राकेश कोहार । लुम्बिनीखबर
सिद्धार्थनगर, रूपन्देही – सिद्धार्थनगर सुनचाँदी व्यवसाय सङ्घ, रूपन्देहीले सिद्धार्थनगर ४, दोगहरास्थित भगवान विश्वकर्मा प्राङ्गणमा एक भव्य वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ।
वातावरण संरक्षण र सामुदायिक एकताको सन्देश बोकेर आयोजित उक्त कार्यक्रममा ५० भन्दा बढी बिरुवाहरू रोपिएका छन्। कार्यक्रममा ६० भन्दा बढी व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष राजन कुमार विश्वकर्माले गरेका थिए भने प्रमुख अतिथिको रूपमा प्रेमकुमार सेन्चुरी उपस्थित थिए।
कार्यक्रममा विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए। प्रदेशका निवर्तमान अध्यक्ष विक्रम बहादुर सुनार, प्रदेश सदस्य प्रकाशमणि रामदाम, रूपन्देही जिल्लाबाट गोपाल रामदाम, सङ्घका सल्लाहकार श्याम कुमार विश्वकर्मा र संस्थाका निवर्तमान अध्यक्ष दीपक कौशलले वृक्षरोपणको महत्त्व, वातावरण संरक्षण र सामुदायिक सहभागिताको विषयमा आ-आफ्नो विचार व्यक्त गरेका थिए। उनीहरूले वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न र भावी पुस्ताका लागि स्वच्छ हावा तथा हरियाली प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
यो कार्यक्रमले स्थानीय समुदायमा वातावरणप्रति जागरूकता फैलाउनुका साथै सङ्घको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ। सिद्धार्थनगर सुनचाँदी व्यवसाय सङ्घले भविष्यमा पनि यस्ता सामाजिक र पर्यावरणीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन सङ्घका महासचिव गणेश बि. क. ले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष प्रेम रामदामले व्यक्त गरेका थिए।