२१औँ शताब्दीलाई विश्व मानव सभ्यताको उत्कर्षको युग भनिन्छ । विज्ञान, प्रविधि, संचार र अन्तरसम्बन्धले विश्वलाई ‘विश्व–ग्राम’ मा परिणत गरिसकेको अवस्था छ । तर, यति उन्नत युगमा पनि मानवीय चेतना हिंसा, आक्रोश र विनाशको भूमरीमा फसिरहेको यथार्थ छ । आज युक्रेन–रुस युद्ध, इजरायल–हमास द्वन्द्व, इरान–इजरायलबीचको तनाव लगायतका सशस्त्र संघर्षले विश्व शान्तिमा गम्भीर चुनौती प्रस्तुत गरेका छन् । हजारौँ निर्दोष नागरिकको ज्यान गएको छ, लाखौँ विस्थापित भएका छन्, र अरबौँको पूर्वाधार ध्वस्त भएको छ । यस्तो परिस्थितिमा शान्तिको अपेक्षा राख्ने सर्वसाधारण निराश छन् । यी द्वन्द्वहरू केवल राजनीतिक या भौगोलिक स्वार्थमा आधारित छैनन्, यसका जरा मानव चेतनाको गहिरो तहमा छन् – जहाँ असहिष्णुता, अहंकार, घृणा र प्रतिशोध गडेर बसेका छन् । मानिस चेतनशील प्राणी हो भनिन्छ, तर यही चेतना जब नकारात्मक सोच, लालच र शक्ति–लालसामा रूपान्तरित हुन्छ, तब त्यसले विनाश जन्माउँछ । यस्तो चुनौतीपूर्ण पृष्ठभूमिमा गौतम बुद्धको शिक्षा आज संसारका लागि नयाँ आशाको किरण बनेर देखा परेको छ । करुणा, अहिंसा, मध्यमार्ग र समता – यी चार आधारमा टिकेको बुद्ध दर्शनले आजको युद्ध–विक्षिप्त संसारलाई सम्बोधन गर्न सक्छ ।
बुद्धले भन्नुभएको वचन – “हिंसाले हिंसाको अन्त्य हुँदैन, अहिंसाले मात्र हिंसाको अन्त्य हुन्छ” – आजको विश्व राजनीतिका लागि नीति मार्ग बन्न सक्दछ । इतिहासमा कोलिय र शाक्यबीच रोहिणी नदिको पानीको विवादले उब्जिएको युद्धको सम्भावना बुद्धकै हस्तक्षेपले टरेको थियो । उहाँले युद्ध गरिनु अघि दुबै पक्षलाई सम्झाउँदै भन्नुभएको थियो, “पानीभन्दा मानिसको ज्यान बढी मूल्यवान् हो ।” आज पनि यही सोच अपनाउनु आवश्यक छ । युद्धको समाधान युद्ध होइन – संवाद, समझदारी, र सहिष्णुता हो । आज संसारले फेरि सोध्न थाल्नु पर्छ – के हामी हिंसाबाट शान्ति खोज्दैछौं ? कि, बुद्धको शान्तिपथलाई अँगाल्दै स्थायी समाधानतर्फ उन्मुख छौं ? नेपाल, जहाँ बुद्ध जन्मनुभएको हो, त्यसले विश्व शान्तिको दुतको रूपमा आफूलाई प्रस्तुत गर्ने अवसर र दायित्व दुबै बोकेको छ । लुम्बिनी, करुणाको उद्गमस्थल हो । सञ्चार माध्यमहरूले बुद्धको अमूल्य वाणीलाई विश्वभरि फैलाउने काम गर्न सक्नुपर्छ । अहिले मानव स्वभावमा रहेको रिस, राग, र द्वेष नै द्वन्द्वको मूल जरा बनेको छ । पहिलो र दोस्रो विश्वयुद्धले मानव सभ्यतामाथि गम्भीर चोट पु¥यायो । आजको युगमा त आणविक अस्त्रहरूको जमघट भएको अवस्था छ – जुन युद्ध भए, त्यसले पृथ्वी नै ध्वस्त पार्न सक्छ । यस्तो सम्भावनालाई टार्न शान्ति र अहिंसाको मार्ग अत्यावश्यक भएको छ । शान्तिले सधैँ सन्तुलन, खुसी, र विकास ल्याउँछ भने द्वन्द्वले घृणा, क्षति र बर्बादी बाहेक केही दिँदैन । त्यसैले महाशक्ति राष्ट्रहरूले स्वार्थभन्दा माथि उठेर शान्तिको मार्ग अपनाउनु पर्छ ।
बुद्धको शिक्षाले भनिन्छ – आत्मशुद्धि नै बाह्य परिवर्तनको पहिलो कदम हो । जब मानिसले आफैंलाई शुद्ध गर्छ, सकारात्मक सोच अपनाउँछ, तब त्यो चेतनाले समाज, राष्ट्र र अन्ततः संसार परिवर्तन गर्छ । विश्व आज नयाँ प्रविधिको युगमा प्रवेश गरिसकेको छ। अब प्रविधिको दुरुपयोग नभई सदुपयोग गर्नुपर्छ। बुद्ध शिक्षाको आधारमा सहिष्णु संवाद, न्याय र समानतामूलक दृष्टिकोणबाट भविष्य निर्माण गरिनुपर्छ । हामी सबैको कर्तव्य हो – आफैँबाट सुरुवात गरौं । आन्तरिक शुद्धता र सकारात्मक सोचको अभ्यास गरौं । हिंसा होइन, अहिंसाको बाटो समाऔं । किनकि अन्ततः “अहिंसाले मात्र हिंसाको अन्त्य गर्छ“ – यो वाक्य आजको मानव सभ्यताको समग्र भविष्यको बाटो हो । यसका लागि महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीले नेतृत्व गर्नु पर्दछ । नेपालले यो वातावरण तयार गर्न सक्यो भने संसार शान्ति र अहिंसाको मार्गमा हिड्ने छ ।