मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई मर्चवारी बासीका लागि परिचित नाम हो । जनताको सेवकको रुपमा परिचय दिएको उनले ले स्थानीय निर्वाचन २०७९ मा लोकप्रिय मतका साथ मर्चवारी गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुन पुगेका छन् । उनै बरईसँग लुम्बिनीखबरका मर्चवार प्रतिनिधि असलम खानको सहयोगमा तयार पारिएको अन्तरवार्ता :
यहाँ मर्चवारी गाउँपालिकाको स्थानीय निर्वाचन २०७९ मा सम्मानजनक मतका साथ पालिका अध्यक्षमा निर्वाचित हुदा कस्तो अनुभव गर्नु भएको छ ?
म सधै जनताको सेवक हो । अहिले पनि जनताको माझमा छु । उहाँहरुको सल्लाह सुझाव र सहकार्यमा मेरो योजनाहरु अगाडि बढ्ने गरेको छ । म २०५४ सालमा गाउँ विकास समितिको उपाध्यक्ष भएर एक कार्यकाल काम गरिसकेको जनप्रतिनिधि भएकाले जनताको समस्याहरुसँग प्रत्यक्ष जानकार पनि छु । शिक्षा, स्वास्थ्य र विकास निर्माण मेरो पहिलो प्राथमिकतामा छ । शिक्षाक्षेत्रको समस्या बुझ्नका लागि अहिले विद्यालयहरुमा दैनिक जसो जाने र शिक्षाविद्हरुसँग छलफल गर्ने काम पनि गरिरहेको छु । पालिकास्तरको निणर्यबाट १५ बेडको अस्पताल निर्माण प्रकृया शुरु भएको छ । रेविजको भ्याक्सिनको व्यवस्था पनि अहिले गाउँपालिकाबाट गराएको छु । गाउँपालिकाभरका जनताका लागि बिरामी भएको अवस्थामा आपत्कालीन एम्बुलेन्स सेवा नि:शुल्क गराएको छु । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन । त्यसको निर्माण प्रकृया शुरु गराएको छु । चारवटा वडा कार्यालयहरुको आफ्नै भवन छैनन् । त्यसको निर्माणका लागि पहल गरेको कुरा यस सञ्चार माध्यमबाट जानकारी गराउन चाहन्छु । त्यसकारण म जनताको सेवक भएको कारणले जनताबाट सम्मानजनक मतका साथ विजय हँुदा जनसेवामा लाग्न थप प्रेरणा प्राप्त भएको छ ।
यहाँ पालिकाको अध्यक्ष भएर आउँदै गर्दा पाँच वर्षे प्रमुख योजनाहरु के–के बनाउनु भएको छ ?
समाजको विकासका लागि पहिलो खुट्किलो भनेको शिक्षा हो । शिक्षा मेरो पहिलो प्राथमिकतामा परेको छ । मर्चवारमा प्राविधिक (टेक्निकल) शिक्षा अध्ययन गर्ने विद्यार्थी धेरै छन् । तर कलेज छैन । एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने योजनामा म लागेको छु । त्यसको लागि प्रदेश र संघसँग पहल पनि भैरहेको छ । दोस्रो भ्रष्टचारको अन्त्य हो । आफ्नो गाउँपालिकामा भ्रष्टचार अन्त्य गर्नका लागि मेकानिज्म तयार गरी अगाडि बढिरहेको छु । गाउँपालिकाका सबै जनप्रतिनिधिहरुलाई भ्रष्टचार नगर्ने प्रतिबद्धता गराएको छु । जनप्रतिनिधिहरुलाई सरकारी सवारी साधन प्रयोगमा रोक लगाएको छु । म आफै पनि भ्रष्टचार गर्दिन र पाँच वर्षसम्म सरकारी सवारी साधन प्रयोग नर्गेन जनतालाई भनेको छु । त्यसको रकमबाट नि:शुल्क एम्बुलेन्स सेवाका लागि खर्च गरिरहेका छौ । मर्चवार क्षेत्रको लागि सिचाई योजनालाई व्यवस्थित गर्ने तथा नहरको पानि गाउँपालिकाको पश्चिमतिर रहेको नहरमा खसालेर माछापालन तथा कृषकका लागि सिचाईको व्यवस्था गर्ने हाम्रो योजना रहेको छ । मर्चवारमा सवै किसिमको सुविधा सम्पन्नको अस्पताल निर्माण गर्ने योजनामा गाउँपालिका छ । शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकासमा मेरो पाचँ बर्षे योजना रहेको छ ।
जनताले गौरव गर्न लायक केके काम गर्नुहुन्छ ,होला ?
