भैरहवा, साउन ३० । रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध) ले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। होटलले आईपीओ जारी गर्न आवश्यक प्रक्रिया सुरु गरिसकेको छ।
बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेको पर्यटकीय नगरी भैरहवा (सिद्धार्थनगर) मा विगत चार वर्षदेखि सेवा दिँदै आएको एसियन होटलले व्यवसाय विस्तारका लागि सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न ३५ लाख कित्ता साधारण शेयर निष्काशनमार्फत ३५ करोड रुपैयाँ जुटाउने योजना अघि सारेको हो।
आईपीओबाट संकलन हुने लगानीबाट होटलको सेवा सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्नुका साथै स्पोर्ट्स कम्प्लेक्स, हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गरिने योजना रहेको छ। शेयर निष्काशन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
एक औपचारिक समारोहमा होटल एसियन लिमिटेडका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा होटलका निर्देशक तिलकराम घिमिरे, पोमनारायण अधिकारी, सन्तोष चौधरी, सुशान्त त्रिपाठी लगायतको उपस्थिति रहेको थियो।
हाल होटलमा ६६ वटा सुविधासम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बैंक्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग सेवा उपलब्ध छन्।
शेयर निष्काशनपछि होटलले पोखरा, काठमाडौं र चितवन जस्ता प्रमुख शहरहरूमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। अध्यक्ष अधिकारीका अनुसार, शाखा विस्तारपछि स्थानीय रोजगारी सिर्जना हुनुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्नेछ।
होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन, हरित पर्यटनको अवधारणा र दीगो विकास लक्ष्यअनुसार व्यवसाय विस्तारलाई प्राथमिकता दिने रणनीति अपनाएको जनाएको छ।