
प्रबन्ध निर्देशक- सुनिल श्रेष्ठ
रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय हरेक कुराको चाप बढ्दो छ । आधारभूत आवश्यकता पुगिसकेको यो शहरमा होटल व्यवसाय एक प्रतिष्ठित व्यवसाय मानिन्छ । केही समयको अन्तराल पछि संचालनमा आउने अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलका कारण पनि यहाँ गुणस्तरीय होटलहरु धमाधाम थपिने क्रम जारी छ । भैरहवामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने ती होटलहरु मध्ये सिद्धार्थनगर-१३ देवकोटा चोकमा अवस्थित होटल मौर्या पनि एक हो । ४० जना कर्मचारी रहेका उक्त होटलमा ५० वटा गुणस्तरीय रुम सहित पर्यटकहरुलाई निरन्तर सेवा प्रवाह भईरहेको छ । होटलको जिम्मेवारी सम्हालेका होटलका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठ होटललाई थप गुणस्तरीय बनाउने तयारीमा छन् । आगामी २ महिना भित्र होटलमा थप ४० वटा रुम, रातिमा भैरहवा शहरको दृष्य अवलोकन गर्न सकिने ओपेन स्काई बार, क्यासिनो र साथै मसाजका लागि स्पा लगायतका थप सेवाहरु संचालनको तयारीमा रहेका प्रबन्ध निर्देशक श्रेष्ठसंग लुम्बिनीखबरले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :
कोभिड पछि नेपालको पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
कोभिड पछि अहिले केहि मात्रामा होटल व्यवसायीलाई अलिकति राहत भएको छ । देशमा पर्यटकहरुको आवागमन बढेको छ । भैरहवामा भन्नुपर्दा होटल व्यवसाय र क्यासिनोहरु खुल्ला भएका छन् । देशमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । कोभिड पछि लगभग ३० देखि ३५ प्रतिशत चहलपहल बढेको छ । बिस्तारै यो दर बढ्दै जान्छ ।
नेपालमा पर्यटन क्षेत्रलाई अगाडी बढाउन यहाँहरुले कस्तो भूमिका खेलिरहनु भएको छ ?
नेपालमा पर्यटन क्षेत्रलाई अगाडी बढाउन विशेषतः हामीले ई–मिडियाको माध्यमबाट पोखरा, बर्दिया लगायत नेपालका पर्यटन क्षेत्रहरुको बारेमा विदेशमा बस्ने साथीहरुलाई विभिन्न डकुमेन्ट्री र लेखहरुको माध्यमबाट जानकारी दिने गरेका छौ । समग्रमा भन्नुपर्दा होटल व्यवसाय क्षेत्रमा काम गर्ने सबैले आ–आफ्नो क्षेत्रबाट निरन्तर प्रयास गरिरहेका छौ । कोभिडले थला परेको होटल व्यवसायलाई उकास्न हाम्रो प्रयास जारी छ ।
यहाँले होटल मौर्याको व्यवस्थापनमा रहेर काम गर्दा पर्यटकहरुलाई पर्यटन व्यवसायीले के गर्दा आकर्षण गर्न सकिन्छ जस्तो लाग्छ ?
मैले आफ्नो होटलको प्रोत्साहन गर्नुपर्दा सर्वप्रथम होटलमा विशेष किसिमको प्याकेज हुनुपर्छ, जुन होटल मौर्याले प्रदान गरिरहेको छ । जस्तो कि गेष्टहरु आएपछि आतिथ्य सत्कार राम्रो हुनुपर्छ । उहाँहरुलाई आफ्नै घरमा बसेको जस्तो अनुभूति गराउन आवश्यक हुन्छ । साथै होटलमा बसुन्जेल सम्म बस्ने कोठाहरु सफासुग्घर हुनुपर्छ, इन्टरनेटको राम्रो सुविधा हुनुपर्छ, खाना मिठो हुनुपर्छ र यसको अलावा होटल भित्र स्पा, क्यासिनो लगायतको पनि सुविधा हुन आवश्यक छ ।
होटल मौर्या कुन स्तरको होटल हो र यसले पर्यटकहरुलाई कसरी सेवा दिइरहेको छ ?
यो होटल फोर स्टार लेभलको होटल हो । सर्वप्रथम पर्यटकहरुलाई हामीले न्यानो स्वागत गर्ने गर्छौ । पर्यटकलाई सहज महशुसको अनुभूति दिलाउन कुराकानीलाई विशेष जोड दिन्छौ । अतिथिहरुलाई चाहिने मिठो खाना, सफासुग्घर बस्ने कोठा, शान्त वातावरण यी सबैको हामीले राम्रो व्यवस्थापन गरेका छांै । त्यसैले धेरै जसोले मौर्या होटलकै नाम लिने गर्नुहुन्छ ।
यहाँको होटलमा पर्यटकहरु किन आउने ?
