बिशन गुरुङ्ग
भैरहवा, चैत्र २२ । माछापुच्छ्रे क्लबको आयोजनामा भइरहेको माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत हिजो सम्पन्न खेलमा फर्साटिकर एफसी, फर्साटिकरले न्यू स्टार एफसी, देवकोटा चोकलाई ४—० को फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलको पहिलो हाफको ३९ औं मिनेटमा फर्साटिकर एफसीका जर्सी नं. ५ का विवेक थापाले पहिलो गोल गरेका थिए। दोस्रो हाफमा गणेश हमालले १७ औं र ३२ औं मिनेटमा थप दुई गोल गर्दै टिमलाई मजबुत स्थितिमा पुर्याए। त्यसैगरी, जर्सी नं. १४ का मनिष थापाले खेलको ३८ औं मिनेटमा अर्को गोल थप्दै न्यू स्टार एफसीलाई पराजित गरे। उत्कृष्ट प्रदर्शन गरेका गणेश हमाल म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा जम्मा १२ वटा क्लबहरू सहभागी छन्। आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ भने सर्वसाधारण दर्शकका लागि टिकट शुल्क रु. ५० निर्धारण गरिएको छ। सेमिफाइनल तथा फाइनल खेलका लागि टिकट शुल्क रु. १०० तोकिएको छ।
माछापुच्छ्रे क्लबले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३० औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि विशेष उपलब्धि मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गरिरहेको छ।
आजको खेल भैरव एफसी, नवलपरासी र न्यू श्रृजना एफसी, करौंजीया बीच प्रतिस्पर्धा हुने छ।