भैरहवा, १५ कार्तिक । नेपालमै काठमाडौं पछिको पहिलो अत्याधुनिक तथा सुविधा सम्पन्न भैरहवाको सिद्धार्थ बस टर्मिनल अहिले खण्डहर बनेको छ । वि.स. २०५६ सालमा तत्कालिन नगरप्रमुख सागरप्रताप राणाको नेतृत्वमा सिद्धार्थनगर नगरपालिकाले नगर गौरवको आयोजना अन्र्तगत कर्जा सापटी तथा नगरको आन्तरिक लगानीमा निर्माण भएको यो वसपार्क खण्डहरमा परिणत भएको देखिन्छ ।
करिब ६ बिघा क्षेत्रफलमा फैलिएको यो बसपार्क सिद्धार्थनगर नगरपालिका र शहरी विकास मन्त्रालयको सहकार्यमा निर्माण गरिएको हो । वि.स. २०५६ सालमा करिब ३ करोड लागत निर्माण र वि.स. २०७४ सालमा करिब साढे १२ करोड लागतमा बसपार्कको स्तरोन्नती गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।
अत्याधुनिक तथा सुविधा सम्पन्न बसपार्कको परिकल्पना र योजनामा निर्माण भएको यो बसपार्कमा बस पार्किङ स्थल, सार्वजनिक शौचालय, फुटपाथ, वर्कसप भवन, यात्रु प्रतिक्षालयहरु, हरियाली, सोलार बत्ती निर्माण भएका छन् । राज्यको ठूलो रकम खर्च गरेर निर्माण गरिएका यी संरचनाहरु समयमा मर्मत संम्भार र व्यवस्थापन नगर्दा बसपार्कलाई नै अशोभनीय बनाएको देखिन्छ ।
यहाँ अहिले अव्यवस्थित बस तथा नीजि सवारीको पार्किङ, यात्रुहरुलाई निषेध गरिएको तालाबन्दी अवस्थाको सार्वजनिक शौचालय, भत्किएको फुटपाथ, प्रयोग विहिन वर्कसप भवन, खण्डहर तथा फोहोर यात्रु प्रतिक्षालयहरु र अस्तव्यस्त सोलार तथा विद्युतियकरण भएको बस व्यवसायीहरु बताँउछन् । बसपार्कको पछाडी शहरी विकास मन्त्रालयले निर्माण गरिदिएका टायर बिक्री सेन्टर, मर्मत सेन्टर, डिजेल तथा पेट्रोल बिक्री कक्षहरु निर्माण गरिएपनि प्रयोग विहिन अवस्थामा रहेको सिद्धार्थ बसपार्कमा आउने चालकहरु बताउँछन् । व्यवसायी प्रयोजनका लागि निर्माण गरिएका सटरहरुको पुर्ण प्रयोग समेत यहाँ गर्न सिद्धार्थनगरपालिका चुकेको देखिन्छ । निर्माण हुन बाकी रहेको व्यवसायीक सुपरमार्केट भवन समेतको निर्माण कार्य नगरपालिकाले अलपत्र बनाएको छ ।
सुन्दर, सफा, व्यवस्थित र हरियाली बसपार्कको अवधारणा नगरपालिकाले अगाडी सारे पनि अहिले बसपार्कमा फोहोरका थुप्राहरु, अस्तव्यस्त बसपार्क र मर्मत सम्भार नभएका सडकहरु भेटिन्छन् । बसपार्कको प्रवेश मार्ग र निकास हुने मार्ग फत्किएर धुलाम्मे बनेको तर नगरपालिकाले कानमा तेल हालेर बसेको यात्रुहरुको आरोप रहेको छ । बार्षिकरुपमा प्रवेश मार्ग र निकास मार्ग मर्मतका लागि लाखौ रकम खर्च गरिएको नगरपालिकाको योजना रेर्कड देखिए पनि भत्किने क्रमले भने निरन्तरता पाएको देखिन्छ । त्यसकारण बसपार्कको प्रवेश र निकास क्षेत्रमा बलियो तथा आरसीसी सडक निर्माण गर्नुपर्ने बस चालकहरुको माग रहेको छ । बसपार्क मर्मतका नाममा बार्षिकरुपमा ठूलो रकम निकासा गर्ने र मर्मत जस्तो झाराटार्ने काम गरि बजेट खाने क्रमलाई रोक्न समेत उनिहरुले आग्रह गरेको छन् । बसपार्क भित्र यात्रुहरुका लागि निर्माण गरिएको सार्वजनिक पार्क समेत तालाबन्दी गरेर थुनिएको छ । फोहोरा सहितको रमणीय उक्तपार्क यात्रुहरुलाई विश्राम गर्न र घुम्नका लागि निर्माण गरिएको थियो । तर नगरपालिकाले योजना अनुसारको कार्यन्वयन गर्न नसकेको स्थानीयहरुको आरोप छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडेल नगरपालिको व्यवस्थापन गर्नुपर्ने विषयमा आफूलाई जानकारी रहेको बताए । बसपार्कलाई व्यवस्थित र उचित व्यवस्थापनमा सञ्चालन गर्ने सोच भए पनि बजेटको अभावमा केहि गर्न नसकिएको जानाकारी दिए । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले बसपार्कलाई हरियाली र व्यवस्थित बनाउने योजनाका साथ नगरपालिका अगाडी बढेको बताउदै बजेट व्यवस्थापनमा आफू सक्रिय भएको बताए । नेपालमा आधुनिक बसपार्क भित्र पुरानो यो बसपार्कलाई पर्यटकीयरुपमा आर्कषण बनाउने योजनामा सिद्धार्थनगर रहेको नगरप्रमुख खानले जानकारी दिए । सद्धार्थ बस टर्मिनल अहिले सिद्धार्थनगरपालिकाको मातहतमा सञ्चालनमा रहेको छ । यहाँ बस पार्किङ शुल्क, सटर भाडा लगायतका शुल्कहरु उठाउने जिम्मा पनि नगरपालिकाको छ । यहाँ आउने बसको पार्किङ तथा प्रवेश शुल्क समेत नगरपालिका आफैले उठाउदै आएको बस चालकहरु बताँछन् । तर यहाँको विकास र व्यवस्थापनमा भने नगरपालिका उदासीन देखिन्छ । पर्यटक आगमनको मुख्य मार्गको शुरुवातमा रहेको यो बसपार्कको हरिबिजोक अवस्थाले मानिसमा वितृष्णा गराउने गरेको छ । यसको लागि सिद्धार्थनगर नगरपालिकाले दिर्घकालिन सोचका साथ काम गर्नुपर्दछ ।