logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भैरहवा सेजमा एक अर्ब ५० करोड लागतको अत्याधुनिक गार्मेन्ट उद्योग


    २२ जेष्ठ २०८२ , बिहिबार

    भैरहवा सेजमा एक अर्ब ५० करोड लागतको अत्याधुनिक गार्मेन्ट उद्योग

    लुम्बिनीखबर
    बुटवल, २२ जेठ । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा नेपालकै चर्चित व्यवसायिक घरना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो ।

    भैरहवा सेजभित्र १ विगाह १३ कठ्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमि पुजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको बताउनुभयो । ९ महिनाभित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । नेपाली बजारका साथै युरोपेली मुलुक तथा अमेरिकामा तयारी पोशाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उद्योग स्थापना भइ सञ्चालनमा आउँदा १ हजार २ सय बढीले राजगार प्राप्त गर्ने बताउँदै उहाँले त्यसमा ९८ प्रतिशत बढी स्थानीय तथा नेपाली श्रमिक रहने उल्लेख गर्नुभयो । उद्योग निर्माणको कामसँगै त्यहाँ आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम समेत एकसाथ सञ्चालन भइरहेको जानकारी गराउँदै उहाँले नेपालको अर्थतन्त्रमा सानै भएपनि योगदान गर्न सकिने अपेक्षा व्यक्त गर्नुभयो ।

    उहाँले भाटभटेनीका स्टोरहरुमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्याउने लक्ष्य राखिएको जानकारी गराउनुभयो । ‘हामीले भाटभटेनीमा आफ्नै उत्पादन विक्रीको लक्ष्य राखेका छौं,” उहाँले भन्नुभयो, ‘स्थानीय बजारमा पनि पठाउछौँ । उद्योगका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने योजना रहेको बताउँदै उहाँले भन्नभयो, ‘कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठूला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दैछौं ।’

    सेजभित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि रहेका छन् । सेजभित्र स्थापना हुने उद्योगहरुलाई सरकारले विशेष सुविधाहरु उपलब्ध गराएको बताउँदै अध्यक्ष गुरुङले लगानीको वातावरण बिस्तारै बन्दै गएको उल्लेख गर्नुभयो । उद्योगको शिलान्यासपछि उहाँले भन्नुभयो, ‘नेपालमा केही हुँदैन भन्ने भ्रम तोड्ना लागि पनि हामीले औद्योगिक क्षेत्रमा लगानी गरेका हौं । हामी जस्तै अरुसँग पनि क्षमता छ तर, आत्मविश्वासको कमी मात्रै हो । अब सबैले मिलेर देशमा केही गर्नुपर्छ ।’ नेपालको अर्थतन्त्रमा आफ्नोतर्फबाट सक्दो योगदान गर्ने बताउँदै उहाँले सबै निजी क्षेत्रले उत्पादनमा लगानी गर्न आह्वान समेत गर्नुभयो । भाटभटेनीका अहिले देशभर २८ वटा सुपरस्टोर सञ्चालनमा छन् । त्यसबाहेक होटल, हाइड्रोमा पनि लगानी रहेको छ ।

    भैरहवा सेजभित्र भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीहरुका लागि पनि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताउनुभयो । यहाँ हाल १३ वटा उद्योगमध्ये ११ वटा उद्योग सञ्चालनमा रहेका छन् भने २ वटा बन्द अवस्थामा रहेका छन् । आगामी ६ महिन भित्र थप उद्योगहरु पनि सञ्चालनको तयारीमा रहेको डुम्रेले जानकारी दिनुभयो । सेजभित्र ६८ वटा प्लट रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.