कमल रायमाझी
भैरहवा, २८ भदौ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा नि:शुल्क शाकाहारी भोजन दान गरिएको छ । लुम्बिनी स्थित राजकिय थाई बिहार र विश्व प्रकास प्रतिष्ठानको सहकार्यमा नि:शुल्क शाकाहारी खाना खुवाउने कार्यक्रम भएको हो ।

लुम्बिनीको थाई बिहार परिसरमा भदौ २५ गते देखि शुरु भएको भोजन दान भदौ २९ गते सम्म चल्ने छ । लुम्बिनीमा रहेका बौद्ध भिक्षु, लुम्बिनी विकास कोषका कर्मचारी, स्थानीय, बिद्यार्थी र पर्यटकहरुलाई भोजन दान गरिएको थाई बिहारले जनाएको छ । पाचँ दिवसीय शाकाहारी भोजन दान बुद्धको जन्मेको पवित्रस्थलमा गर्दा अंहिसाको मार्गलाई संसारभर पुराउनका लागि गरिएको हो । राजकिय थाई बिहार लुम्बिनीका प्रमुख भिक्षु सुफोट भन्तेले भने, “शाकाहारी भोजनले मानिसको जिवनमा शुद्धता ल्याउन सहयोग गर्दछ । लुम्बिनी क्षेत्रमा शाकाहारी भोजनलाई प्राथामिकतामा राख्न सकिए बुद्ध बचनले सार्थकता पाउने छ ।” भन्तेका अनुसार– लुम्बिनीमा आउन चाहाने संसारभरका बौद्ध धर्मालम्बी,पर्यटक र पर्यटन व्यवसायीहरुलाई सकारात्मक सन्देश दिनका लागि समेत शाकाहारी भोजन दान गरिएको हो । गत बर्ष देखि शुरु गरिएको नि:शुल्क भोजनदानलाई अव निरन्तरता दिने अभियानमा आफुहरु रहेको विश्व प्रकास प्रतिष्ठान थाईल्याण्डका अध्यक्ष मनिराम भुसालले जानकारी दिए । दैनिक ७ सय भन्दा बढिको सख्यामा मानिसहरु अहिले लुम्बिनीमा भएको भोजन दानमा सहभागी भएका छन् ।

भुसालले भने,“ मानव शरिरलाई पवित्र बनाउनका लागि यो अभियान शुरु गरिएको हो । जुन थाईल्याण्ड देखि शुरुभएर संसारभरका २७ देशमा पुगेको छ । अमेरिका, कम्बोडिया, लाओस, मलेसिया, बर्मा, सिंगापुर र नेपालमा बैधानिक रुपमा दर्ता भएर विश्व प्रकास प्रतिष्ठानले नैतिक शिक्षा समेत प्रदान गर्न शुरु गरेको छ । आध्यात्म र नैतिक शिक्षालाई अगाडी बढाउनका लागि लुम्बिनीमा रहेको थाई बौद्ध बिहारको भुमिका महत्वपुर्ण छ । विगत २० बर्ष भन्दा अगाडी देखि लुम्बिनीको विकास र विस्तारमा समेत राजकिय थाई बिहार लुम्बिनीले सहयोग पुराएको लुम्बिनी बिकास कोषले जनाएको छ ।

थाई बिहारले लुम्बिनी आसपासको क्षेत्रमा विभिन्न समयमा नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया समेत नि:शुल्क गराउने गरेको लुम्बिनीबासी बताउँछन् । कोरोनाको महामारीको समयमा समेत अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई थाई बिहार लुम्बिनीले नि:शुल्क स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । बुद्ध जन्मस्थल लुम्बिनीलाई शाकाहारी भोजनको अभियानको नेतृत्व गरेको थाई बिहारले शान्ती र अहिंसाको मार्गलाई समेत आत्मसात गरेको देखिन्छ । बुद्ध बचनको सधै परिपालक राजकिय थाई बिहार लुम्बिनीले नेपालमा नैतिक शिक्षा र बौद्ध ज्ञानलाई मानिसको मनसम्म पुराउने काम गरिरहेको छ । लुम्बिनीमा बौद्ध धर्मालम्बी र पर्यटक आगमनका लागि भुमिका खेलेको थाई बिहारले सामाजिक क्षेत्रमा समेत विभिन्न कामहरु गरेको स्थानीयहरु बताउँछन् ।

नेपालमा रहेका बुद्धस्थलहरुको प्रचार र प्रसारमा लुम्बिनी विकासकोष संग थाई बिहार लुम्बिनीले सहकार्य गरेको विकास कोषको सुचना शाखाले जनाएको छ । बौद्ध दर्शनको विकास र विस्तारका लागि नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट र कुदानमा समेत थाई बिहारहरु रहेका छन् । जसले बौद्ध धर्म र बौद्ध शिक्षालाई संरक्षण गर्ने काम गरेका छन् ।