लुम्बिनीखबर
सिद्धार्थनगर, भाद्र । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा नेपालमा कृषि रूपान्तरण विषयक भैरहवामा आइतवार (हिजो) एक भव्य कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंले नेपालमा कृषि क्षेत्रको सम्भावना र रूपान्तरणका लागि कम्पनीको रणनीति तथा योजनाहरूबारे प्रशिक्षण प्रदान गर्नुभयो ।

कार्यक्रमका मुख्य वक्ता तथा कम्पनीका कार्यकारी अध्यक्ष हुमागाईंले नेपालमा कृषि क्षेत्रका अवसर र चुनौतीहरूबारे गहन प्रस्तुति दिनुभयो । हुमागाईंले नेपालमा कृषिको अपार सम्भावना रहेको र यसलाई उपयोग गर्न युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । विदेश पलायन हुने युवाहरूलाई स्वदेशमै कृषिमा अवसर सिर्जना गरेर रोक्न सकिन्छ । हाम्रो कम्पनीले आधुनिक प्रविधि, बजार पहुँच र किसान सशक्तिकरणका माध्यमबाट यो लक्ष्य हासिल गर्न उहाँले भन्नुभयो ।
हुमागाईंले कम्पनीको हालसम्मका उपलब्धिहरूबारे जानकारी दिँदै भन्नुभयो, कम्पोस्ट मल र डल्ले च्याउ उत्पादन परियोजना अन्तिम चरणमा रहेको र कम्पनीले सुपरमार्ट नेपाल डट कम नामक भर्चुअल कृषि बजार प्लेटफर्म सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रम सकारात्मक ऊर्जा र सहभागीहरूको उत्साहपूर्ण सहभागीतामा सम्पन्न भएको हो । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउने आफ्नो लक्ष्यप्रति दृढ रहेको जनाएको छ ।
कार्यक्रमका संयोजक धीरेन्द्र पन्तले स्वागत मन्तव्यका क्रममा नेपालको कृषिप्रधान अर्थतन्त्रलाई थप सशक्त र आत्मनिर्भर बनाउन राष्ट्रिय कृषि कम्पनीले लिएको पहलकदमीबारे प्रकाश पार्नुभयो । उहाँले कृषिलाई व्यवसायिक र सम्मानित पेशाको रूपमा स्थापित गर्ने लक्ष्यलाई जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन कम्पनीका सचिव विष्णु बरालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका करिब १०० जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा कृषक, व्यवसायी, युवा उद्यमी र स्थानीय नेतृत्वहरूको सहभागीतामा सम्पन्न भएको हो ।