परासी, असार १६ । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले आइतबार एक कार्यक्रमका बीच ११औं वार्षिक बुलेटिन सार्वजनिक गरेको छ। उक्त बुलेटिनमा हालै सम्पन्न २६औं राष्ट्रिय सरसफाई सप्ताह–२०८२ को सन्दर्भमा सञ्चालन गरिएका विविध कार्यक्रमहरू समेटिएका छन्।
रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीका अनुसार, जेठ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमलाई समेट्दै खानेपानी र सरसफाईसम्बन्धी यो विशेष बुलेटिन प्रकाशित गरिएको हो।
सप्ताहभर सञ्चालन भएका कार्यक्रमहरूमा वृक्षारोपण, सिमानाका महेशपुर क्षेत्रमा बृहत सरसफाई अभियान, सुनवल नगरपालिका स्तरीय चित्रकला प्रतियोगिता, खानेपानी तथा सरसफाईसम्बन्धी अन्तरक्रिया, र शून्य फोहर अभियानका विषयमा जनचेतनामूलक गतिविधिहरू समावेश गरिएको थियो।
रेडियोका प्रवन्ध निर्देशक मेघराज गौतमले बताएअनुसार, चित्रकला प्रतियोगितामा सहभागी उत्कृष्ट ४ जना छात्रछात्रालाई कार्यक्रमकै अवसरमा पुरस्कृत गरिएको छ। त्यस्तै, ‘शून्य फोहर अभियान’ पनि सोही दिनबाट विधिवत् रुपमा सुरु गरिएको हो।
बुलेटिन विमोचन समारोहमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई सञ्जालका अध्यक्ष थानप्रसाद गैरे, नवलपरासी खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर प्रकाश न्यौपाने, स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाही, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली लगायत सरोकारवालाहरूको उपस्थिति थियो। उनीहरूले कार्यक्रममा बोल्दै पूर्ण सरसफाईमा आफ्नो प्रतिबद्धता जनाएका थिए। रेडियो परासीले २०७२ सालदेखि नै खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील रही विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत समुदायमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।