जनतालाई गरेको बाचा पूरा गर्ने काम मेरो पहिलो रोजाई हुन्छ । त्यसपछि गाउँपालिकाको विकासमा योजनाबद्ध काम गर्ने हो । यहाँका जनप्रतिनिधि, कर्मचारी र जनता बीच आपसी छलफल तथा सहकार्यमा मर्चवारको विकासलाई थप व्यवस्थित गर्दै शिक्षा, कृषि र स्वास्थ्यक्षेत्र महत्वपूर्ण कामहरु हुने छन् ।
तत्काल जनताको चाहना पूरा गर्ने योजना केके छन् ?
निर्वाचनका बेला म मर्चवारी गाउँपालिकाको बस्तीबस्ती पुगेको छु । आजको युगमा पनि मानिसहरु पालमुनी बसिरहेका छन् । एकछाक खानका लागि पनि समस्यामा परेको मैले देखे । उनीहरुको समस्या समाधानका लागि पहिलो प्राथमिकता मेरो रहेको छ । आवास नहुनेका लागि दुई कोठे पक्की आवास र खान नहुनेका लागि खानाको व्यवस्था मैले गराउने छु । चालु आर्थिक वर्षमा गरिब आवासका लागि ९० लाख बजेट समेत विनियोजित गरेको छु । गाँउपालिकाको दक्षिण क्षेत्र र उत्तर क्षेत्रमा दुईवटा कन्या विद्यालय स्थापना गराउने प्रकृयामा हामी छौ । मर्चवारी गाउँपालिका भित्र जन्मेका छोरीहरुका लागि विमा योजना लागु गरेको छु । त्यसको रकम रु. २० हजार हुने छ । त्यो रकम २० वर्ष पछि निकाल्न पाउने व्यवस्था हुनेछ । पाँच वर्षभित्र गाउँपालिका भित्र कुनै पनि कच्ची बाटो हुने छैन । सबै बाटो पक्की गर्ने छु । त्यसकारण छोरी बिमा, गाउँपालिका अध्यक्ष गरिब आवास भवन र कन्या विद्यालय स्थापना मेरो पहिलो प्राथमिकता रहेको छ । जनतासँग प्रत्यक्ष जोडिएका सवै विषयमा हाम्रो सरोकार, सहकार्य र सहयोग हुनेछ ।
युवा रोजगारका लागि यहाँको योजना के छ ?
यहाँका युवाहरु बाहिर काम गर्न जाने चलन छ । प्रधानमन्त्री रोजगार कार्यक्रम छ । त्यसका लागि कम बजेट छ । यहाँ उद्योगहरु छैनन् । उद्योग स्थापनाका लागि लुम्बिनी विकास कोषले बन्देज गरेको छ । कोषको १५ किलोमिटर एयर डिस्टन्समा कुनै पनि उद्योग सञ्चालन गर्न नपाउने प्रावधानले गर्दा हामीले रोजगारमुखी उद्योग स्थापना गर्न पाएको छैनौ । यसका लागि सरकारले हामीलाई मर्चवारमा ठुला उद्योग खोल्ने अनुमती दिनुपर्दछ । उद्योग खोल्न सके युवाहरुलाई रोजगार दिन सकिन्छ । त्यसको अलवा कृषिक्षेत्रमा युवाहरुलाई कसरी रोजगारमुखी बनाउने भन्ने हाम्रो योजना छ । अन्य प्रविधिक्षेत्रमा पनि हामीले युवा रोजगारका कार्यक्रमहरु ल्याउने सोचमा छौ ।
यस गाउँपालिकामा सेवाग्राहीलाई दिने सेवामा निकै ढिलासुस्ती हुने गरेका गुनासाहरु छन् नि ?
