logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    असहाय, गरिब र वृद्धको पक्षमा हामीले काम गर्नेछौं : अध्यक्ष खत्री


    २६ असार २०७९ , आइतबार

    असहाय, गरिब र वृद्धको पक्षमा हामीले काम गर्नेछौं : अध्यक्ष खत्री

    भोज बहादुर खत्री

    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको वर्ष २०२२/०२३ का लागि रोटरियन भोज बहादुर खत्री अध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न सामाजिक संघसंस्थामा अबद्ध उनी एक सफल होटल व्यवसायी पनि हुन् । उनीसँग रोटरीको समसमायिक विषयमा लुम्बिनीखबरका लागि जितेन्द्र थारुले गरेको संक्षिप्त कुराकानी  :

    रोटरी भनेको के हो ?

    रोटरी भनेको ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने रोटरी इन्टरनेशनलको मूलमन्त्रबाट प्रेरित भई समुदायमा आधारित समाज सेवा गर्ने उद्देश्यले सञ्चालित क्लब हो । यस क्लबले विभिन्न व्यावसायिक तथा पेशागत अनुभव र क्षमता भएकालाई एकीकृत गरी समय व्यवस्थापनका आधारमा समय निकाली सामुहिक रूपमा मानवीय सेवामा समर्पित, उच्च आचरणका साथ कार्य गर्दछ । यो संस्था मुनाफा रहित संस्था हो । अन्तर्राष्ट्रिय समझदारी, सदासय, विश्वशान्ति, समाजमा रहेका विपन्न वर्ग तथा समुदायको हित तथा सहयोगको लागि यो संस्था सधै अग्रसर हुँदै आएको छ । केवल समाज सेवाको लागि सन् १९०५ फरवरीमा अमेरिकाबाट सुरुवात भएको यो संस्थामा करिब १२ लाख रोटरियनहरु आबद्ध हुनुहुन्छ । समाज रुपान्तरणका लागि यो संस्थाको महत्वपूणर् भूमिका छ ।

    आमसाधारण मानिसले बुझ्ने भाषामा भन्नुपर्दा रोटरीले केके काम गर्छ ?

    सर्वप्रथम त समाज रुपान्तरण गर्न रोटरीले प्रमुख भूमिका निर्वाह गरेको छ । विश्वबाट पोलियो उन्मूलन गर्ने काम पनि रोटरीबाट नै सम्भव भएको हो । संसारभरि ३ वटा देश, पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेक बाँकी सम्पूणर् देशहरुमा पोलियो निर्मूल भएको अवस्था छ । त्यस्तै बाल स्वास्थ्य, आधारभुत शिक्षा, द्धन्द्ध व्यवस्थापन, वाटर एण्ड सेनीटेसन, आर्थिक विकास व्यक्ति विकास, समाज विकास आदि क्षेत्रमा रोटरीले महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको छ । रुपन्देहीकै कुरा गर्ने हो भने बुटवलमा सञ्चालित मुटु हस्पिटलको स्थापना पनि रोटरीले नै गरेको हो । त्यस्तै काठमाडौं, स्याङजा, दाङ लगायतका ठाउँमा डायलिसिस सेन्टरहरुको स्थापना पनि यो संस्थाले गरेको छ । समग्रमा भन्नुपर्दा रोटरीले निस्वार्थ रुपमा सामाजिक कार्यहरु गर्ने गर्दछ ।

    रोटरी, लायन्स जस्ता क्लबमा जम्मा गरिएको पैसा विदेसिन्छ भन्ने गरिन्छ, यसबारे के भन्नुहुन्छ ?

    सबै भन्दा पहिलो कुरा मानिसको बुझाईमा कमी हो, यहाँले भने जस्तो पैसा विदेश जाने होइन बरू विदेशबाट पैसा नेपालमा आउँछ । विलग्रेट भन्दा पछिको विश्वमै सबै भन्दा ठूलो कोष भएको संस्था रोटरी इन्टरनेश्नल नै हो । रोटरीयनले प्रति वर्ष जम्मा गरेको ५९.५ डलर रकम प्रति वर्ष त्यो कोषमा जम्मा हुने गर्दछ । हामीले समाज रुपान्तरणका निम्ती बनाइएको परियोजनाका निम्ती त्यही कोषमा रहेको रकम दोब्बर भन्दा बढि आउने गर्दछ ।

    तपाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्ष हुँदैगर्दा कस्ता सामाजिक कार्यहरु गर्ने योजना बनाउनु भएको छ ?

    भर्खर मात्रै म क्लबको अध्यक्षमा चयन भएको छु जुन कुरा यहाँहरुलाई थाहा नै छ । आफ्नो कार्यकालमा सबैभन्दा राम्रो काम गर्नु पर्छ भन्ने अपेक्षा त जो सुकैमा पनि हुनु स्वभाविक हो । केहि त क्लबका नियमित कामहरु हुन्छन् । तर त्यो सँगसँगै विभिन्न सामाजिक कार्यहरु गर्ने योजना पनि बनाएको छु । असारभित्रै हामीले वृक्षारोपण गर्ने योजना बनाएका छौं, जुन हाम्रो पहिलो काम हुनेछ । त्यस्तै आँखा शिविर सञ्चालन गर्ने योजना पनि रहेको छ । गरिब, अशहाय बालबालिका जो शिक्षाबाट बञ्जित हुनु परेको छ त्यस्ता बालबालिकाहरुका लागि ग्रामिण क्षेत्रका विद्यालयमा गएर शैक्षिक सामाग्रीहरु वितरण गर्ने तथा मठमन्दिरमा गएर गरिब, मगन्ते र अशक्त मानिसहरुलाई सहयोग गर्ने क्लबको योजना छ ।

    अबको दिनमा तपाई अध्यक्ष भएको क्लबले सामाजिक विकासमा कस्तो भूमिका खेल्नेछ ?

    सपना धेरैले देख्छन् । देखेका सबै सपनाहरु पूरा हुन सक्दैनन् । तर सपना देख्नु स्वभाविक हो । म अध्यक्ष भएको क्लबले अबको दिनमा यस क्षेत्रको सामाजिक विकासमा कसैले नगरेको काम गर्नेछ । यस क्लबमा ८६ जना सदस्यहरु रहेका छौं । क्लबका सबै सदस्यहरुको सुझाव सल्लाह संकलन गरेर सबैको साथ समर्थनले यस क्षेत्रको सामाजिक विकासमा हातेमालो गर्न जमर्को गरेका छौ । आफू अध्यक्ष भएपछि मैले एउटा महत्वपूणर् योजना पनि बनाएको छु । सुनौली भन्सार नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई मध्यनजर गरेर मैले सुनौली नाकामा व्यवस्थित शौचालय निर्माण गर्ने योजना क्लबमा अघि सारेको छु । त्यस्तै मर्चवार लगायतका विकट क्षेत्रका विद्यालयमा अहिले पनि शुद्ध र व्यवस्थित खानेपानीको सुविधा छैन, त्यसलाई मध्यनजर गरेर हामीले त्यस्ता विकट क्षेत्रमा धाराको व्यवस्थापन गर्ने पनि योजना बनाएका छौं । त्यस्तै बालापुर स्थित रहेको सत्यसाई विद्याश्रममा ह्विलचेयरको व्यवस्थापन गर्ने जस्ता विभिन्न योजनाहरु बनाएर यो क्लबले सामाजिक विकासमा महत्वपूणर् भूमिका खेल्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.