बुटवल, फागुन ३ । बुटवलमा सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा सुवास रिजाल, हिरालाल धामी र ज्ञानु के.सी. तथा सचिवमा यज्ञलाल सुवेदी चयन भएका छन्। साथै, सहसचिवमा गीतारानी बलाल थापा, कोषाध्यक्षमा टेकराज लुसाल र अन्य सदस्यहरू चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष गाउँलेले साहित्यिक आन्दोलनलाई नयाँ उचाइ दिने प्रतिबद्धता व्यक्त गर्दै “प्रगतिशील स्रष्टा आकस्मिक उपचार अक्षयकोष” स्थापना गर्ने घोषणा गरे। साथै, नियमित दर्शन पाठशाला सञ्चालन, साहित्य महोत्सव आयोजना, तथा साहित्यिक भ्रमण कार्यक्रम अघि बढाउने योजना सार्वजनिक गरे।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञा नमुना शर्माले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको बताइन् भने केन्द्रीय सचिव दलबहादुर गुरुङले श्रमिक चेतनासँग जोडिएको प्रगतिशील साहित्यको भूमिकाबारे प्रकाश पारे।
यस अवसरमा ‘प्रलेस सम्मान’ प्रदान गरिएको थियो। साथै, प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको मुखपत्र ‘प्रलेस’ को विमोचन गरिएको छ, जसले साहित्यिक तथा सामाजिक परिवर्तनका मुद्दाहरू उजागर गर्ने विश्वास गरिएको छ। नयाँ नेतृत्वले साहित्यिक चेतना अभिवृद्धि तथा समाज रूपान्तरणका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
