लुम्बिनीखबर
सिद्धार्थनगर, भदौ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ। मेयर मुसलमान लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए र उनलाई उपचारका लागि शनिवार ( आज) भैरहवास्थित अस्पताल लैजाने क्रममा भैरहवा–लुम्बिनी सडक अन्तर्गत महजिदिया नजिक मृत्यु भएको हो ।
सजरुद्दिन मुसलमान २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनले जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई पराजित गरेर मेयर पदमा विजय हासिल गरेका थिए।
मेयर मुसलमानको निधनले लुम्बिनी सांस्कृतिक नगरपालिका र समग्र रुपन्देही जिल्लामा शोकको लहर छाएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूले उनको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
उनको शवलाई लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड -३ पडरियास्थित निवासमा राखिएको छ। आजै अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।