बिशन गुरूङ
भैरहवा, असार १४ । “खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ”,– यस्तै भावनाले प्रेरित हुँदै मायादेवी गाउँपालिका, रूपन्देहीका युवाहरूले यसपटक विशेष फुटबल प्रतियोगिता आयोजना गरेका छन्। मायादेवी युवा, रूपन्देहीको आयोजनामा हुन लागेको 6-A Side फुटबल प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेको छ।
भैरहवाको होटल यात्रीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी आयोजक समूहका कार्यक्रम संयोजक गणेश बहादुर शाहीले प्रतियोगिताको उद्देश्यबारे प्रष्ट पार्दै भने, “हामी खेलप्रेमी युवा बीच आपसी मेलमिलाप, स्वास्थ्य र सामाजिक एकता प्रवर्द्धन गर्न चाहन्छौं।” उनका अनुसार प्रतियोगिता २०७८ सालमा स्थापना भई २०७९ मा विधिवत दर्ता भएको क्लबको महत्वपूर्ण आयोजनामध्ये एक हो।
प्रतियोगिता असार १५ गते आइतबारदेखि २५ गतेसम्म मायादेवी गाउँपालिकास्थित समता स्कुलको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा २४ वटा टोलीहरू सहभागी हुनेछन्। हरेक टोलीमा ६ जना खेलाडी, ३ जना एक्स्ट्रा, १ जना कोच र १ जना टिम म्यानेजर रहनेछन्।
प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। खेललाई निष्पक्ष र मर्यादित बनाउन रेफ्रीको जिम्मेवारी रुपेन गुरुङ्ग र बबी छनत्यालले निर्वाह गर्नेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई प्रोत्साहनस्वरूप आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कार नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल, दोस्रो पुरस्कार नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल त्यसै गरी बेष्ट प्लेयर, म्यान अफ द म्याच, बेष्ट गोलकिपरलाई पनि छुट्टै पुरस्कार दिइने आयोजकले जनाएको छ।
मायादेवी युवा क्लबले विगतमा पनि विविध सामाजिक कार्यहरू गर्दै आएको छ। गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अगुवाइमा क्लबले मायादेवी पार्कमा करिब ५०० बोट वृक्षारोपण तथा शान्तिकुञ्ज र सुकुम्वासी टोलमा २५० वटा बिरुवा रोपेको उल्लेख गर्दै अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे।
प्रतियोगिता मायादेवी ब्रेस्ट केयर सेन्टरको मुख्य प्रायोजनमा सञ्चालन हुँदैछ। एक्पोर्ट एजुकेशन र होटल यात्री प्रा.लि. सह–प्रायोजक छन् भने अन्य प्रायोजकहरूमा आगन थकाली भान्सा घर, एशियन बुद्ध होटल, मझेरी भान्सा घर, फ्युचर लाइट स्कुल, किङ्स क्याफे, सेफ नेपाल, होटल सन स्टार लगायत छन् भने कार्यक्रम सञ्चालन मनाेज क्षेत्रीले गरेका थिए ।
स्थानीय स्तरमै आयोजना हुँदै गरेको यस्ता प्रतियोगिताहरूले ग्रामीण भेगका युवामा आत्मबल, नेतृत्व क्षमता र स्वास्थ्यप्रतिको चेतना बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। मायादेवी युवाको यो प्रयास खेलकुदमार्फत सामाजिक एकता र सशक्तिकरणको प्रेरणादायी कदमकारूपमा हेरिएको छ।