बिशन गुरुङ्ग, भैरहवा ।
चैत्र १ । रङ र रमाइलोको पर्व होली यस वर्ष भैरहवा क्षेत्रमा विशेष उल्लास र सुरक्षाबीच सम्पन्न भएको छ। सामाजिक सद्भाव, उत्साह र सुरक्षा संयोजनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै भैरहवालीहरूले होलीलाई अनुशासनयुक्त शैलीमा मनाएका छन्।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरेको थियो। यस अन्तर्गत ८८० जना प्रहरी कर्मचारीहरू रूपन्देही क्षेत्रका विभिन्न स्थानहरूमा परिचालन गरिएको थियो।
प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार पर्वको अवसरमा हुने सम्भावित असामाजिक गतिविधिहरू रोक्न प्रहरी अत्यन्त संवेदनशील थियो। “हामीले जबरजस्ती रंग दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, अवाञ्छित भीड र विवादजन्य गतिविधिहरू नियन्त्रणमा राख्न विशेष रणनीति अपनायौं,” डीएसपी कार्कीले बताए।
प्रमुख चोक, बजार, सार्वजनिक स्थल र आवासीय क्षेत्रमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो। सवारी चेकजाँच, मोबाइल पेट्रोलिङ र भिड नियन्त्रणका लागि समेत सुरक्षाकर्मीहरू सक्रिय थिए।

सुरक्षाकर्मीहरूको प्रयाससँगै स्थानीय समुदायको सहयोगले पनि पर्वलाई अनुशासित बनाउन ठूलो भूमिका खेलेको छ। समुदायस्तरबाट पनि संयमित र सभ्य होली मनाउन जनचेतनामूलक अपिल गरिएको थियो, जसले सकारात्मक परिणाम दिएको देखिन्छ।
स्थानीयवासीहरू प्रहरीको सक्रियता र सहकार्यप्रति सन्तुष्ट देखिएका छन्। एक स्थानीय युवा नेता भन्छन्, “यो वर्षको होली रमाइलो मात्र होइन, सुरक्षित पनि बन्यो। प्रहरी र नागरिकको सहकार्यले राम्रो उदाहरण प्रस्तुत ग¥यो।”

होलीको भीड र आवागमनलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको थियो। प्रमुख सडक र चोकहरूमा ट्राफिक प्रहरी खटिएका थिए, जसले दुर्घटना र जामको सम्भावना न्यून बनाए।
यो वर्षको होलीले केवल रङ र रमाइलो मात्र होइन, सामाजिक अनुशासन र जिम्मेवारीपूर्ण व्यवहारको पनि सन्देश दिएको छ। अनुशासित पर्वको सफल उदाहरण बनेको भैरहवाको होलीले आगामी दिनहरूमा यस्तै सहकार्य र समझदारीको आवश्यकता औंल्याएको छ।

समाजमा शान्ति, अनुशासन र सद्भावको सन्देश बोकेको होलीलाई सुरक्षित बनाउने प्रयास सराहनीय रह्यो। प्रहरीको सतर्कता र जनसहभागिताले होलीलाई अझ रंगीन र सकारात्मक बनाएको देखियो। आगामी वर्षहरूमा पनि यस्तै सहयोग र सहकार्यले उत्सवहरू अझ सुरक्षित र समृद्ध बनाउने आशा गरिन्छ।
