ज्ञानेश्वर सहानी
नवलपरासी, वैशाख २९ । सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारलाई “झोले पत्रकार” भनेर टिप्पणी गरेपछि पत्रकारहरू बीच ठूलो विरोध देखा परेको छ। प्रमुख अर्यालले केहि दिन अघि फेसबुकमा एक व्यक्तिको स्टाटसमा टिप्पणी गर्दै पत्रकारितालाई लक्षित गर्दै असंवेदनशील शब्द प्रयोग गरेकी थिइन्।
नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली र सचिव अनिल यादवद्वारा जारी विज्ञप्तिमा नगर प्रमुखको टिप्पणीको कडा विरोध गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि प्रमुखको अभिव्यक्तिले पत्रकारिता र पत्रकारहरूको गरिमामा ठुलो धक्का पुर्याएको छ। महासंघले पत्रकारिता र प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै प्रमुखलाई गरिमामय शब्द प्रयोग गर्न आग्रह गरेको छ।
प्रेस युनियनका अध्यक्ष उमेश बिक र प्रेस सेन्टरका अध्यक्ष बिष्णु खनालले पनि प्रमुखको टिप्पणी सच्याउन र यस्तो अमार्दित शब्द प्रयोग नगर्नको लागि दबाब दिएका छन्। प्रेस चौतारी नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवालले प्रमुखसँग सार्वजनिक माफी माग्न र भविष्यमा यस्ता अभिव्यक्तिहरू नगर्ने लिखित प्रतिबद्धता जनाउन माग गरेका छन्।
पूर्व अध्यक्ष हरि शर्माले भने, “जनताको करबाट निर्वाचित जिम्मेवार व्यक्तिले पत्रकारप्रति यस्तो अवहेलना जनाउनु लोकतन्त्रको मर्ममाथि प्रहार हो,” भनेर प्रमुखको टिप्पणीलाई आपत्तिजनक र खेदजनक ठहर्याएका छन्।
