लुम्बिनीखबर
भैरहवा, १६ असार । समयमै वर्षा नहुँदा मध्य असारसम्म पनि लुम्बिनी प्रदेशमा धान रोपाइँ पर्याप्त हुन सकेको छैन । पछिल्लो हप्तादेखि मुलुकमा मौसम भित्रिएको छ । अहिले दैनिक पानी परिरहेको छ । तर, असार सुरुदेखि नै वर्षा नहुँदा रोपाइँ लक्ष्यअनुसार हुन नसकेको हो । प्रदेशमा मध्य असार अर्थात् १५ गतेसम्म धान रोपाइँ जम्मा १८ दशमलव ५० प्रतिशत भएको छ ।
लुम्बिनी प्रदेशमा ६ लाख ७९ हजार ६ सय १३ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ११ हजार ६ सय ४३ हेक्टर जमिनमा मात्रै धान खेती हुँदै आएको छ । यसमध्ये अहिलेसम्म प्रदेशका १२ जिल्लामा ५७ हजार ६ सय ६७ हेक्टर जमिन अर्थात् १८ दशमलव ५० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले लामो समय खडेरी परेका कारण किसानले समयमै धान रोपाइँ गर्न नपाएको जनाएको छ । असार १५ सम्म पहाडी जिल्लामा धान रोपाइँ राम्रो देखिए पनि तराईका जिल्लामा भने निकै कम रोपाइँ भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
प्रदेशमा सबैभन्दा धेरै प्युठान र सबैभन्दा थोरै बाँके जिल्लामा धान रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । प्युठानमा ८० प्रतिशत रोपाइँ भएको छ । यहाँ सिंचाईबाट हुने रोपाइँ चाँडै भए पछि मूल नफुट्दा पूरै क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन । बाँके जिल्लामा जम्मा २ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता सन्देश धितालले बताए । ‘ढिलोगरी वर्षा सुरु भएका कारण धानको बीउ राखेका किसानले समेत धान रोपाइँ गर्न पाएका छैनन्’, उनले भने, ‘अहिले दैनिक वर्षा भइरहेको छ, जसले गर्दा रोपाइँको रफ्तार बढ्ने देखिन्छ ।’
सिँचाइ सुविधा पुगेका पहाडी जिल्ला रोल्पामा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, नवलपरासी पश्चिममा ५८ प्रतिशत, बर्दियामा २३ दशमलव ८ प्रतिशत, रुपन्देहीमा २३ प्रतिशत, अर्घाखाँचीमा २२ प्रतिशत, रुकुमपूर्व र गुल्मीमा समान ११ प्रतिशत, दाङमा १० प्रतिशत धान रोपाइँ भएको उनले जानकारी दिए । पाल्पामा ९ प्रतिशत र कपिलवस्तुमा जम्मा ४ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले बताएको छ ।
असार १५ (शनिबार) लाई सरकारले धान दिवसको रूपमा मनाउँदै गर्दा लुम्बिनी प्रदेशमा सिँचाइ अभावका कारण किसानले चाहेको जसरी वर्षे धान लगाउन भने पाएका छैनन् । लुम्बिनीमा बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको सरकारले बताइन्छ । तर, रोपाइँको प्रगति भने बढेको देखिँदैन । प्रदेशमा सतह र भूमिगत सिँचाइको सुविधा पुगेको ठाउँका किसानले भने बर्खे धानखेती लगाइसकेका छन् । सिंचाई नपुगेको ठाउँमा आकाशको पानीको भर पर्नुपर्छ । पानी निरन्तर परिरहेकाले मूल फुटेमा सबै ठाउँमा तत्काल रोपाइँ हुने देखिन्छ