेको आन्दोलन मधेसी जनताले आफ्ना अधिकारका लागि गरेको आन्दोलन हो । जुन आन्दोलन राज्यसँग मधेसी जनताको आफूले पाउने अधिकारहरु माग गरेका छन् । तर दुर्भाग्य भन्नुपर्छ, मधेसी जनताले मागेका सही मागहरुसँगै विभिन्न राजनीतिक दलले राज्यलाई क्षति पु¥याउने मागहरु समेत घुसपैठ गराइएको छ । जसले मधेसका मागहरु सजिलै सम्बोधन हुन सकेका छैनन् ।

    लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनलाई यहाँले कसरी हेर्नुभएको छ ?
    –नेपालको स्थानीय तहको विकासका लागि स्थानीय निर्वाचन अति आवश्यक छ । शिक्षा, आर्थिक विकास, रोजगार, पर्यटन र कृषिमा समेत स्थानीय तहबाटै विकास भएर अगाडि बढेमा देशको विकास हुन त्यति समय लाग्ने देखिँदैन । त्यसैले जसरी भएपनि जनताले आफूले मतदान गरेर जिताएको नेतृत्वले स्थानीय तहको नेतृत्व सम्हालोस् र जनताको आकांक्षा अनुसार काम गरोस् भन्ने मेरो बुझाई रहेको छ ।

    स्थानीय तहको निर्वाचनमा उम्मेदवारी छनौट गर्दा पार्टीभित्र विभिन्न विवादहरु देखिएका छन् । यसलाई कसरी अन्त्य गर्न सकिन्छ होला ?
    –उम्मेदवारी छनौट गर्दा मुख्यतया पार्टीले सही नेतालाई छनौट गर्न सक्नुपर्छ । जसले जनता र समाजको भावना बुझ्न सकोस् । अर्को कुरा उम्मेदवारी छनौट गर्दा स्वार्थवाद र अवसरवादमा लम्किएका नेताहरुलाई ओझेलमा पार्नुपर्दछ । इमान्दार, पार्टीको नीति र सिद्धान्तप्रति सदैव गौरव गर्ने कार्यकर्तालाई स्थानीय तहको नेतृत्वको लागि उम्मेदवारमा छनौट गर्नु आवश्यक  छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.