भैरहवा, जेठ १३ । शान्ति आर्ट क्लब र शान्ति इको क्लबको संयुक्त आयोजनामा ‘हाम्रो वातावरण, हाम्रो दायित्व’ भन्ने नारासहित तिलोत्तमा नगरपालिका अन्तर्गतको नगरस्तरीय चित्रकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
श्री शान्ति माविको सभा हलमा सम्पन्न प्रतियोगितामा तिलोत्तमा नगर क्षेत्रका १७ वटा निजी तथा सरकारी विद्यालयहरूबाट एक/एक जना गरी १७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्देश्य वातावरणप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूको लुकेको प्रतिभालाई उजागर गर्नु रहेको आयोजकले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुहुँदै भने, “मानिसमा सिप र कला भएमा उसले जीवनमा ठूला अवसरहरू सिर्जना गर्न सक्छ। शिक्षालाई सिप, श्रम र प्रविधिसँग जोडेर अगाडि बढेमा पछाडि पर्दैनौं।”
उहाँले तिलोत्तमा नगरपालिकाले ‘पढ्दै, कमाउँदै’ अभियानलाई अघि बढाउँदै १७ वटै वडामा युवालाई प्राविधिक शिक्षा र रोजगारीसँग जोड्ने कार्यमा जुटिरहेको पनि उल्लेख गर्नुभयो।
निर्णायकको भूमिका नेपाल व्यवसायीक कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलिप रसाइली र नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका सचिव बिशन गुरुङले निर्वाह गरेका थिए।
प्रतियोगितामा प्रथम स्थान सिद्धार्थ इङ्गलिस बोर्डिङ्ग स्कुल, तिलोत्तमा–४ डिङ्गरनगरकी सफलता पौडेलले हासिल गरिन्। द्वितीय स्थान न्यू इन्भायरमेन्ट मा. वि, तिलोत्तमा–५ मणिग्रामका रौनक खनालले प्राप्त गरे भने तृतीय स्थान नमुना इङ्गलिस बोर्डिङ्ग स्कुल, तिलोत्तमा–१० बेवरीकी अनिता सारुले प्राप्त गरिन्। त्यस्तै, सान्त्वना पुरस्कार पशुपति मावि, कोटिहवाकी प्रतिमा ओलीलाई प्रदान गरिएको थियो।

प्रतियोगितामा सहभागी सबैलाई ड्रइङ्ग बुक, वाटरकलर र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, प्रथम स्थान प्राप्त विद्यार्थीलाई नगद रु. दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय, तृतीयलाई रु. एक हजार र सान्त्वना पुरस्कार स्वरूप रु पाँच सय प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
इको क्लबकी संयोजक शारदा पाण्डेले कार्यक्रमबारे बताउँदै भनिन्, “विद्यार्थीहरू सामूहिक रूपमा बसेर कला सिर्जना गर्दा उनीहरूमा सिकाइ, बुझाइ र अभिव्यक्तिको राम्रो अभ्यास हुने भएकाले वातावरण विषयमा सचेतना जगाउन चित्रकला प्रतियोगिता आयोजना गरिएको हो।”
समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, सदस्य बुद्धि प्रसाद डुम्रे, विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, आर्ट क्लबकी संयोजक सीता गौतम, इको क्लबकी संयोजक शारदा पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शेखर पौडेलले गरेका थिए।
