भैरहवा, पुस १० । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा सुरक्षा समितिले लुम्बिनी प्रेस क्लब बी टिमलाई ५–२ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता गराएको हो।
जिल्ला सुरक्षा समितिले सेमिफाइनलमा सिद्धार्थनगर नगरपालिकाको टिमलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। यसअघि, क्वार्टरफाइनल खेलमा सुरक्षा समितिले उद्योग व्यापार संगठन, रुपन्देहीलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले हराएको थियो। उपविजेता बनेको लुम्बिनी प्रेस क्लब बी टिमले सेमिफाइनलमा सिद्धार्थ उद्योग वाणिज्य संघको टिमलाई ५–३ गोलअन्तरले हराएको थियो। बाइ पाएपछि फाइनलमा पुगेको प्रेस क्लब बी टिम उपाधिका लागि सुरक्षा समितिसँग प्रतिस्पर्धा गरे पनि सफलता प्राप्त गर्न सकेन।
सिद्धार्थनगर नगरपालिकाको टिमले लुम्बिनी प्रेस क्लब ए टिमलाई पेनाल्टी सुटआउटमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। तर, सेमिफाइनलमा सुरक्षा समितिसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो। प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गरेका थिए। उनले यस्ता खेलकुद कार्यक्रमहरूले एकता, आपसी भाइचारा र भातृत्वको विकासमा टेवा पुग्ने बताए। कार्यक्रममा क्लबका अध्यक्ष कमल रायमाझी, पूर्वअध्यक्ष नरेश केसी, प्रहरी नायव उपरीक्षक सुरज कार्की, खेल संयोजक भीम भण्डारीलगायतले पनि आफ्नो धारणा राखे।
प्रतियोगिताका विजेता र उपविजेता टिमलाई लुम्बिनी प्रेस क्लबको पुस १४ गते हुने विशेष समारोहमा पुरस्कृत गरिने महासचिव प्रकाश न्यौपानेले जानकारी दिए।