logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    देवदह एफसी सेमिफाइनलमाः माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१


    २४ चैत्र २०८१ , आइतबार

    देवदह एफसी सेमिफाइनलमाः माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१

    बिशन गुरुङ्ग


    भैरहवा, चैत्र २४। माछापुच्छ्रे क्लबको आयोजनामा जारी माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न खेलमा देवदह एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा देवदह एफसीले सम्पूर्ण एफसीलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

    खेल सुरु भएको दोस्रो मिनेटमै देवदह एफसीका जर्सी नम्बर ७ का मिलन आलेले पहिलो गोल गर्दै टिमलाई सुरुवातमै अग्रता दिलाए। त्यसको चार मिनेटपछि, जर्सी नम्बर १० का रोशन थापाले अर्को गोल थप्दै टिमको जित पक्का गरे।

    खेलभरि आक्रामक शैलीमा खेलेको देवदह एफसीको रक्षा पंक्ति समेत मजबुत देखिएको थियो। सम्पूर्ण एफसीले केही अवसरहरू पाए पनि तिनलाई गोलमा परिणत गर्न असफल रह्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका देवदह एफसीका कप्तान नर बहादुर थापा म्यान अफ द म्याच घोषित भए। प्रतियोगिता संयोजकका अनुसार, माछापुच्छ्रे कप अन्तर्गत भोलीको खेल फर्साटिकर एफसी र योङ्ग ब्वाइज एफसी बीच हुनेछ।

    प्रतियोगिता सञ्चालनस्थलमा दैनिक दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको छ। माछापुच्छ्रे क्लबले युवाहरूलाई खेलकुदमा संलग्न गराउने र फुटबलको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्दै आएको हो।

    आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। अन्य सर्वसाधारण दर्शकका लागि टिकट शुल्क रु. ५० तोकिएको छ भने सेमिफाइनल तथा फाइनल खेलको लागि टिकट शुल्क रु. १०० निर्धारण गरिएको छ।

    माछापुच्छ्रे क्लबले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३० औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि विशेष उपलब्धि मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गरिरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.