विगतमा थिए होलान् । अब त्यो सम्भावना छैन । मैले गाउँपालिकाभित्र आउने प्रत्येक नागरिकको रेकर्ड राख्ने गरेको छु । त्यसका लागि एक कर्मचारी खटाएको छु । गाउँपालिकामा कुन मानिस के कामका लागि आयो आउँदा रेकर्ड राख्ने र जाने बेलामा काम भयो भएन पुन रेकर्डमा जनाउने व्यवस्था छ । त्यो रेकर्ड अर्को दिन बिहान चेक गर्ने गरेको छु । त्यसकारण अब गाउँपालिकामा सेवाग्राहीले दु:ख र गुनासाहरु भए त्यो कर्मचारीलाई तुरुन्त कार्वाही गरिने छ । त्यसकारण अब मर्चवारीमा सेवाग्राहीले कुनै प्रकारको ढिला सुस्ती र कर्मचारीबाट अपमान सहनु पर्दैन ।
गाउँपालिकाको व्यवस्थित र सुन्दरीकरणका लागि केके योजना ल्याउनुभएको छ ?
मर्चवारी गाउँपालिकालाई हराभरा र सुन्दरताका लागि हामीले प्रदेश सरकारसँग बजेटको माग गरेका छौ । प्रदेश सरकारको बजेट प्राप्त भयो भने गाउँपालिकाले सार्वजनिक स्थलहरुको सुन्दरीकरण, स्कुल, कलेज र अस्पतालहरुको सुन्दरताका लागि काम गर्ने साँेचमा छौ । गाउँपालिका भित्रका पोखरीहरुको सुन्दरी करण गर्ने सोँचमा पनि हामी छौँ ।
यहाँ निर्वाचित हँुदै गर्दा पराजित हुनेहरु पनि यहाँ छन् । गाउँपालिकाको विकासका लागि उनीहरुसँग कसरी सहकार्य गर्नुहुन्छ ?
यहाँ प्रतिपक्षहरु नै छैनन् । निर्वाचनका बेला बाहिरबाट आउँछन् । निर्वाचन पछि पुन: बाहिर गए । उनीहरुसँग सहकार्य गरेर काम गर्ने अवसर मसँग छैन । तर मेरो काममा सबै वाच गर्नुपर्दछ । स्टुमेट अनुसार काम नभएको विरोध गर्नुहोला । सबैकाम व्यवस्थित र स्टुमेटमा भएको हुनेछ । भ्रष्टचारको अन्त्य हुनेछ । सबैसँग सहकार्य गरेर गाउँपालिकाको विकासमा म लाग्ने छु ।
यहाँले निर्वाचनका बेला जनता माझ गरेका प्रतिबद्धता पुरा हुन्छन् ?
अवश्य हुन्छन् । म विहान देखि साझ सम्म गाउँपालिकाका सवै वडाहरुमा पुग्ने गरेको छु । निर्वाचनका बेलामात्र नभएर निर्वाचित भएपछि पनि जनताको घरदैलोमा पुग्ने गरेको छु । उहाँहरुको समस्याहरु संग छलफल गरेर समाधान तर्फ अग्रसर छु । निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु क्रमैसँग पुरा गर्नेमा म विश्वस्त छु । जनतालाई पनि पुन: यही विश्वास दिलाउन चाहन्छु ।
अन्त्यमा, लुम्बिनीखवर मार्फत मर्चवारी बासीलाई के भन्न चाहनुहुन्छ ?
मलाई विश्वास गरेर बहुमतका साथ जिताउनु भयो । जसले मलाई तपार्इँहरुको सेवक बन्ने अवसर प्र्राप्त भएको छ । यहाँहरुले मप्रति गरेको विश्वास कहिल्लै पनि डगमगाउन दिने छैन । मर्चवारी बासीको सल्लाह सुझाव र निर्देशनमा मेरा पाइलाहरु अगाडि बढ्ने छन् । यहाँको विकास र निर्माणमा मेरो सधै सकृयता रहन्छ । तसर्थ ढुक्क हुनुहोस् म मर्चवारको विकासलाई अगाडि बढाउन सधै सकारात्मक र परिश्रम गर्ने छु । यस लोकप्रिय पत्रिका मार्फत सबै जनताप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु ।