बिशन गुरुङ्ग
भैरहवा, चैत ३ । चैतको हल्का घाम र शान्त वातावरणबीच भैरहवाको सडक शनिबार केही विशेष थियो। पहेंलो चिवरमा सजिएका सयौं अनुहार, अनुशासित चाल र गहिरो श्रद्धासँगै धम्मयात्रामा निस्किएका थिए लुम्बिनीका श्रामणेर (अल्पकालीन) भिक्षुहरू, बुद्ध धर्मका उपदेशहरूलाई जनमानसमा फैलाउने उद्देश्यले उनीहरूले भैरहवाबाट लुम्बिनीसम्मको पवित्र यात्रा गरेका हुन्।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा फागुन २० गते चिवर ग्रहण गरेर प्रवजित भएका पाँच सयजना अल्पकालीन भिक्षुहरू शनिबार बिहान भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालाबाट पैदल यात्रा सुरु गरी लुम्बिनीगेटसम्म पुगेका थिए।
धम्मकाय फाउण्डेशन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष र बौद्ध समाज नेपालको संयुक्त आयोजनामा भएको धम्मयात्रामा स्थानीय जनताको उल्लेखनीय सहभागिता देखियो। लुम्बिनी प्रवेशद्वारमा पुष्प अर्पण गर्दै यात्रुहरूको स्वागत गरियो। यात्राले धार्मिक मात्र होइन, सांस्कृतिक र सामाजिक ऊर्जा पनि संचार गर्यो।
धम्मयात्रा ऐतिहासिक स्मृतिसँग जोडिएको प्रयास पनि हो। आयोजकका अनुसार, सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि यही मार्ग हुँदै गृहनगर कपिलवस्तु फर्किएका थिए। यो यात्रा त्यसै ऐतिहासिक मार्गको पुनःअनुभूति थियो—जहाँ हरेक पाइला आत्मशुद्धिको प्रतीक बनेको थियो।
कार्यक्रमका प्रमुख वक्ता लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले बुद्धका उपदेशहरू मानव कल्याण, शान्ति र सद्भावको मूल आधार भएको बताए। “यस क्षेत्रबाटै बुद्ध धर्मको संघ सुरु भएको हो,” उनले भने, “धम्मयात्राले त्यो सन्देशलाई अझ सशक्त बनाएको छ।”
सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले बुद्धत्व प्राप्त गरेपछि सिद्धार्थनगर हुँदै कपिलवस्तु फर्किएको सन्दर्भ जोड्दै धम्मयात्राको ऐतिहासिक महत्त्वमा जोड दिए। स्थानीय सरकारले यस्ता यात्रालाई सधैं सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।
थाई भिक्षु, भिक्षुणी, लामा, उपासक–उपासिकासहितको व्यापक सहभागिता रहेको धम्मयात्रामा धम्काय फाउण्डेशनका सल्लाहकार डा. आदिसक, बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहा लगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक कमल थापाले गरेका थिए।
धम्मयात्रामा सहभागी भएका अल्पकालीन भिक्षुहरू पहेंलो चीवरमा सजिएर केवल भिक्षुजस्तै देखिएनन्, उनीहरूले आफ्नो जीवनशैली पनि बुद्ध धर्मअनुसार अनुशासित बनाएका थिए। बुद्ध धर्मका दसवटा नैतिक नियमलाई अपनाउँदै उनीहरूले आत्मशुद्धिको मार्ग रोजेका थिए। सामान्य अनुयायीहरूले जहाँ पञ्चशील वा अष्टशीलको अभ्यास गर्ने चलन छ, त्यहाँ यी श्रामणेरहरूले फागुन १६ गतेदेखि कपाल मुण्डन गरी आफूलाई पूर्णरूपमा बौद्ध अनुशासनमा समर्पित गरेका थिए। भिक्षु बन्ने मार्ग भने झन् गहिरो र अनुशासनमा आधारित छ—जहाँ २२७ वटा धार्मिक नियमहरूको पालना गर्नुपर्छ। धम्मको यो मार्ग केवल चिवर लगाएर सुरु हुँदैन, यो त सम्पूर्ण जीवनशैली परिवर्तन गर्ने संकल्प हो।
भैरहवाबाट लुम्बिनीसम्मको यो धम्मयात्रा केवल पैदलयात्रा होइन—यो शान्तिको गहिरो सन्देश बोकेको सांस्कृतिक अभियान हो। बौद्ध धर्मका मौलिक मूल्यहरूलाई पुनः स्मरण गराउँदै, विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यमा केन्द्रित यो यात्रा लुम्बिनीको गौरव र विश्वसमक्षको सन्देश बनेको छ।