हाम्रो होटलमा पर्यटक किन आउने भनेर धेरै राम्रो प्रश्न गर्नुभयो । मैले पहिले पनि भनिसके, गेष्ट आइसके पछि हामीले घरको जस्तो व्यवहार गर्ने गर्छौ । खानाको कुरा आउँछ । बस्ने रुमको कुरा आउँछ । यी हरेक कुराहरुको होटल मौर्यामा राम्रो व्यवस्थापन भएकोले गेष्टहरु हाम्रो होटलमा आइरहनु हुन्छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि यस क्षेत्रको पर्यटन व्यवसायीमा कस्तो प्रभाव पर्ला ?
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि यस क्षेत्रको पर्यटन व्यवसाय एकदमै फस्टाउछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएकोले र यो क्षेत्र एउटा विजनेस हब भएको हुनाले त्यसले गर्दा पनि यदि चीन, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया, बेत्नाम लगायत बौद्धिष्ट देशहरुबाट प्रत्यक्ष हवाई सम्पर्क जोडियो भने कम बजेट भएका पर्यटकहरु पनि हवाई मार्गबाट सिधै लुम्बिनी दर्शनमा आउन सक्छन । र यस क्षेत्रको पर्यटन व्यवसाय स्वतः फस्टाउछ ।
नेपालमा आउने धार्मिक पर्यटकहरुलाई लुम्बिनी क्षेत्रले कतिको समेट्न सकेको छ ?
नेपालमा आउने धार्मिक पर्यटकहरुलाई लुम्बिनी क्षेत्रले धेरै नै महत्व दिन्छ । हिन्दु, मुस्लिम, इसाइ वा बौद्धिष्ट जुनसुकै धर्मावलम्बी हुन् । लुम्बिनी एउटा पवित्र र शान्तपूर्ण ठाउँ भएकोले जुनसुकै धर्म मानेहरु निसंकोच त्यहाँ आउनुहुन्छ । खासमा भन्नुपर्दा लुम्बिनीले सबै धर्मावलम्बिहरुलाई समेटेको छ ।
पर्यटन क्षेत्रलाई अगाडी बढाउन यहाँले कस्तो समस्या देख्नु हुन्छ ? र राज्यले समाधानका लागि के गर्नुपर्ला ?
सबभन्दा ठुलो समस्या भनेको बर्डरको समस्या हो । गेष्टहरु नेपाल आउँदा बर्डरमा राम्रो अतिथि सत्कारको वातावरण छैन । बर्डरमा न त व्यवस्थित शौचालय छ । न त राम्रो बस्ने ठाउँ छ । र भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न जाँदा त्यहाँ पनि ठाउँठाउँमा वासरुम छैन । लुम्बिनी क्षेत्रका रिक्साचालकले विदेशी पर्यटकहरुलाई अनावश्यक दुःख दिन्छन । इत्यादि कुराहरुको व्यवस्थापनमा हामीले विशेष जोड दिनुपर्छ । किन भने पर्यताखारू नेपाल आइसकेपछि म नेपाल आइसके, एउटा शान्तपूर्ण क्षेत्रमा आइसके भन्ने एउटा फरक सोछाई सोचाइ हुन्छ तर यी साना साना कुराहरुको हामीले व्यवस्थापन गर्न नसक्दा यसले पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पारेको देखिन्छ ।
साथै यसको समाधानका लागि नेपाल सरकार पनि सकारात्मक हुन आवश्यक छ । यदि नेपाल सरकारले यी साना साना समस्याहरु समाधान गरि व्यवस्थित गर्यो भने आउने दिनमा नेपाल विश्वमा एउटा ठुलो पर्यटन बन्न सक्ने निश्चित छ । त्यसको लागि सरकार संगै हामी सबै लाग्नु पर्छ ।
रुपन्देहीलाई पर्यटनको हब बनाउनलाई पर्यटन व्यवसायी र स्थानीय सरकार बीच कस्तो सहकार्य हुन आवश्यक छ ?
रुपन्देहीलाई पर्यटनको हब बनाउनलाई सबै क्षेत्र मिडिया क्षेत्र, होटल व्यवसायी, अस्पताल क्षेत्र, स्थानीय सरकार सबै क्षेत्रका मिलेर सर्वप्रथम राम्रो प्याकेज ल्याउनुपर्ने देखिन्छ । गेष्टहरु नेपाल आइसकेपछि उहाँहरुलाई कसरी अतिथि सत्कार गर्ने भन्ने कुरामा एकदमै जोड दिनुपर्छ । किनभने अबको आउने दिनमा रुपन्देही पर्यटनको हब रुपमा परिणत हुँदैछ । केहि समयमा अन्तराष्ट्रिय विमानस्थल पनि संचालनमा आउँदैछ । गुणस्तरीय होटलहरु पनि निर्माण प्रक्रियामा छन् । पर्यटकहरुको संख्या विगत भन्दा वृद्धि गर्न उद्योग वाणिज्य संघ, पत्रकार, होटल व्यवसायी र स्थानीय निकायका प्रतिनिधि सबै मिलेर अन्तरक्रिया गरि रुपन्देहीलाई पर्यटनको हब बनाउन सबैले आ आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ ।