logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    “मन्थन कार्यक्रम” मार्फत स्व. गोरे बहादुर खपाङ्गी मगरलाई भैरहवामा स्मरण


    १२ भाद्र २०८२ , बिहिबार

    “मन्थन कार्यक्रम” मार्फत स्व. गोरे बहादुर खपाङ्गी मगरलाई भैरहवामा स्मरण

    बिशन गुरुङ


    भैरहवा, भाद्र १२ । स्व. गोरे बहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसको अवसरमा भैरहवामा बुधबार “मन्थन कार्यक्रम” आयोजना गरी उहाँको जीवन, विचार र योगदानलाई स्मरण गरिएको छ।

    भैरहवास्थित होटल पिस नाइट, बीपी पथमा बुधबार सम्पन्न सो कार्यक्रममा स्व. खपाङ्गी मगरले प्रतिपादन गरेको बहुजातीय लोकतान्त्रिक समाजवाद, उत्पीडित जाति–समुदायका अधिकारका लागि पुर्‍याएको योगदान तथा उहाँको राजनीतिक यात्राबारे विस्तृतरूपमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागी वक्ता तथा सरोकारवालाहरुले खपाङ्गी मगरलाई केवल एक राजनीतिज्ञ मात्र नभई उत्पीडित समुदायको आवाजलाई संस्थागत रूपमा स्थापित गर्ने दूरदर्शी चिन्तकका रूपमा स्मरण गरेका थिए।

    कार्यक्रम गोरे बहादुर फाउन्डेसनको आयोजनामा सम्पन्न भएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य लोकनेश ढेङ्गा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सुर्यवंशीले स्व. खपाङ्गी मगरको तस्वीरमा दीप प्रज्वलन गर्दै औपचारिक श्रद्धाञ्जली अर्पण गरेका थिए।

    मन्थन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सुर्यवंशी, साहित्यकार बनमाली निराकर र साहित्यकार रुद्र ज्ञवली लगायतका वक्ताहरुले खपाङ्गी मगरको राजनीतिक दर्शन, बहुजातीय सहअस्तित्वमा दिनुभएको योगदान र समाजपरिवर्तनमा देखाउनुभएको सक्रियता विषयक आफ्ना धारणा राखेका थिए।

    गोरे बहादुर खपाङ्गी मगर नेपालको राजनीतिमा स्वतन्त्र चिन्तन र नयाँ विचारका प्रतीकका रूपमा परिचित छन्। उनले प्रतिपादन गरेको बहुजातीय लोकतान्त्रिक समाजवाद देशको जातीय, सांस्कृतिक र सामाजिक विविधतालाई स्वीकार्दै समानतामूलक समाज निर्माणको पक्षधर थियो। खपाङ्गी मगर लामो समयसम्म वञ्चित, उत्पीडित र सीमान्तकृत वर्गको हकहितका लागि संघर्षरत रहे।

    राजनीतिक जीवनमा उनले मन्त्रीसम्मको पद बहन गरेका थिए भने समाज परिवर्तनका लागि निरन्तर जनस्तरमा सक्रिय रहँदै आएका थिए। विशेषतः वञ्चित वर्गको शिक्षा, सामाजिक न्याय र राजनीतिक सहभागितामा जोड दिँदै उनले नेपालमा वैकल्पिक राजनीतिक चेतना जगाउने काम गरेका थिए।

    भैरहवामा सम्पन्न मन्थन कार्यक्रमका वक्ताहरुले खपाङ्गी मगरको विचार र योगदानलाई आजको नेपाली समाजमा अझ प्रासंगिक रहेको उल्लेख गरे। उनीहरुले खपाङ्गी मगरले प्रतिपादन गरेका मार्गदर्शक सिद्धान्तलाई आत्मसात गर्दै नेपाली समाजलाई समावेशी, समानतामूलक र न्यायपूर्ण बनाउन सबैलाई आह्वान गरे।

    कार्यक्रमको सञ्चालन गोरे बहादुर फाउन्डेसनका सदस्य राम अस्लामी मगरले गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, साहित्यकार, पत्रकार, समाजसेवी तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.