बिशन गुरुङ्ग
भैरहवा, चैत्र २६। माछापुच्छ्रे क्लबको आयोजनामा जारी माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत हिजो सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा फर्साटिकर एफसीले शानदार प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ।
खेलको सुरुवातमै फर्साटिकर एफसीले आक्रामक सुरुवात गरेको थियो। खेल सुरु भएको मात्र ५ औँ मिनेटमै जर्सी नम्बर १३ का भिम बहादुर गुरुङ्गले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि, खेलको २४ औँ मिनेटमा जर्सी नम्बर ९ का गणेश हमालले दोस्रो गोल थप्दै फर्साटिकरको पकड बलियो बनाए।
योङ्ग ब्वाइज एफसीले पनि कडा चुनौती दिएको थियो। पहिलो हाफकै अन्त्यतिर, जर्सी नम्बर ११ का सतिस थापा मगरले एक गोल फर्काउँदै अन्तर घटाए। तर, दोस्रो हाफमा फर्साटिकर एफसीले पुनः लय समात्यो। खेलको २२ औं र २४ औं मिनेटमा जर्सी नम्बर ९ का गणेश हमालले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरे। योङ्ग ब्वाइज एफसीका जर्सी नम्बर ९ का अभिषेक महतोले दोस्रो हाफको ३७ औं मिनेटमा एक गोल गरे पनि त्यो नतिजा फर्काउन पर्याप्त भएन।
४–२ को शानदार जितसँगै फर्साटिकर एफसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। टिमका लागि निर्णायक ह्याट्रिक गरेका गणेश हमाल म्यान अफ द म्याच घोषित भए।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज चैत्र २६ गते न्यू श्रृजना एफसी र देवदह ब्वाइज एफसीबीच हुनेछ। फाइनल खेल चैत्र २८ गते बिहीबारका दिन आयोजना हुनेछ।
आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। अन्य सर्वसाधारण दर्शकका लागि टिकट शुल्क रु. ५० तोकिएको छ भने सेमिफाइनल तथा फाइनल खेलको लागि टिकट शुल्क रु. १०० निर्धारण गरिएको छ।
माछापुच्छ्रे क्लबले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३० औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि विशेष उपलब्धि मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गरिरहेको छ।