logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    १० वर्षदेखि निरन्तर सरसफाई सप्ताह: रेडियो परासीले मनायो वातावरण दिवस


    २२ जेष्ठ २०८२ , बिहिबार

    १० वर्षदेखि निरन्तर सरसफाई सप्ताह: रेडियो परासीले मनायो वातावरण दिवस

    परासी, जेठ २२।

    विश्व वातावरण दिवस २०२५ को अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले नगर सरसफाइ र वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै वातावरण संरक्षणप्रति जनचेतना फैलाएको छ। रेडियो परासीले यस अवसरमा सरसफाइ सप्ताहको औपचारिक उद्घाटन गर्दै वातावरण दिवस विशेष कार्यक्रम सम्पन्न गरेको हो।

    रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीका अनुसार रेडियोले विगत १० वर्षदेखि हरेक वर्ष “राष्ट्रिय सरसफाई सप्ताह” मनाउँदै आएको छ, जसमा विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा नगर सफाई, वृक्षारोपण, सचेतनामूलक कार्यक्रम र रेडियो बहसहरू सञ्चालन गरिँदै आएको छ।

    “यस वर्ष पनि जेठ २२ गतेदेखि २८ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम सञ्चालन हुनेछ, जसमा स्थानीय सहभागिता र वातावरणमैत्री गतिविधिलाई प्राथमिकता दिइनेछ,” अध्यक्ष रेश्मीले जानकारी दिनुभयो।

    कार्यक्रमको उद्घाटन समारोहमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बोल्दै रेडियो परासीजस्ता संस्थासँग सहकार्य गर्दै नगर सौन्दर्यकरणमा हातेमालो गर्न नगरपालिकाको प्रतिबद्धता जनाउनुभयो। उहाँले नगरवासीहरूको सक्रिय सहभागिताले परासी नगर क्षेत्र क्रमशः सफा, हरियाली र सुन्दर बन्दै गएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष थानप्रसाद गैर, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, स्टेशन म्यानेजर विकास अधिकारी लगायतले सरसफाइ सप्ताहको सफलताको शुभकामना व्यक्त गर्दै वातावरण सरंक्षणको अभियानमा सबैको साथ आवश्यक रहेकोमा जोड दिनुभयो।

    कार्यक्रममा रामग्राम नगरपालिका, खानेपानी तथा सरसफाइ कार्यालय, स्वास्थ्य कार्यालय नवलपरासी, द ल्याप्रोसी मिसन नेपाल, इन्द्रेणी सामाजिक विकास मञ्च, सुनवल सामुदायिक विकास केन्द्र, खानेपानी उपभोक्ता समूह लगायत दर्जनभन्दा बढी संघसंस्थाको सहकार्य रहेको थियो।

    रेडियो परासीको यो अभियानले सरसफाई र हरियालीको सन्देशमात्र हैन, सामुदायिक संलग्नताको उदाहरण पनि प्रस्तुत गरेको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.