logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा दक्षिण एसियाकै नमुना ध्यानकेन्द्र


    २ माघ २०७८ , आइतबार

    लुम्बिनीमा दक्षिण एसियाकै नमुना ध्यानकेन्द्र

    कमल रायमाझी
    भैरहवा । लुम्बिनीमा निर्माण हुदै गरेको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र आगामी बुद्ध जयन्तीमा उद्घाटन हुने भएको छ । दक्षिण एसियाकै नमुना ध्यानकेन्द्र बन्ने अनुमान गरिएको यो हलमा ५ हजार जनाको क्षमता रहेको लुम्बिनी विकास कोषले जनाएको छ । झण्डै रु. ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रको निर्माण सम्पन्न गर्ने समयावधि २०७९ असारसम्म भए पनि जेठ २ अर्थात् बुद्धजयन्तीमा सकिने लुम्बिनी विकास कोषको सूचना शाखाले जानकारी दिएको छ ।


    पहिलो चरण र दोस्रो चरण गरी दुई चरणमा ठेक्का भएको ध्यानकेन्द्रको समग्रमा ८० प्रतिशत काम सकिएको विकास कोषको योजना शाखाले जनाएको छ । आधुनिक र प्रविधिमैत्री नमुना हलमा १६ वटा भाषा अनुवाद हुने अत्याधुनिक प्रविधि समेत जडान गरिने विकास कोषको सुचना शाखाले जनाएको छ । बुद्धकालिन कला सस्कृति र बुद्धको झल्को दिने आकृतिहरुको वास्तुकलामा निर्माण भइरहेको ध्यानकेन्द्रले लुम्बिनीक्षेत्रको बुद्ध दर्शनको विकासमा समेत सहयोग पुग्ने वास्तुकलाविदहरु बताउँछन् ।
    ध्यानकेन्द्रको बाहिरी घेरामा ९७ वटा बुद्धका मुर्तीहरु राखिनाले समेत ध्यानकेन्द्रको आर्कषण बढ्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउँनुहुन्छ । वि.स.२०७५ वैशाख १७ गते राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा शिलान्यास भएको ध्यानकेन्द्रको क्षेत्रफल ३ सय ८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तरािष्ट्रय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो हल निर्माण सम्पन्न भएपछि उपयोगि हुनेछ । सदस्य सचिव शाक्य भन्नुहुन्छ, “दक्षिण एसियामा नै बुद्ध कला र संस्कृती झल्किने नमुना र ठुलो ध्यानकेन्द्र यो नै हो ।” साना र ठुला गरि ५५ वटा ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याड समेत निर्माण गरिने लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताउनुभयो । ध्यानकेन्द्रको निर्माण संगै यसको वरिपरीको सुन्दरीकरण, अतिथि भवन, पाक्र्रिङ्, शौचालय, पानीको फोहोरा, मुलद्धार निर्माण जस्ता कामहरु तिब्ररुपमा भइरहेका छन् ।
    लुम्बिनी, बाबुल र अर्घाखाँची जेबी निर्माण कम्पनीद्धारा निर्माण भइरहेको ध्यानकेन्द्रलाई तोकिएको समय भन्दा अगाडी सम्पन्न गर्ने र गुणस्तरियतालाई प्राथामिकतामा राखिएको निर्माणकर्ता सफिक अहमद खाँनले जानकारी दिनुभयो । उहाँले लुम्बिनी जस्तो पवित्र स्थलमा निर्माण भइरहेको ध्यानकेन्द्रको गुणस्तरितामा कुनै प्रकारको कमजोरी नगरिने भन्दै गुणस्तरिय र तोकिएको मापदण्डमा काम भइरहेको बताउँनुभयो ।
    लामो समय देखि बुद्धकालिन सम्पदाहरुको क्षेत्रमा काम गरिरहेका निर्माण कम्पनीहरुले लुम्बिनीको समग्र विकास र निर्माणक्षेत्रमा महत्वपुर्ण काम गरिरहेको निर्माण व्यवसायी सन्तोष अधिकारी बताउँनुहुन्छ । उहाँले लुम्बिनी भित्र र वाहिर हुने विकास निर्माणमा लुम्बिनी, बाबुल र अर्घाखाँची जेबी निर्माण कम्पनीले गर्ने काममा प्राविधिक पाटो सफल रहेको जानकारी दिनुभयो । लुम्बिनीको गुरुयोजना पुरा गर्ने थप जिम्मेवारी पाएका यी निर्माण कम्पनीहरु विगत लामो समय देखि यस क्षेत्रमा काम गरिरहेका अनुभव देखिन्छ ।
    बौद्ध सम्पदामा काम गरेको लामो अनुभव भएकाले पनि यिनीहरुले गर्ने कामहरु गुणस्तरिय र मापदण्ड अनुसार हुने लुम्बिनी विकास कोषले पनि जनाएको छ । सडक देखि प्रवेशद्धारहरु र वृक्षारोपणका कामहरुलाई निरन्तरता दिएको लुम्बिनी विकास कोषले अबको केहि वर्षमा वास्तुकलाविद् केञ्जो टाङगेले तयार गरेको गुरुयोजना पुरा गर्ने चरणमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनी, राजदरवार तिलौराकोट, मावली देवदह र अस्तुधातु भएको रामग्रामको विकासमा पनि विकास कोषले थप सोच्नुपर्ने देखिन्छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.