ज्ञानेश्वर साहनी/नवलपरासी
१८ पुष । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ६ मा रहेको ऐतिहासिक नन्दन ताल हाल अतिक्रमण र संरक्षण अभावका कारण अस्तित्व संकटमा परेको छ। स्थानीय तहले संरक्षणका लागि प्रयास गरिरहेको दाबी गरे पनि ठोस परिणाम नदेखिँदा यसको भविष्य अन्योलमा परेको छ।
नन्दन ताल, नेपालको तेस्रो ठूलो तालको रूपमा परिचित, साबिक हकुई र सनई गाविसको सिमानामा अवस्थित छ। करिब ८० बिघा क्षेत्रमा फैलिएको यो ताल नजिकैको सनई ताल (८२ बिघा) सहित १६२ बिघाको क्षेत्रफल ओगटेको छ। एक समय माछापालन र पर्यटन गतिविधिका लागि चर्चित यो ताल हाल स्थानीय अतिक्रमणका कारण खेतिपाती क्षेत्रमा परिणत हुँदैछ। विगतका वर्षहरूमा यो तालको संरक्षणका लागि विभिन्न प्रयास गरिए पनि परिणामस्वरूप स्थायित्व र प्रभावकारिता देखिएको छैन।
तालको संरक्षणका लागि हालै पाल्हीनन्दन गाउँपालिकाले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो। कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री ध्रुव बहादुर प्रधानले नन्दन तालको संरक्षणलाई जिल्लाको पहिचान र पर्यटकीय सम्भावनासँग जोडेर हेर्नुपर्ने धारणा राखे। स्थानीय सरकार र सरोकारवालाहरूको सहकार्य अपरिहार्य भएको उनको भनाइ थियो।
पालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले ताल संरक्षणका लागि स्थानीय र पालिका तहमा थप छलफल गर्ने र आवश्यक योजना अघि बढाउने बताए। उनले स्थानीय अतिक्रमणका कारण तालको अस्तित्व संकटमा परेको स्वीकार्दै संरक्षणका लागि ठोस कदम चाल्न तयार रहेको जनाए। पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले यस समस्यालाई अवसरका रूपमा लिनुपर्ने र कठोर निर्णय आवश्यक भएको बताए । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले ताल संरक्षणले पर्यटन विकासमा टेवा पु¥याउने भएकाले प्रदेश सरकारलाई पनि यसमा सहभागी गराउने वचन दिए। पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले सबै सरोकारवालाहरूको सामूहिक प्रयास बिना संरक्षण असम्भव रहेको बताए।
नन्दन ताल संरक्षणको सवालमा स्थानीय सरकारको भूमिका प्रमुख रूपमा औंल्याइएको छ। तर, विगतका वर्षहरूमा स्थानीय सरकारका योजना र कदम प्रभावकारी नभएको आलोचना भइरहेको छ। तालको संरक्षणमा आवश्यक बजेट विनियोजन र ठोस कार्यान्वयन अभावले समस्या झन् जटिल बन्दै गएको छ। स्थानीय अतिक्रमण रोक्न सशक्त कदम चाल्नुपर्ने बेला स्थानीय सरकार औपचारिक छलफलमै सीमित रहेको देखिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, नेपाली कांग्रेसका नेता विक्रम यादव, जसपा नेपालका धरेन्द्र यादव, राप्रपाका किरण प्रधान, रास्वपाका रवि पाण्डे, लोसपाका मुकुरजि गिरी, राधेश्याम सिंह सैथवार लगायत पत्रकार तथा सरोकारवालाहरूले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा पत्रकार बेचु गौड र रञ्जित शर्माले तालको वर्तमान अवस्था र आगामी दिनमा गर्न सकिने सम्भावित कार्यहरूबारे प्रस्तुतीकरण गरे भने कार्यक्रमको सञ्चालन पत्रकार विकास अधिकारीले गरे।
नन्दन तालको संरक्षण केवल स्थानीय सरकारको काममात्र नभएर समुदाय, राजनीतिक दल, र अन्य सरोकारवालाहरूको सामूहिक प्रयासबाट सम्भव छ। ऐतिहासिक, पर्यटकीय, र आर्थिक महत्त्व बोकेको यो तालको अस्तित्व बचाउन सबै पक्षले द्रुत र प्रभावकारी कदम चाल्नुपर्ने समय आएको छ। ताल संरक्षण मात्र नभई क्षेत्रीय पहिचान जोगाउन पनि यो अपरिहार्य छ।