ज्ञानेश्वर सहानी/ नवलपरासी
पुस ६ । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुलहोदा आफ्नो दादागिरीपूर्ण रवैयाका कारण चर्चामा छन् । उनलाई प्रत्येक वर्ष सरुवा गरिने भएपनि केही समयमै उनी राजनीतिक प्रभावको प्रयोग गर्दै पुनः पृथ्वीचन्द्र अस्पताल फर्कने गरेका छन्। कार्यलय प्रमुखकोरूपमा दशौं वर्ष बिताउँदासमेत अस्पतालको सेवामा कुनै सुधार नआएको देखिन्छ ।
डा. नुरुलहोदाको सरुवा २०८१ मंसिर २७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका, देउखुरीको निर्णयअनुसार कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको थियो । तर, महिनौं बितिसक्दा पनि उनले पृथ्वीचन्द्र अस्पताल छोड्न चाहेका छैनन् । उनको भित्री चलखेलका कारण अस्पतालको व्यवस्थापन कमजोर हुँदै गएको छ ।
डा. नुरुलहोदाले अस्पतालको जिम्मेवारी हस्तान्तरण नगर्दा सेवाको गुणस्तर प्रभावित भएको छ । मुख्यमन्त्री कार्यालयले १५ दिनभित्र रमाना लिने प्रावधान उल्लङ्घन गर्दै उनले आफूलाई सरुवा गर्ने निर्णयलाई अटेरी गरेका छन् । हालै मात्र उनले काज फिर्ता भएका एक चिकित्सकलाई विधान विपरीत पत्र नै नदिइ रमाना बनाएको घटनाले थप विवाद उत्पन्न गरेको छ ।

राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीका कारण अस्पतालका तीन वरिष्ठ चिकित्सकले राजीनामा दिएका छन् । हड्डी रोग विशेषज्ञ, नाक–कान–घाँटी विशेषज्ञ, र बालरोग विशेषज्ञले पदत्याग गरेपछि सम्बन्धित सेवाहरू ठप्प बनेका छन् । डा. सरोज काफ्लेको राजीनामा पछि नाक–कान–घाँटी विभागको सेवा बन्द भएको छ । डा. रोशन पौडेलको राजीनामाका कारण बालरोग सेवा प्रभावित भएको छ भने डा. सुदर्शन पाण्डेयको राजीनामा पछि हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवा पनि अवरुद्ध भएको छ ।
डाक्टरहरूको अभावले बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राहीहरू अन्य अस्पताल जान बाध्य भएका छन् । अस्पतालमा बिरामीको संख्या ३५०–४०० बाट घटेर १००–१५० मा झरेको छ । स्वास्थ्य बीमा योजना भएका बिरामीहरू अन्यत्र रेफरल लिने गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरू पनि असन्तुष्ट छन् र कतिपयले अस्पताल छोड्ने सोच बनाइसकेका छन् ।
एक डाक्टरले नाम नखुलाउने सर्तमा भने, “यहाँको राजनीतिक हस्तक्षेप असहनीय भइसकेको छ । डाक्टरलाई दिनुपर्ने आधारभूत सेवा र सुविधासमेत कटौती गरिएको छ । यस्तो वातावरणमा काम गर्न निकै कठिन छ ।”
त्यस्तै, एक कर्मचारीले भने, “वरिष्ठ डाक्टरहरूको सेवा सुविधामा कटौती गरिएको छ, जसका कारण उनीहरूले राजीनामा दिएका हुन् । नेपाल सरकारको विस्तारित अस्पताल सेवा कार्यक्रम अन्तर्गत काम गर्ने स्वास्थ्यकर्मीलाई दिनुपर्ने सेवा सुविधासमेत अवैधानिक रूपमा घटाइएको छ । यही कारण विषेशज्ञ चिकित्सकहरू एकपछि अर्को गरी अस्पताल छोड्दै गइरहेका छन् ।”
पृथ्वीचन्द्र अस्पतालको व्यवस्थापन समितिमा जसपा नेपालको नेतृत्व रहेको छ । तर, राजनीतिक किचलो र हस्तक्षेपले अस्पतालको सेवा गुणस्तर खस्कँदै गएको छ । अस्पताल सुधारको सट्टा राजनीतिक स्वार्थका लागि डाक्टरहरूको सरुवा गराउने र रोक्ने कार्यले सेवाग्राहीलाई थप मर्कामा पारिरहेको छ ।
अस्पताललाई पुनः गतिशील रूपमा सञ्चालन गर्न र सेवाको गुणस्तर सुधार गर्न तत्काल राजनीतिक र प्रशासनिक सुधारको खाँचो छ । अस्पताल व्यवस्थापनमा पारदर्शिता, डाक्टर र कर्मचारीलाई उचित सेवा सुविधा, र राजनीतिक हस्तक्षेप रोक्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
