भैरहवा, भाद्र २१ । तिलोत्तमा नगरपालिका वडा नं. ६, जुडामा अवस्थित लिटिल स्टार मा.वि. मा संस्कृति जोगाउन नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता मङ्गलबार सम्पन्न भएको छ । प्रतियोगितात्मक कार्यक्रममा अन्तर सदनात्मक सबजुनियर, जुनियर र सिनियर गरी ३ वटा समूहमा तीज गीत प्रतियोगिता भएको हो ।

सबजुनियरतर्फ पहेलो सदनका विद्यार्थी प्रथम, हरियो सदन द्वितीय भएका थिए भने जुनियर तर्फको पहेलो सदन प्रथम, हरियो सदन द्वितीय भएका छन् । त्यसै गरी सिनियर तर्फको हरियो सदन प्रथम र पहेलो सदन द्वितीय स्थान हासिल गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिलमाया थापाले हरितालिका तीजको पावन अवसरमा विद्यार्थीहरुले आफ्नो अन्तर्निहित प्रतिभालाई तीजे गीतका माध्यमबाट प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रमुख अतिथि संस्थापक प्राचार्य डी.बी थापाले संस्कृति बचाउन एवम् बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गर्नका लागि यो कार्यक्रम विगतका वर्षहरू जस्तै यो वर्ष पनि निरन्तरता दिएको आफ्नो भनाई राख्नुभएको थियो । विद्यालयकी सहप्राचार्य मायादेवी थापाले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यालयकी अध्यक्ष दिलमाया थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुबोध सुवेदी र युना थापाले गरेका थिए ।