ओमसतिया, चैत ७ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१ ठुटिपिपलको आयोजनामा भइरहेको ११औं नवयुवा कप फूटबल प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा ३ गोलको विरुद्ध ४ गोलले न्यू राइज क्लब बभनी तिलोत्तमा–१४ विजयी भएको छ ।
ओमसतिया–२, स्थित कर्मडाँडा खेल मैदानमा न्यू राइज का ७ नं. जर्सीका अभिषेक महतोले पहिलो हाफको २०औं मिनेटमा गोल गरेर अग्रता दिलाए पनि प्रतिद्वन्दी समपूर्ण क्लबका जर्सी नं. ४ का राम शाहीले पहिलो हाप कै ३७औं मिनेटमा पाएको पेनाल्टी अवसरलाइ गोलमा रूपान्तर गरी आफ्नो क्लबलाई बराबरको स्थितिमा ल्याएका थिए ।
८० मिनेटको पूरा खेलमा दुबै टिमबाट थप गोल हुन नसके पछि प्रतियोगिता सडेन डेथ गएको थियो । सडेन डेथको ट्राई बेकर शुटमा न्यू राइजको गोल रक्षक प्रदिप भण्डारीले २ वटा गोल रक्षा गर्न सफल भए पछि न्यू राइज क्लब आगामी शनिबार हुने फाइनलमा प्रवेश गर्ने पहिलो टीम भएको छ ।
बिहीवार हुने दोश्रो सेमिफाइनल खेल आयोजक संस्था नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र सन्जिवनी युवा क्लब बाग्धुरा बीच हुनेछ । म्यान अफ दी म्याच न्यू राइजको गोलरक्षक प्रदिप भण्डारीलाई आयोजक संस्थाको पूर्व अध्यक्ष लक्ष्मण कुमार थापाले प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको छ ।