
भैरहवा । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा विविध साँस्कृतिक कार्यक्रम गर्दै दोस्रो खिचडी महोत्सव मनाइएको छ । थारु समुदायको नयाँ वर्ष २६४६ को अवसरमा थारु कल्याणकारिणी सभा ओमसतिया-४ इकाई कार्य समितिको आयोजनामा शनिबार विविध साँस्कृतिक कार्यक्रम गर्दै मनाइएको हो ।
थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाई मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने उद्देश्यले दोस्रो थारु राष्ट्रिय पर्व माघी (खिचडी) महोत्सव-२०७८ मनाइएको इकाई कार्य समितिका अध्यक्ष रामलखन चौधरीले बताए ।
महोत्सवमा थारुहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु झमटा, झुमरा, झर्रा, लाठिनाच लगायत थारु कला संस्कृति झल्कने संगीतिक प्रस्तुति रहेको इकाई कार्य समितिका सक्रिय सदस्य शैलेन्द्र चौधरीले बताए । थारु कला, संस्कृति र पहिचानको नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले विगत दुई वर्षदेखि महोत्सवलाई निरन्तरता दिँदै आएको उनले बताए ।
थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिका अध्यक्ष रामलखन चौधरीको अध्यक्षता तथा थारु अगुवा धनिराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्जीत कुमार यादव, निर्मल चौधरी, नरसिंह, बिजय बहादुर सिंह लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अनिल कुमार चौधरी, जितेन्द्र थारु र रोशनी कँवरले संयुक्त रुपमा गरेका थिए ।
तस्बिर सौजन्य : मनोज चौधरी (कुर्मी)











