परासी, जेठ २६ । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको आयोजनामा २६औं राष्ट्रिय सरसफाई सप्ताह अन्तर्गत आइतबार नेपाल–भारत सिमानाको महेशपुरस्थित दशगजामा ऐतिहासिक रुपमा वृहत् सरसफाई अभियान सञ्चालन गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको अगुवाइमा पुगेको सरसफाई टोलीले भारतका एसएसबी प्रहरी जवानसँग मिलेर सीमा क्षेत्रमा सरसफाई गरेको हो। यो पहिलोपटक दुबै देशका सुरक्षाकर्मी र नागरिकबीचको संयुक्त प्रयासमा दशगजाको सरसफाई भएको उदाहरण बनेको छ।
कार्यक्रमको प्रारम्भ सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र प्रमुख अतिथि कण्डेलको उपस्थितिमा सरसफाईसम्बन्धी सचेतना कार्यक्रमद्वारा गरिएको थियो।
अभियानमा तीनवटा ट्र्याक्टर टाली फोहर संकलन गरी निष्कासन गरिएको छ। यस क्रममा खानेपानी र सरसफाईको महत्वमा जोड दिँदै व्यापक जनचेतना अभियान पनि सञ्चालन गरिएको थियो।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ‘दिपक’, सामुदायिक रेडियोका सञ्चालक उपेन्द्र गुप्ता, स्टेशन म्यानेजर विकास अधिकारी लगायतको सहभागिता थियो।
त्यस्तै, पाल्हीनन्दन गाउँपालिका, बहुसरोकारवाला फोरम, महेशपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, असल छिमेकी नेपाल र सुरक्षा निकायहरूको सहकार्य विशेष उल्लेखनीय रहेको थियो।
पाल्हीनन्दन–१ का वडाध्यक्ष चुल्हाइप्रसाद यादवका अनुसार, अभियानले सीमावर्ती क्षेत्रका नागरिकहरूमा वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै आपसी सम्बन्ध पनि बलियो बनाएको छ।